काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र महानायक राजेश हमालले ‘सिनेमा संवाद’ गर्नुभएको छ । सातौँ नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को दोस्रो दिन शुक्रबार ‘सिनेमा संवाद शीर्षक’ मा उहाँहरूले संवाद गर्नुभएको हो । सो अवसरमा जीवन र जीवनमा आवश्यक पर्ने चिजहरूको सुन्दर प्रस्तुति नै कला भएको अध्यक्ष ओलीले बताउनुभयो । पशुपन्छीभन्दा मानव जीवन भिन्न रहेको र भिन्न तरिकाले जीवन बाँच्नका लागि कला चाहिने ओलीको धारणा थियो । अभिनेता हमालसँग कुरा गर्दै ओलीले जीवन नै कला भएको बताउनुभयो । ‘वास्तवमा जीवन भनेकै कला र आर्टसँग सम्बन्धित छ । मानव सभ्यताले प्रगति ग¥यो भन्नु एक किसिमले कला सिक्यो भन्नु हो,’ उहाँले भन्नुभयो, ‘जीवनको विकासमा सिक्ने कलादेखि बाँच्नका लागि गर्ने सबै क्रियाकलाप कला हो ।’ मानिसजस्तो चेतनशील प्राणीका लागि कलाको एकदमै महत्व रहेको उहाँको धारणा थियो ।
‘हरेक जीवनसँग कलाको महत्व हुन्छ । जीवनसँग, जैविक प्रवृत्ति बाँच्ने प्रवृत्ति, इच्छाबाट कला सुरु हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘जीवनको इच्छाअनुसार सुरु हुन्छ । त्यसलाई जीवनका सुखहरू, मनोरञ्जन र आनन्दसँग विकास गर्ने कुरामा सम्बन्धित हुन्छ ।’ उहाँले कुनै पनि वस्तुलाई सुन्दर ढंगले प्रस्तुत गर्नु पनि एउटा कला भएको बताउनुभयो । ‘मानिस सचेत प्राणी भएकाले कला र साहित्यको विकास गर्यो । यो एकअर्कोसँग जोडिएर विभिन्न विधामा आयो,’ ओलीले भन्नुभयो, ‘यो मानव जीवनका विभिन्न पक्षहरूमा सुन्दर प्रस्तुति थियो ।’
कार्यक्रममा अभिनेता हमालले यहाँको जीवनमा कलाले कसरी प्रभाव पारेको छ ? भन्ने प्रश्नसमेत गर्नुभएको थियो । जवाफमा ओलीले ‘जो मानिस सक्रिय छ भन्छौ नि उसको अर्को पाटो पनि छ । त्यो अचेत भएर निस्क्रिय पनि हुन्छ । मानव जीवनका विभिन्न पक्षहरू छन् । अवस्था परिस्थिति हुन्छ । विभिन्न मौसम हुन्छ । मानिसले त्यो कसरी झेल्ने भन्ने कला पनि विकास गर्दै लगेको छ । यो गतिशील संसार छ । नहोस् भनेको कुरो हुन्छ यसलाई बुझ्नुपर्छ,’ भन्नुभयो ।
‘जीवन मृत्यु र कठिनाइसँग हिँडिरहेको हुन्छ । आराम र व्यायाम, जागरण र निन्द्रा, चेतना र अचेतनासंँगै हिँडेको हुन्छ । यसै गरेर जीवनका विभिन्न पक्षहरूमध्ये कला एउटा महत्वपूर्ण पक्ष हो,’ ओलीले भन्नुभयो, ‘फेरि आधारभूत कुरो के हो भने पहिले जीवन चाहियो नि, बाँच्न प¥यो ।’ कला नबुझेका जीवहरूले पनि जीवन बाँचेको उल्लेख गर्दै ओलीले मानव जीवन फरक भएको र जीवन अर्थपूर्ण र खुसीयाली ढंगले बाँच्नुचाहिँ बचाइ भएको धारणा राख्नुभयो ।
‘मानिस अन्य जीवनभन्दा बाँच्ने कुरोमा पृथक् राख्छ । कलाका विभिन्न पक्ष साहित्य, संस्कृति, नृत्य, वाद्यवादन, ताल, लय संगीत आदिको अर्थ हुन्छ,’ ओलीले भन्नुभयो, ‘बाँच्नमात्र गाईभैंसी बाँचे जसरी मानिस बाँच्न सक्छ होला । तर, मानव जीवन बाँच्नका लागि कला चाहिन्छ ।’
पूर्वप्रधानमन्त्री ओलीले विश्वविद्यालयहरू खालि हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि बाहिर जाने प्रवृत्ति रहेको बताउनुभयो । उहाँले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूमा पनि ठूलो संख्यामा पढेर फर्किनेभन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताउनुभयो । उहाँले युवा पुस्तालाई कुनै पनि देश पैसा भएर धनी हुने नभई विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्ने कुरा बुझाउन जरुरी रहेको धारणा राख्नुभयोे । युवाहरूमा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले सरकारका तर्फबाट पनि उद्यमशीलताको प्रवृत्ति जगाउने, उद्यमशीलताको विकास हुने, उद्यमशीलतामार्फत् रोजगारीका अवसर सिर्जना गर्ने काममा लाग्नुपर्ने बताउनुभयो ।
नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण बिहीबार काठमाडौंमा प्रारम्भ भएको हो । सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको उद्घाटन भएको थियोे । महोत्सवमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन हुँदैछन् । आनी छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसन इम्पोसिबलसँगै सुरुवात भएको महोत्सवको पहिलो दिन अर्को नेपाली फिचर फिल्म डेसान पनि देखाइएको थियो । चैत ५ गतेसम्म चल्ने महोत्सवका फिल्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा हेर्न सकिन्छ भने सिनेमासम्बन्धी बहस भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements