काठमाडौं । साधना म्युजिक रिवार्डमा मेलोडी किङ शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । उहाँलाई फागुन १५ गते हुन गइरहेको साधना म्युजिक रिवार्डमा उक्त सम्मान अर्पण गर्न लागिएको आयोजकले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । विगत पाँच दशकदेखि अनवरत रूपमा सक्रिय संगीतकार, गायक तथा गीतकार मेलोडी किङ बास्कोटालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने भएको हो ।
उहाँका प्रशस्त गीतहरू लोकप्रिय एवं चर्चित छन् भने बास्कोटा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत हुनुहुन्छ । समारोहमा अन्य संगीतकर्मीहरूलाई पनि सम्मान प्रदान गरिने रवार्डका अध्यक्ष सामना शाहले जानकारी गराउनुभयो ।
साधना म्यूजिक रिवार्ड-२०८० को उत्कृष्ट पाँच मनोनयन यसअघि नै प्रदान गरिसकिएको छ । साधना म्युजिक रिवार्ड पहिलो र दोस्रो अवार्डका रूपमा रहेको थियो भने तेस्रोदेखि रिवार्डका रूपमा आएको हो । यसपटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायांकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।






