काठमाडौं । झपट पुरस्कार व्यवस्थापन समितिले तीन स्रष्टालाई २०८० सालको ‘झपट पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । झपट पुरस्कार गुठीका अध्यक्ष अरुण राणाको अध्यक्षतामा बसेको गुठीको बैठकले सो निर्णय गरेको हो । समितिले साहित्यकार कञ्चन पुडासैनी, डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ र प्रा.डा. ऋषिराम शर्मालाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ ।
काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिएबापत साहित्यकार पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ अर्पण गर्ने निर्णय गरेको छ ।
समितिका सदस्य-सचिव रेखा राणाद्वारा प्रेषित विज्ञप्तिअनुसार प्राकृतिक चिकित्साका क्षेत्रमा समर्पित डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ अर्पण गर्ने निर्णय गरिएको छ ।
दुवै पुरस्कारका साथ नगद राशि जनही एक लाख रुपैयाँ प्रदान गरिने विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, कथाकार गुरूप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान सम्पन्न गर्नुभएका प्रा.डा. ऋषिराम शर्मालाई २०८० सालको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ अर्पण गरिने भएको छ । यस शोध पुरस्कारका साथ ५० हजार नगद राशि प्रदान गरिने बताइएको छ ।
झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते पुरस्कार अर्पण गरिने जनाइएको छ ।






