कुनै समयमा पारित प्रचण्डपथ माओवादी पार्टीले संस्थागत रूपमा परित्याग गरेको भए पनि निजात्मक रूपान्तरण विस्तारित हुँदै गएको एकपछि अर्को उदाहरण सार्वजनिक भइरहेका छन् । सबैभन्दा ठूलो क्रान्तिकारी रूपान्तरण सुन तस्करी, उत्तरतिरका व्यापारीहरूसँगको साँठगाँठ, सांसद खरिदबिक्री गर्न विदेशीसँग रुपैयाँ माग, महिला यौन हिंसा, गिट्टीबालुवा दोहन, वित्तीय कारोबारमा अपचलन अनेक विधामा प्रचण्डपथका अनुयायीहरूको अद्भूत रूपान्तरित योगदान देखिन लागेको छ । भुटानी शरणार्थी प्रकरणमा समेत माओवादीका सशक्त नेता र तम्बु परिवर्तन गरी एमालेमा समाहितहरू नै संलग्न देखिनु कुनै अनौठो होइन । तर, यतिखेर नेपाली राजनीतिमा प्रचण्डपथ परिवारवादमा रूपान्तरित भएको टिप्पणी व्याप्त छ ।
राजनीतिमा परिवारवाद हावी भएपछि राजनीतिक परिदृश्यहरू केही वर्षका लागि प्रज्ज्वलित बनेका धेरै उदाहरण छन् । परिवार व्यूहको उत्कर्षमा पुगेपछि बिस्तारै स्खलन सुरु हुन्छ, त्यसको अवसान हुन्छ । त्यो त्यस्तो स्खलन र अवसान ज्यादै कारुणिक बन्ने संभावना रहन्छ । राजनीतिक इतिहासमा वंश र परिवारको परम्परालाई वर्तमानले परिभाषित गर्दा सामन्ती, निरंकुशता भन्ने प्रचलन छ । त्यस्तो निरंकुशता राजाहरुको परिवारबाट स्थापित थियो । इतिहासमा देखिएका दृष्टान्तहरूका आधारमा यसो भनिएको हो । यो कोरा कल्पना होइन । वर्तमान समयमा एकताका क्रान्तिनायक भनेर चिनिएका पुष्पकमल दाहालको परिवारको संलग्नता यही प्रकारको हुन लागेको छ । हो, राष्ट्रमा कुनै बौद्धिक, वैचारिक, समाजले मानेचिनेको, खानदानी पहिचान कायम गर्न सफल परिवारहरू पनि हुन्छन् र तिनले राष्ट्रिय राजनीतिको मियो बनेर कुनै न कुनै प्रकारले देशको राजनीतिलाई प्रभावित बनाइरहन सफल हुन्छन् ।
पाकिस्तानको भुट्टो परिवार, बंगलादेशको शेख मुजिबर रहमान परिवार, बर्माको सुकी परिवार, भारतको नेहरु परिवार, श्रीलंकाको राजापाक्षे परिवार आदि यसरी पारिवारिक राजनीतिबाट राज्यमा पहुँच विस्तार गर्न सफल राजनीतिक परिवार हुन् । भारतको राजनीतिमा अहिले पनि मुलायम सिंह र लालु परिवारको प्रभाव यथावत् छ । कतिपय परिवारको सकारात्मक छवि कायम भएको हुन्छ भने कतिले चाहिँ नायकीय छवि स्थापना गर्न सकेका हुँदैनन् । पश्चिमा देशहरूमा राजनीतिमा पारिवारिक प्रभाव कमै मात्र पर्ने गरेको छ । यस्तो प्रभाव एशियाली देशहरूमै बढी छ । उत्तर कोरियाको जहानिया निरंकुशताको सन्दर्भ भने फरक हो । त्यहाँ कम्युनिष्ट सत्ता छ, तीन पुस्तादेखि नागरिकलाई कैदमा राखेर किम परिवारले शासन गरिरहेको छ । एकप्रकारले कुनै जमानाको फ्रान्सेली शासक लुईको कथन ‘म नै राज्य हूँ’को मान्यता उत्तर कोरियामा अहिले स्थापित छ ।
नेपाली राजनीतिमा करिब एक शताब्दीभन्दा अघिदेखि लोकतान्त्रिक आन्दोलनमा निरन्तर प्रभाव पार्न सकेको परिवार भनेको कोइराला परिवारमात्र हो । कृष्णप्रसाद कोइरालादेखि उहाँका दुई छोराको प्रधानमन्त्रित्व अनि पञ्चायतको समयमा बीपी कोइरालाले स्थापित गरेका अनेकौं सिद्धान्त, प्रस्तुत गरेका राजनीतिक विचार र चिन्तनलगायत उहाँले सिर्जना गरेका साहित्य आदिका कारण जहिल्यै उक्त परिवारप्रति नेपालीहरूको सान्त्वना, सहानुभूति र सम्मानको दृष्टिकोण रहृयो । तर, कोइराला परिवारप्रतिको यस्तो सम्मान २०४६ सालको प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली राजनीतिमा स्थापित बन्न पुग्नुभएका कृष्णप्रसादका अर्का छोरा नेता गिरिजाप्रसाद कोइरालाका कारण ध्रुवीकरण हुन पुग्यो । एकातिर उहाँका समर्थकहरूको भीड देखाप¥यो भने अर्कातिर उहाँका विरोधीहरू केन्द्रीकृत बन्न पुगे । यसले गर्दा कोइराला परिवारप्रतिको एक प्रकारको सम्मान केही खस्किएकै हो । तैपनि त्यो प्रभाव हालसम्म पनि कायमै छ भन्दा फरक पर्दैन । डा.शेखर कोइराला, डा.शशांक कोइराला, सुजाता कोइरालाहरू नेपालको राजनीतिको प्रमुख भूमिकामा हुँदै हुनुहुन्छ ।
पारिवारिक राजनीतिको पृष्टभूमिमा हेर्ने हो मनमोहन अधिकारी, राधाकृष्ण मैनाली बन्धुहरू, अहिले त श्रीमान्-श्रीमती, छोराछोरी, बुहारी र नातेदारहरूकै गोल बनेको देखिन्छ राजनीतिमा । त्यसमा पनि सामन्ती संस्कारविरुद्ध चर्का नारा लगाउनेहरूकै नेतृत्वमा परिवारवृत्त गोलबद्ध भएको देखिन्छ । वर्तमान प्रधानमन्त्री माओवादीका अध्यक्ष पुष्पकमल दाहालका सन्दर्भमा हेर्ने हो भने राजनीतिक परिवारको विरासतबाट उदाउनुभएको नेता होइन । भूमिगत राजनीतिमा सक्रिय, राज्यविरुद्ध विप्लव गरेर उहाँ राजनीतिमा स्थापित हुनुभएको छ । राज्यले माओवादी सशस्त्र विद्रोहलाई दबाउन सकेको भए उहाँहरूलाई कठोरभन्दा कठोर सजाय हुन सक्थ्यो । सम्झौताबाट सत्तामा पुग्नुभएका कारण उहाँहरू नै बिस्तारै सत्तामा हालिमुहाली गर्न पुग्नुभएको छ । उहाँहरूले सञ्चालन गरेको सशस्त्र विद्रोहका बेला अभिलेख भएकाहरूका आधारमा १७ हजार बढी मानिसको मृत्यु भयो । अभिलेख नभएकाहरू यसमा थप हुन सक्छन् र अन्ध–अपांग बन्नपुगेकाहरू भने असंख्य होलान् ।
शान्ति प्रक्रियामा आएदेखियता करिक अठार वर्षदेखि राज्यको नेतृत्वदायी र महत्वपूर्ण प्रभाव पार्नसक्ने ठाउँमा उहाँ निरन्तर नै रहिरहनु भएको छ । उहाँ फड्को मार्न निकै सिपालु हुनुहुन्छ । सशस्त्र हिंसाकालमा उहाँले राजा, राजावदीहरू, कांग्रेस, एमाले, भारत, पश्चिमा सबैलाई उपयोग गर्नुभयो । अहिले एमाले र कांग्रेसलाई खेलाएर बस्नु भएको छ । उहाँको यो अविश्वसनीय रूप विचित्रको भए पनि सामथ्र्यका रूपमा समेत भाष्य गर्न सकिने खालको छ ।
उहाँले यही फड्के यात्रामा नेपाली राजनीतिमा अर्को एउटा पारिवारिक विरासत स्थापना गर्न खोज्नुभएको जस्तो देखिएको छ । भलै यसले उहाँ र उहाँको परिवारप्रति जनसम्मान स्थापित हुनसक्छ वा सक्दैन अहिले नै भन्नु हतारो हुनेछ । उहाँकी बुहारी मन्त्री हुनुभयो भने छोरी भरतपुर नगरपालिकाको प्रमुख हुनुहुन्छ । अर्की छोरीलाई आफ्नो स्वकीय सचिव बनाएर आपूm सँगसँगै विभिन्न देशहरूको भ्रमणमा लैजाने गर्नुभएको छ । उहाँहरूको जीवनस्तर कुनै धनाड्य व्यापारिक घरानाका सदस्यहरूको जस्तो छ । आलोचनाको जति ठूलो चाङ खडा भए पनि आफ्ना ज्वाइँ तथा अन्य नातागोताहरूलाई विभिन्न उच्च पद तथा आर्थिक उन्नति हुने ठाउँहरूमा स्थापित गरिसक्नुभएको छ ।
पार्टीबाट समेत विरोधका स्वरहरू गुन्जिने गरेकै छन् तर उहाँले यस्ता विरोधहरूको वास्ता गर्नुभएको छैन । राष्ट्रियसभाको अध्यक्षमा पनि अत्यन्त नजिकका भाइलाई उम्मेदवार बनाएर विजयी बनाउनुभएको छ । यस पहिले महेश दाहाललाई राजदूत बनाउनु भएको थियो । महेश र नारायण भने प्रचण्डका सहोदर दाजुभाइ भने हुनुहुन्न । तर, पुरानो कास्कीको नाउडाँडा जन्मस्थान एउटै र अहिले कर्म थलो चितवन एउटै स्थान भएको हुनाले झट्ट हेर्दा पारिवारिक सदस्यकै रूपमा लिने गरिन्छ । जुन रूपमा भए पनि राजाको पारिवारिक विरासतको विरोध गरेर हजारौंको बलिदानीबाट आएका नेताहरूको पनि सोही शैली स्थापित हुनु दुर्भाग्य हो । हजारौं छन् रगत बगाएका कार्यकर्ताहरू, योग्य र पढालिखा पनि छन् तर नेताकै निकट र परिवारका सदस्यहरूले मात्र फाइदा लिने परिपाटी नेपाली राजनीतिको दुःखद् पक्ष हुँदैछ । यद्यपि नारायण दाहालले विगतमा प्रचण्डसँगै सहकार्य गर्नुभएको, योगदान दिनुभएको र आफ्नै परिचय बनाउनु भएको हुनाले राष्ट्रियसभाको अध्यक्षमा माओवादीबाट प्रस्तावित हुनु र चयन हुनुलाई अन्यथा भन्नु पर्दैन । यत्ति हो नवनिर्वाचत अध्यक्ष दाहालले दलगत व्यूहको बन्धनमुक्त भएर काम गर्नुहुन्छ वा हुन्न त्यो मात्रै हेर्नु पर्नेछ । अहिले भने दाहाललाई राष्ट्रियसभाको गरिमामय अध्यक्ष हुनुभएकोमा हाम्रो तर्फबाट बधाई तथा कार्यकाल सफल रहोस् शुभकामना छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts