खजुरा । बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब २२५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता रहनेछ ।
प्रतियोगिताका लागि प्रवद्र्धक राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईलगायत खेलाडी नेपालगञ्ज आइसकेका छन् । शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल र पैँतालीस प्लस भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजक संघका उपाध्यक्ष मीनबहादुर मल्लले बताउनुभयो ।
उहाँका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५-१५ हजार, महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५-१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५-१५ हजार प्रदान गरिने छ ।
पुरुष युगल (बी लेभल)तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०-१० हजार र पुरुष युगल (भेट्रान्स पैँतालीस प्लस)तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुनेलाई १०-१० हजार प्रदान गरिने संघले जनाएको छ ।






