
काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित हात पारेको छ । बागमतीले प्रधानमन्त्री कपमा पहिलोपटक आर्मीलाई हराएको हो । जितका लागि ९८ रनको सामान्य लक्ष्य बागमतीले २२.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको थियो । बागमतीको जितमा अशोक पौडेलले ३० बलमा २ चौका र १ छक्कासहित २१ रन बनाउनुभयो । ओपनर आशुतोष घिरैयाले २, इशान पाण्डे १२, रित गौतम ४, प्रतीक श्रेष्ठ ७ र रविन जोशीले १२ रन बनाउनुभयो ।
प्रतिश जिसी २४ बलमा १ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहनुभयो । आर्मीका तीव्रगतिका बलर सोमपाल कामीले ३ र जितेन्द्र मुखिया र साहब आलमले २-२ विकेट लिनुभयो । त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले २७.१ ओभरमा सबै विकेट गुमाएर ९७ रनमात्रै बनाउन सक्यो ।
आर्मीका कप्तान विनोद भण्डारीले ४० बलमा ४ चौकासहित २८ रन बनाउनुभयो । भीम सार्कीले ४१ बलमा ३ चौकासहित १८ रन बनाउनुभयो । बागमतीका सूर्य तामाङले ५ विकेट लिनुभएपछि जित सम्भव भएको हो । सूर्यले कुशल मल्ललाई शून्य, बसिर अहमदलाई ५ र साहब आलमलाई ७ रनमा बोल्ड आउट गर्नुभयो । त्यस्तै, उहाँले भीम सार्कीलाई १८ र सन्दीप रजालीलाई एक रनमा क्याच आउट गराउनुभयो ।
समग्रमा सूर्य तामाङले ९ ओभरमा २ मेडनसहित २६ रन खर्चेर ५ विकेट लिनुभयो । योसँगै उहाँ ४ खेलमा १७ विकेटका साथ शीर्षस्थानमा हुनुहुन्छ । प्रतिश जिसीले ५.१ ओभरमा २ मेडनसहित ८ रन खर्चेर २ विकेट लिनुभयो । बागमती सुरुवाती दुई खेलमा पुलिस र एपिएफसँग पराजित भएको थियो । त्यसपछि भने लगातार मधेश र आर्मीलाई हराएको छ । पहिलो खेलमा मधेश प्रदेशलाई हराएको आर्मी दोस्रो खेलमा भने पराजित भएको हो ।
यस्तै, अर्को खेलमा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई ६४ रनले हराएको छ । जितका लागि १८५ रनको मध्यम विजयी लक्ष्य पछ्याएको लुम्बिनी ४१.२ ओभरमा १२४ रनमा अल आउट भयो । लुम्बिनीका कृष्ण कार्कीले ७७ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाउनुभयो । कृष्ण कार्की र निर्मल गुरुङले १०-१० रन बनाउनुभयो ।
कर्णालीका अनुज चनाराले ७ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर २ विकेट लिनुभयो । दिनेश अधिकारीले ६ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिनुभयो । दीपेन्द्र रावतले ५.२ ओभरमा २६ रन खर्चेर २ विकेट लिनुभयो । दिवान पुनले १ विकेट लिनुभयो । त्यसअघि सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।
कर्णालीका दिनेश अधिकारीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६ रन बनाउनुभयो । त्यस्तै, दीपेन्द्र रावतले ६९ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाउनुभयो । त्यसबाहेक हिमान्शु शाही २५, रविन्द्र शाही ११, राजेश खड्का ७ र प्रकाश जैसी ९ रनमा आउट हुनुभयो ।
लुम्बिनीका अभिषेक गौतम र निर्मल गुरुङले समान ३ विकेट लिनुभयो । मोहम्मद हुसेन, कृष्ण कार्की र अजय चौहानले समान एक÷एक विकेट लिनुभयो । कर्णालीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा भने कर्णाली सुदूरपश्चिमसँग १३४ रनले पराजित भएको थियो । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिमसँग दोस्रो खेलमा लुम्बिनी ५ विकेटले पराजित भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच