काठमाडौं । नयाँ पुस्ताका चर्चित हास्य कलाकारहरूले अमेरिकाका विभिन्न शहर हँसाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा ‘अब हाँस्छ अमेरिका’ शीर्षकमा आयोजना हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली दुई हप्तापछि अमेरिका प्रस्थान गर्ने बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । कार्यक्रम आयोजक फ्लाई नेपाका निर्देशक विनोद अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा अमेरिकाका दुई दर्जन बढी शहरमा कार्यक्रम तय भइसकेको जानकारी गराउनुभएको थियो । अधिकारीका अनुसार कलाकारको अमेरिका हँसाउने यात्रा जनवरीको ५ तारिखदेखि भर्जिनियाबाट सुरु हुनेछ । कार्यक्रममा बोल्दै अधिकारीले अमेरिकामा रहेका नेपालीलाई कार्यक्रममार्फत् मनोरञ्जन गराउनेसँगै सीपसहित नेपाल फर्कन आहृवान गर्ने उद्देश्य रहेको पनि जानकारी गराउनुभयो ।
कीर्तिमानी आरोही कामीरिता शेर्पाको सगरमाथा आरोहणसम्बन्धी डकुमेन्ट्री ‘एभरेस्ट मेन’का निर्देशकसमेत रहनुभएका विनोद अधिकारीले भन्नुभयो, ‘यो कार्यक्रम भनेको परदेशलाई घरदेशसँग जोड्ने कार्यक्रम हो । कोभिड महामारीपछि हामीलाई जुन शैलीको ताजगी चाहिएको छ, त्यो यो कार्यक्रमले पूरा गर्छ भन्ने हाम्रो विश्वास छ ।’
यात्रामा सन्दीप क्षेत्री, सुमन कार्की, भरतमणि पौडेल, मेक्सम गौडेल, कैलाश कार्की, सजन श्रेष्ठ, सुमन कोइराला, सन्तोष थापा सहभागी हुनुहुनेछ । पत्रकार भेटघाटमा बोल्दै कलाकार सन्दीप क्षेत्रीले विभिन्न समयमा र विभिन्न अवसरमा अमेरिकामा कार्यक्रम गरेको भए पनि यो पटकको यात्रा विशेष रहेको बताउनुभयो । उहाँले एक समय अमेरिका यात्राकै क्रममा के गर्छस् भनेर सोधिँदा स्ट्याण्ड अप कमेडियन हुँ भन्दा उनीहरूले दिएको सम्मानले यो पेशाप्रति नै गर्व लागेको पनि अनुभव सुनाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै भरतमणि पौडेलले मह जोडीपछि हास्य कलाकारको टोलीमात्र यति लामो भ्रमणमा निस्कन लागेको बताउँदै परम्पराको निर्वाहसँगै नयाँ दर्शकसँग भेट्न पाउने उत्साह रहेको बताउनुभएको थियो ।
कार्यक्रममा अमेरिका भ्रमणमा रहनुभएका अन्य बाँकी सहभागीले पनि आ-आफ्ना अनुभव सुनाएका थिए । भ्रमणका दौरानमा उनीहरूले एकल र सामूहिक प्रस्तुति दिने र प्रत्येक शहरमा प्रस्तुतिको समय साढे दुई घण्टाको रहने जनाएका थिए । एक महिना बढी चल्ने यात्राका लागि हृयारिसबर्ग, मेरिल्याण्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलोराडो, सिकागो, मिसिगन, हृयुस्टन, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्को आदि ठाउँका कार्यक्रम तय भइसकेको र बाँकी शहरका लागि पनि सम्झौताको क्रम जारी रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।







Breaking news with related posts