✍️ केशव चौलागाईं
पुस्तक अनन्य ज्ञानको स्रोत हो । पुस्तकमा जीवन, दर्शन, अध्यात्म, भूगोल, अन्तरिक्ष, ग्रह, नक्षेत्र, तारा, समुद्र, सोचाइ, भोगाइ, हिँडाइ, रुवाइ, बसाइ, खेलाइमात्र नभएर भावनाको अनन्त गहिराइलगायत यावत विषयवस्तुलाई समेटिएको हुन्छ । पुस्तकबाट पाठकले आफ्नो भोग मेटाउँछन्, मार्गदर्शन पाउँछन्, सभ्य सुसंस्कृत बन्ने जीवनको ढोका खुल्दछ । यही पुस्तकलाई कोहीले रमाइलोका लागि पढ्छन्, कसैले ज्ञान र विचारको क्षितिज फराकिलो बनाउन पढ्छन् त कसैले नजानेको उत्तर खोज्नकै लागि भए पनि पढ्छन् । मानवीय मन र आत्मालाई सुन्तुलित बनाउने पुस्तकको भूमिका साँच्चै नै स्तुल्य रहेको पाइन्छ ।
मानवले आफूले जानेका, बुझेका, सिकेका, अध्ययन, अनुसन्धान गरेका विषयवस्तुहरूलाई पुस्तकमा लिपिबद्ध बनाई आफ्नो ज्ञान फैलाउँदै आएको छ । यस्तो ज्ञानमय पुस्तक पढ्ने पाठकलाई सधैँ एउटा पिरलो हुन्छ । कुन किताब किन्ने ? पुस्तक नपढी कसरी चिन्ने, छान्ने र बुझ्ने ? पढ्नै पर्ने पुस्तक हो कि होइन ? पुस्तकले कस्तो बाटो देखाउने हो ? पुस्तक पढ्न समय खर्चिएपछि झुर पुस्तक परेछ भने बरबाद पो हुने हो कि ? भन्ने अनेकौं संसयले पाठकलाई बेरेको हुन्छ ।
यसबाट मुक्त गराउने, सहजीकरण गर्ने अझ भनौँ छुटकारा दिलाउन प्रयत्न गर्ने माध्यम नै पुस्तक समीक्षा हो । सबैको जिन्दगीमा सधैँ मध्यान्न हुँदैन । प्रत्येक दिन बिहान, अपराहृन, सन्ध्या र रात्रि भएजस्तै पुस्तक उदय वा अस्त कुन कालको हो समीक्षकले छुट्याउन सक्नुपर्दछ । पाठकलाई पुस्तक छनौट गर्न सहयोगी हुने खालको पुस्तक समीक्षा हुनुपर्दछ ।
समीक्षा गर्नु भनेको सर्जकले उब्जाएका वस्तुलाई केलाउने, पर्गेल्ने र सिमा तोक्न सक्ने, परिधि निर्धारण गर्ने कला हो । पुस्तक समीक्षा गाली र अलङ्कार मात्र नभएर सत्य, तथ्य, यथार्थ कुरा पर्गेल्ने विशिष्ट कला र कौशल पनि हो ।
अक्षरसँग खेल्नु, शब्दसँग रमाउनु, वाङ्मयमै आनन्द लिनु, वाग्देवीकै उपसना गर्नु, यसैबाट जीविका चलाउनु आज हाम्रो दैनिकी भइसकेको छ । यसलाई थप प्रभावकारी बनाउन कृति समीक्षालाई निरन्तरता दिनु आवश्यक छ । कृति समीक्षालाई सिर्जनामाथि पाठकीय दृष्टिकोणका रूपमा अथ्र्याउन सकिन्छ भने कतै समालोचनात्मक प्रस्तुतिका रूपमालिने गरिन्छ । यसलाई कृतिको सर्वेक्षण, विमर्श, परिचर्चाको नामले समेत चिन्न सकिन्छ । यहाँ स्रष्टा चेतनाभन्दा द्रष्टा चेतनाको भूमिका प्रकट हुन्छ । कृति समीक्षामा एक छुट्टै प्रकारको भाषिककला एवम् आलङ्कारिक अभिव्यक्तिको प्रयोग हुने हुँदा यो तथ्यपरक एवम् यथार्थपरक हुने गर्दछ ।
कृतिको अर्थ पुस्तक, ग्रन्थ, किताब हो भने समीक्षाको अर्थ अनुसन्धान, खोज, अन्वेषण, गवेषण, विचार, निरीक्षण वा समालोचना भन्ने रहन्छ । कृतिको समीक्षा=कृतिसमीक्षा, तत्पुरुष समास भएर बनेको शब्द हो । समीक्षा भन्नाले प्रकाशित वा अप्रकाशित कुनै पनि पुस्तकाकार कृतिमाथि समीक्षात्मक कथन वा लेखन भनेर बुझ्नुपर्दछ । सम्+इक्षा भएर समीक्षा शब्द बन्दछ । यसको अर्थ समान हेराइ/बुझाइ/लेखाइ भन्ने हुन्छ ।
यस शब्दले पुस्तकका सकारात्मक मात्र नभएर गहिरो विश्लेषणसमेतको अर्थ राख्दछ । कृति समीक्षा भन्नाले कृतिका गुण, दोष आदि सबै कुरालाई छर्लङ्ग हुने गरी हेर्ने/बुझ्ने/पढ्ने/लेख्ने काम भन्ने बुझ्नु उपयुक्त हुन्छ । अङ्ग्रेजीको बुक रिभ्युको अर्थ किताबलाई दोहोर्याएर वा पटक-पटक हेर्नु वा पढ्नु भन्ने अर्थ लाग्दछ । कृतिको मूलआसय प्रष्ट नहुन्जेल विभिन्न कोणबाट हेरेर निचोड निकाली जानकारी प्रस्तुत गर्नु नै बुक रिभ्यु हो ।
कृति समीक्षाको इतिहासलाई नियाल्दा पूर्वीय सभ्यतामा दुई हजार वर्षभन्दा पहिले नै पुस्तक समीक्षा सुरु भएको पाइन्छ । पहिले पहिले जब नयाँ ग्रन्थहरू लेखिन्थे तब त्यसका टीका लेख्न थालिन्थ्यो । समीक्षा गर्नु भनेको सर्जकले उब्जाएका वस्तुलाई केलाउने, पर्गेल्ने र सिमा तोक्न सक्ने, परिधि निर्धारण गर्ने कला हो । पुस्तक समीक्षा गाली र अलङ्कार मात्र नभएर सत्य, तथ्य, यथार्थ कुरा पर्गेल्ने विशिष्ट कला र कौशल पनि हो । पुस्तकको अद्योपान्त अध्ययन गरेर दूधको दूध पानीको पानी पाठक, लेखक र प्रकाशक तीनै पक्षलाई लाभ हुने किसिमले गर्नुपर्दछ ।
बुक रिभ्युलाई पूर्वीय एवम् पाश्चात्य दुबै जगत्मा अत्यन्त लोकप्रिय मानिएको छ । इतिहास कोट्याउँदा सन् १८९६ मा न्युयोर्क टाइम्सले पहिलो पटक पुस्तक समीक्षाका बारेमा परिचयमूलक सामग्री प्रकाशित गरेको कुरा खोजीपस्दा पढ्न पाइन्छ । मूल रूपमा कृति समीक्षा कुनै नयाँ कृतिको प्रकाशनपछि त्यसको प्रचारप्रसारका लागि गर्ने गरिन्छ । यसले सर्वसाधारण पाठकलाई पुस्तकको बारेमा जानकारी गराउँछ । विद्यालय, पुस्तकालय, सिर्जना समूहले आफ्ना विद्यार्थी÷पाठकलाई पठन संस्कृतिको विकास गराउने उद्देश्यले कृति समीक्षा गराउने चलन चल्दै आएको छ । कतिपय विद्यालय वा व्यक्तिले सिर्जनाहरू पढौं र अरूलाई पढ्न प्रेरित गरौँ भन्ने उद्देश्यले क्यालेन्डरमै राखेर कार्यक्रम सञ्चालन गर्दै आएको देखिन्छ । यो सर्जक र पाठक दुवैका लागि निकै राम्रो कुरा हो ।
स्रष्टाको सिर्जनामाथि विविध पक्षहरू समेटेर कृतिको समग्र चित्र उतार्नु नै कृति समीक्षा हो । कृति समीक्षा गर्दा ग्रन्थका बारेमा आवश्यक सहयोगी प्रसङ्ग थाहा पाउन जरुरी हुन्छ । पुस्तकको विषय, बनोट, शैली, प्रस्तुतिको ज्ञान समीक्षकमा भयो भने कृति समीक्षा रोचक बन्दछ । कृतिको केन्द्रबिन्दु पत्ता लगाएर समग्र सार खिच्न सक्नुपर्दछ । कृतिको भाव, विचार, सन्देश, उद्देश्य, घटना, पात्र, परिवेश, शैली, लय, आन्तरिक विषय आदि विविध पक्ष केलाएर सार खिच्नुपर्छ । कृतिलाई विश्लेषणात्मक तरिकाले प्रस्तुत गर्न सक्ने कला हुन जरुरी छ । आलोचनात्मक/तर्कपूर्ण प्रस्तुतिले नै कृति समीक्षा जीवन्त बन्दछ । समीक्षकका अनुभव, पुस्तकको गुणात्मक महत्व, कृतिका सबल र दुर्बल पक्ष प्रस्तुत गरी लेखकीय अभिमतका बारेमा प्रभावकारी निष्कर्ष हुनुपर्दछ ।
कृति समीक्षा गर्दा पुस्तकलाई शक्तिशाली, अब्बल, उत्कृष्ट, निष्कृट वा निम्न कोटिको आदि इत्यादि विशेषण प्रयोग गर्नु त्यति राम्रो मानिँदैन । किताबका सबल र कमजोर पक्षको बारेमा गहकिला तर्क दिएपछि पाठक आफैँले विशेषण जुराउँछन् ।
कृतिको बाहृय स्वहृपको परिचय, लेखन ढाँचा, चित्र, विधागत विशिष्टता, शीर्षक, लेखक, विधा, कभरका विशेषता, रङ, सम्पादक, अनुवादक, प्रकाशक, ठेगाना, प्रकाशित मिति, पृष्ठ, मूल्य, आकार, शीर्षक, उपशीर्षकको संख्या, मूलविषयको सार, शीर्षक, उपशीर्षकको बारेमा चर्चा, विधागत विशेषता, लेखकले भन्न खोजेका मुख्य विषयहरू, मूलकथा, पात्रचरित्र, शिल्प, भाषाशैली, लयविधानको वर्णन कृति समीक्षामा आवश्यक ठानिन्छ । कृतिको निचोड, निष्कर्ष, समीक्षकको दृष्टिकोण, धनात्मक र ऋणात्मक पक्ष, कृतिको शक्ति र सीमा उल्लेख गर्दै खँदिलो निष्कर्ष हुनुका साथै रचनात्मक विशिष्टता एवम् शिल्पगत सामथ्र्यको चर्चा हुनु आवश्यक छ ।
कृति समीक्षा सतही, छिपछिपे मात्र नभएर गहन पठन, केन्द्रीय तथ्य पहिचान, व्यवस्थापन, मूल्याङ्कन, सत्य परीक्षण, दोष पहिचान, संशोधन र परिमार्जनको रूपरेखा दिनसक्ने हुनुपर्दछ । समीक्षकका अधिल्तिर धेरै चुनौती भएकाले समीक्षा स्वयम् रचना बन्न सकेको पाइँदैन । रचना बन्नका लागि सर्वप्रथम समीक्षक स्वतन्त्र आकाशमा उड्न सक्नुपर्छ । डर, ज्ञास, धम्की, आशा, लोभ, लालचबाट टाढै हुनुपर्दछ । वास्तवमा पुस्तक जस्तोसुकै भए पनि समीक्षाले पुस्तकलाई प्रसिद्ध पार्न सहयोग पु¥याएकै हुन्छ ।
कृति समीक्षा गर्दा पुस्तकलाई शक्तिशाली, अब्बल, उत्कृष्ट, निष्कृट वा निम्न कोटिको आदि इत्यादि विशेषण प्रयोग गर्नु त्यति राम्रो मानिँदैन । किताबका सबल पक्षको बारेमा गहकिला तर्क दिएपछि पाठक आफैँले विशेषण जुराउँछन् । निष्कृष्ट छ भने पनि किताबको कमजोर पक्ष केलाइदिएपछि पाठक आफैँले निकृष्ट भएको निचोड निकाल्छन् । पुस्तक पढ्न योग्य छ छैन भनेर बताउनुभन्दा पनि पाठकले कृति समीक्षा सुनेपछि आफैँ निष्कर्षमा पुग्न सक्ने होऊन् । पढाइ नै ज्ञानको स्रोत हो । पढाइले नै हरेक मानिसको ज्ञानको क्षितिजलाई फराकिलो बनाइदिन्छ । आफ्नो विचारलाई परिष्कृत बनाउँछ, कल्पना शीलता बढाउँछ, आन्तिरिक क्षमतालाई तिखार्छ । हरेक परिवारले आफ्ना बालबालिकाहरूलाई ज्ञानको भोग जगाउनका लागि सानैदेखि पुस्तक पढ्ने बानी बसल्नु आवश्यक छ ।
अतः अमृततूल्य ज्ञानको रसैरसले भरिएको पुस्तकले भौतिक रूपमा एक गिलास पानी र एक झिल्को आगो पनि सहन गर्नसक्ने क्षमता राख्दैन तर पनि यसको ज्ञानबाटै संसार हाँक्ने महारथीहरूले विश्वलाई चलायमान बनाइरहेका छन् । दिनानुदिन घट्दो पुस्तक नपढ्ने प्रवृत्तिमा कमी ल्याउन, बालबालिकामा पठन संस्कृतिको विकास गराउन कृति समीक्षा आज अनिवार्यजस्तै भएको छ । यसको सिको नेपालका विद्यालय, विश्वविद्यालयलगायत विभिन्न संघसंस्थाले गर्दै आएका छन् । यद्यपि यो पर्याप्त हुन भने सकेको देखिँदैन ।
(चौलागाईं रिलायन्स पब्लिक स्कुल, कपनमा नेपाली विभागीय प्रमुखको रूपमा कार्यरत हुनुहुन्छ ।)







This is breaking news.
Video News Post
Breaking News with Advertisements