काठमाडौं । पाकिस्तानको इस्लामाबादमा मार्च ३-७ तारिखसम्म हुने दक्षिण एसियाली रिजनल यू-१५ तथा यू-१७ जुनियर ब्याडमिन्टन प्रतियोगिताका साथै सोही दौरान हुने ब्याडमिन्टनका विभिन्न कार्यक्रममा सहभागी हुने १० खेलाडीसहित १७ सदस्यीय टोलीलाई बिदाइ गरिएको छ ।
शनिबार पाकिस्तानतर्फ प्रस्थान गरेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले सफलताको शुभकामनासहित बिदाइ गर्नुभयो । यू-१७ को पुरुष खेलाडीमा कविर केसी, सुविन श्रेष्ठ र अमन डंगोल तथा महिलामा समृद्धि श्रेष्ठ र आस्ना श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । प्रतिस्पर्धाअघि खेलाडी पाकिस्तानमै हुने प्रशिक्षण शिविरमा सहभागी हुनेछन् ।
यू-१५ टोलीको पुरुष खेलाडीमा रिजन मगर, सुदेश राजकोटी र सदिप राई रहनुभएको छ । महिलामा रिहाना शेरचन र निभा राई हुनुहुन्छ । प्रशिक्षकमा सञ्जीव श्रेष्ठ र व्यवस्थापकमा मानबहादुर मल्ल रहनुभएको छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुरले लिडर्स मिटिङमा भाग लिनुहुनेछ । राजु श्रेष्ठ र राधेश्याम मचामसीले अम्पायर कोर्समा सहभागिता जनाउनुहुनेछ । गीताकुमार शाही र सन्ध्या थापा जेन्डर इक्विटी एण्ड वुमन्स इम्पावरमेन्ट वर्कसपमा सहभागी हुनुहुनेछ ।
यस्तै, भारतको नयाँदिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा सहभागिताका लागि दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । जवाहरलाल नेहरू रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
धर्मले एक महिनाको अवधिमा दौड्न लागेको यो तेस्रो अन्तर्राष्ट्रिय म्याराथन हो । उहाँले जनवरी २१ तारिखमा टाटा मुम्बई म्याराथन तथा जनवरी २८ तारिखमा सिक्किममा भएको म्याराथनमा प्रतिस्पर्धा गर्नुभएको थियो । दुवै म्याराथनमा उहाँले स्वर्ण जित्नुभएको थियो । धर्मले मुम्बईमा फुल म्याराथन (४२.१९५ किलोमिटर) तथा सिक्किममा १० किलोमिटर दूरीमा स्वर्ण जित्नुभएको हो ।
धर्मसँग विश्वका प्रसिद्ध बोस्टन, बर्लिन, लण्डन, टोकियो म्याराथनलगायत विभिन्न दूरीको अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाएको अनुभव छ । धर्म जापानको किताकामीमा सन् २०१४ मा भएको १८औँ एसियाली मास्टर्स एथलेटिक्सको १० हजार मिटर दौडको कांस्य विजेता पनि हुनुहुन्छ । पुष्पले थाइल्याण्ड म्याराथन र जापानको ओसाकामा भएको १० किलोमिटर दौडमा प्रतिस्पर्धा गर्नुभएको थियो ।






