पुरुषोत्तम घिमिरे/हिटा
काठमाडौं । गोकर्णश्वर नगरपालिकाभित्र रहेका मेडिकलहरूले चिकित्सकको सिफारिसबिना गम्भीर प्रकृतिका औषधि बिक्री वितरण गर्न नपाउने भएका छन् । लागुऔषध दुव्र्यसनीले आफूखुसी गम्भीर प्रकृतिका औषधि खरिदबिक्री गरी सेवन गरेको पाइएपछि नगर प्रमुख दीपक रिसालले यस्तो निर्णय गरेको बताउनुभयो ।
अबदेखि नगरपालिकाभित्र सञ्चालन भएका मेडिकलहरूले सिफारिसबिना यस्ता औषधि बिक्रीवितरण गरेको पाइएमा नगरपालिकाले उक्त मेडिकल सिल गर्ने उहाँले चेतावनी दिनुभएको छ । नगर प्रमुख रिसालसहित महानगरीय प्रहरी वृत्त बौद्वका प्रमुख राजु पाण्डेलगायत अन्य राजनीति दलका नेता बसेर यस्तो निर्णय गरेको हो ।
लागुऔषध सेवनले आफ्नो मात्र होइन परिवार र समाजको समेत हुर्मत लिन्छ यसलाई बेलैमा निगमन गर्नसके अप्रिय घटना घट्ने छैन भन्ने कुरा डिएसपी पाण्डेले बताउनुभयो । अहिले लागुऔषध सेवन गरेर लुटपाट मच्चाउने, बाटोमा होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।
डिएसपी पाण्डेले यदि कसैको टोलमा पनि यस्तो समस्या देखिएको छ भने प्रहरीलाई सम्पर्क गर्न आग्रह गर्नुभयो । लागुऔषध दुव्र्यसन देशकै समस्याको रूपमा रहेको छ । यसलाई नियन्त्रण गर्न बलियो कानुनको आवश्यक छ । पछिल्लो समय गोकर्णेश्वर नगरपालिकाभित्र लागुऔषध दुव्र्यसनमा फसेका युवायुवती धेरै भेटिन थालेका छन् जसकारण घरबाहिर बेलुकाको समय हिँड्डुल गर्नसमेत गाह्रो भएको स्थानीय बताउँछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता