बसाइँसराइले उराठ बन्दै गाउँघर

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । अप्ठ्यारो भूगोल । चारै तिर डाँडाकाँड र भिरैभिर । थुम्का-थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका-११ मा पर्ने रायडाँडा अहिले पनि बत्ति मुनिको अँध्यारो जस्तै छ । दुर्गम गाउँ भए पनि डेढ दशक अगाडिसम्म यहाँ खेतीपाती र पशुपालन गरि स्थानीयले जीविकोपार्जन गर्दै आएका छ थिए । जब मोटरबाटोले गाउँ जोडिए, तब मान्छेहरु गाउँ छोड्दै बजार ओर्लिन थाले । हरेक वर्ष बजार झर्नेको संख्या बढेपछि अहिले रायडाँडा सुनसान बन्दै गएको छ । गाउँमा माध्यमिक तहसम्मको विद्यालय छ । नजिकै स्वास्थ्य चौकी र आँगनै अगाडि गाडी गुड्छन् । तर सुविधा घरको आँगनमै पुगे पनि गाउँलेको बजार मोह घटेको छैन ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि वि.सं. २०५८ मै रायडाँडा जोड्ने सडक काम सुरु भएर वि.सं. २०६० मा पुग्यो । सडक पुगेको धेरै वर्षसम्म स्थानीय गाउँमै बसे पनि अहिले अधिकांश बागलुङ बजारमा बस्ने गर्छन् । रायडाँडा बागलुङ नगरपालिकाको सबैभन्दा टाढा र दुर्गमको वडा मानिदै आए पनि अहिले विकासले गति लिन थालेको छ । भौगोलिक हिसाबले जैमिनी नगरपालिकासँग नजिक पर्ने भए पनि रायडाँडालाई बागलुङ नगरपालिकामा गाभिएको छ । रायडाँडा साविक गाविस थियो । सिंगो गाविसलाई स्थानीय तह स्थापनापछि एउटै वडा बनाइएको छ । वर्षेनी बसाइँसराइले गर्दा रित्तिएको गाउँका घरहरु मक्किन थालेका छन् । अहिले केही बालबालिका र बुढापाका मात्रैले गाउँ धानेका छन् ।

उत्पादनका हिसाबले उर्वर ठाउँ भए पनि बढ्दो बसाइँसराइका कारण काम गर्ने जनशक्ति घट्दै गएका छन् । युवा शक्ति विदेश पलायन र हुने खाने बजार झरेपछि यतिबेला रायडाँडामा सामान्य वर्गमा रहेका छन् । बसाइँसराइ गरेर बजार झरेका पनि बेला बेला गाउँ जाने गरे पनि बारीमा खेतीपाती भने गर्दैनन् । सीमित किसानले मात्रै खेती किसानी गर्दा गाउँमा उत्पादन कम भएर भोकमरी निम्तने जोखिम बढेको स्थानीय दुर्गाबहादुर थापाले बताउनुभयो । पहिले-पहिले गाउँमा वरपर काम गर्ने छरछिमेकी पाइने, कुनै पनि जग्गा जमिन खाली नहुने भन्दै अहिले खेतीयोग्य जमिन सबै वनमाराले ढाकिदै गएको गुनासो पोख्नुभयो । दुई दशक पहिले गाउँमा कुनै विकास नभएको बेला बसाइँसराइ शून्य रहेको स्मरण गर्दै अहिले बस्तीनै रित्तिदै गएको उहाँ बताउनुहुन्छ ।

“पहिले गाउँमा विकास थिएन, मान्छे थिए, अहिले गाउँमा विकास आयो, मान्छे बजार झरे, अब गाउँ घर त हुँदाखाने र गरिब जनताको मात्रै हुने भयो, मान्छेले खेती गर्न जोडे, बजारबाटै चामल, पिठो लिएर खान्छन्, पहिले गाउँमा मकै, कोदो निकै उत्पादन हुन्थ्यो, अहिले उत्पादन घटेर कम भएको छ, वर्ष भरी खान पुग्दैन,” थापाले भन्नुभयो - “यस्तै हुँदै गयो भने त भोकमरी आउने जोखिम बढ्यो, अहिले बारी हेर्न गयो भने बैराग लाग्छ, हाम्रो पालामा गाउँ घर कति रमाइलो थियो, मान्छेको चहलपहल थियो, अहिले केही छैन, सबैलाई बजार चाहिने, विदेशनै जानु पर्ने, यही हिसाबले बसाइँसराइ हुँदै गयो भने अबको १० वर्षमा गाउँमा कोही पनि रहने छैन ।”

स्थानीय ओमबहादुर केसीले गाउँमा जनसंख्या कम हुँदै गएपछि बाँदर आतंक बढ्दै गएको बताउनुभयो । पहिले जंगलमा मात्रै भेटिने बाँदर हिँजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । विकास गाउँ उक्लने, मानिसहरु सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको केसीले बताउनुभयो । गाउँमा गुणस्तरी स्वास्थ्य सेवा नहुँदा बागलुङ बजारमै पुग्नु पर्ने भन्दै सरकारले गाउँमा सेवा सुविधा थपे मात्रै बसाइँसराइ रोकिने उहाँको भनाइ छ ।

ADVERTISEMENT

केसीले भन्नुभयो - “मान्छेको चहलपहल भए पो जंगली जनावर गाउँ पस्दैन, मान्छे सबै बजार झर्न थालेपछि गाउँ सुनसान हुन थाल्यो, सुनसान भएपछि बाँदर गाउँ आउन थाले, अहिले गाउँमा बुढाबुढी मात्रै छन्, सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिने गरि काम गर्नु पर्छ, बजार झर्नबाट रोक्न सके मात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र भने बाँदर मात्रै होइन, अब गाउँ जंगली जनावरहरुको बासस्थानका बन्छ, अहिले गाउँमा खेतीपाती गर्ने किसान अर्को वर्ष यहाँ भेटिदैनन्, कोही बागलुङ बजार, कोही चितवन कोही पोखरा जान्छन् ।”

बागलुङ बजारदेखि रायडाँडासम्म पुग्ने सडक पनि निकै जोखिमपूर्ण छ । दुई दशक पहिले ट्रयाक खुलेको सडक अहिले पनि साँघुरो र खाल्डाखुल्डी परेको छ । जसले गर्दा यात्रा निकै कष्टहर हुने गरेको छ । सडक अप्यारो हुँदा २० किलोमिटर सडकमा यात्रा गर्न दुई घण्टा बढी लाग्छ । रायडाँडाबाट अघिल्लो वर्ष करिब १६ र चालु वर्ष आठ घर परिवार बसाइँसराइ गरेर अन्तै गएको वडा कार्यालयले जनाएको छ । सडकको दुरावस्था र गाउँमा स्वरोजगारको अवसर नहुँदा धेरै स्थानीय बसाइँसराइ गर्नु परेको पाइन्छ । बागलुङ नगरपालिका-११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले गाउँलाई राष्ट्रिय सडकसँग जोड्न नक्सदा र एसियाली विकास बैंकले समयमै काम नगर्दा पछाडि पर्नु परेको बताउनुभयो ।

२० औँ वर्ष अगाडि खुलेको सडकको स्तरोन्नतीका लागि एसियाली विकास बैंकले पाँच वर्ष अगाडि स्तरोन्नती गर्ने भनिए पनि अहिलेसम्म प्रक्रिया पूरा हुन नसकेको उहाँको भनाइ छ । रायडाँडाबाट बसाइँसरा रोक्नका लागि गाउँमै रोजगार सिर्जना गर्ने र स्थानीयलाई उत्पादनसँग जोड्ने उहाँले बताउनुभयो । भौगोलिक हिबसाले अलि पछाडि पर्दा ढिला विकास भएको भन्दै केही वर्ष यता विकासले गति लिन थालि रहेको बताउनुभयो ।

“भूगोलका हिसाबले पहिलेदेखिनै अलि पछाडि परेको क्षेत्र भएको हुँदा विकास ढिला भयो, अहिलेका हरेक नागरिकले प्रतिफल छिटो खोज्ने गर्छन्, पहिलेको तुलनामा विकास धेरै भएको छ, गाउँमा मान्छेलाई गाउँमै रोक्ने धेरै प्रयास गरि रहेका छौँ” अध्यक्ष गौतमले भन्नुभयो - “अब युवा शक्तिलाई लक्षित गरि स्वरोजगार कार्यक्रम गर्नु पर्ने छ, सडकका कारण उत्पादनले बजार पाउन सकेको छैन, अब सडकको अवस्था पनि सुधार गर्ने चरणमा छौँ, अबको केही वर्षमा बसाइँसरा रोकिने अपेक्षा गरेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?