काठमाडौं । तेस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल एपिएफ क्लबका मोहम्मद सेखु आलाम र रमिता माझीले स्वर्ण पदक जित्नुभएको छ । सातदोबाटोस्थित कराँते हलमा जारी प्रतियोगितामा सेखुले पुलिसका सज्वल बुढाथोकीलाई १०-२ ले हराउँदै स्वर्ण पदक जित्नुभयो । सेखुले आर्मीका सुरेश जफ्रेललाई तथा सज्वलले गण्डकीका विशाल थापालाई पराजित गर्नुभएको थियो ।
एपिएफलाई दोस्रो स्वर्ण पदक रमिता माझीले दिलाउनुभयो । नेपाल पुलिस क्लबकी निरूपा दोङलाई ६-१ ले हराउँदै रमिता पहिलो हुनुभएको हो । सो समूहमा कोशीकी विनिता पोखरेल र सुदूरपश्चिमकी पुष्पा मदईले कांस्य पदक प्राप्त गर्नुभयो । सेमिफाइनलमा रमिताले पुष्पालाई र निरूपाले विनितालाई हराउनुभएको थियो ।
पुलिसका लागि सन्तोष श्रेष्ठले कुमुते ६७ केजीमा स्वर्ण पदक जित्नुभएको थियो । फाइनलमा त्रिभुवन आर्मी क्लबका किरण पुनलाई ३-१ ले हराउँदै १९औँ एसियाली खेलकुदमा भाग लिनुभएका सन्तोषले पहिलो स्थान हासिल गर्नुभएको थियो । सो तौल समूहमा कोशीका पर्वत बस्नेत र सुदूरपश्चिमका सन्देश पार्कीले कांस्य पदक जित्नुभयो । सेमिफाइनलमा सन्तोषले पर्वत र किरणले सन्देशलाई पराजित गर्नुभएको थियो ।
प्रतियोगितामा पुलिसले आठ, बागमतीले र एपिएफले समान दुई स्वर्ण पदक जितेका छन् । १० टोलीको सहभागिता रहेको प्रतियोगितामा सात टोलीले अहिलेसम्म स्वर्ण पदक जित्न सकेका छैनन् । १७ मध्ये १२ वटा इभेन्ट्सको पदकको टुंगो लागिसकेको छ ।
त्यसअघि साइमन श्रेष्ठले कुमुते पुरुष ५० केजीमा बागमती प्रदेशका लागि स्वर्ण पदक दिलाउनुभएको थियो । साइमनले पुलिसका साजन मोक्तानलाई ५-० ले हराउँदै पहिलो स्थान प्राप्त गर्नुभएको हो । एपिएफका निशान गोले र सुदूरपश्चिमका आनन्द कामीले कांस्य पदक प्राप्त गर्नुभयो । सेमिफाइनलमा साइमनले आनन्द र साजनले निशालाई पराजित गर्नुभएको थियो ।
कुमुते पुरुष ६० केजी तौल समूहमा मिनबहादुर तामाङले एपिएफलाई पहिलो स्वर्ण पदक दिलाउनुभएको थियो । फाइनलमा मिनले लुम्बिनी प्रदेशका सुनिल समाललाई ४-१ ले हराउँदै पहिलो हुनुभएको थियो । पुलिसका अंकित गुरुङ र सुदूरपश्चिम प्रदेशका अर्जुन थापाले कांस्य पदक प्राप्त गर्नुभयो । त्यसअघि सेमिफाइनलमा मिनले अंकित र सुनिलले अर्जुनलाई हराउनुभएको थियो । त्यसअघि पुलिसकी रोजिता ढुंगेलले कुमुते महिला ६८ केजीमुनिको तौल समूहको फाइनलमा कोशीकी योमसम राईलाई ६-४ ले हराउँदै स्वर्ण पदक जित्नुभएको थियो ।
लुम्बिनीकी रक्षा शाही ठकुरी र बागमतीकी आशिका राईले कांस्य पदक प्राप्त गर्नुभयो । सेमिफाइनलमा रोजिताले आशिका र योमसमले रक्षालाई हराउनुभएको थियो । पुलिसका एलोन श्रेष्ठले कुमुते पुरुष ५५ केजी तौल समूहमा मधेश प्रदेशका ऋतिक लामालाई फुल स्कोर १०-२ मा पराजित गर्दै स्वर्ण पदक जित्नुभएको थियो ।
सो तौल समूहमा लुम्बिनी प्रदेशका राहुल चौधरी र आर्मीका रमेश बोलुनले कांस्य पदक प्राप्त गर्नुभएको छ । त्यसअघि सेमिफाइनलमा एलोनले राहुल र ऋतिकले रमेशलाई हराउनुभएको थियो । बागमती प्रदेशका लागि पुष्पा लामाले पहिलो स्वर्ण पदक दिलाउनुभएको थियो । महिला ५५ केजीको फाइनलमा एपिएफकी निमा तामाङलाई ७-५ ले हराउँदै पुष्पाले पहिलो स्थान हासिल गर्नुभएको थियो ।
जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा माघ २० गतेसम्म चल्ने प्रतियोगितालाई गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा नेपाल कराँते महासंघको तत्वावधान एवं प्राविधिक सहयोग गरेको छ । प्रतियोगितामा महिलातर्फ ४५, ५०, ५५, ६१, ६८, ६८ केजीमाथि, एकल काता र टिम कातामा तथा पुरुषतर्फ ५०, ५५, ६०, ६७, ७५-८४, ८४ केजीमाथि, एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
कराँतेको राष्ट्रिय टोलीको प्रारम्भिक छनोटका रूपमा रहेकोप्रतियोगितामा सातवटै प्रदेशका र तीन विभागीय टोलीका गरी २४० ले भाग लिएका छन् । प्रतियोगिताको च्याम्पियन हुने टोलीले ट्रफीसहित एक लाख र दोस्रो हुने टोलीले ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीले ट्रफीसहित समान २५ हजार रुपैयाँ पाउनेछन् ।






