सुर्खेत । आगामी वर्ष कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारी तीव्र पारिएको छ । जसका लागि प्रदेश राजधानी वीरेन्द्रनगरमा बहुउद्देश्यीय रंगशालादेखि क्रिकेट मैदानसम्म निर्माण हुँदैछन् । १०औँ राष्ट्रिय खेलकुदलाई लक्षित गरेर वीरेन्द्रनगरमा क्रिकेट मैदान निर्माणको काम सुरु भएको हो । कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सोमबार क्रिकेट मैदानको शिलान्याससमेत गर्नुभएको छ ।
सुर्खेतको वीरेन्द्रनगरस्थित शिलान्यास गरिएको कालिञ्चोक क्रिकेट मैदान आगामी चैत ३० गतेभित्र सम्पन्न गरिसक्ने लक्ष्य छ । यसका लागि केपिडिडी कन्स्ट्रक्सन वीरेन्द्रनगर र कर्णाली प्रदेश खेलकुद विकास परिषद्बीच निर्माण सम्झौता भएको छ ।
क्रिकेट मैदान निर्माणका लागि ९८ लाख लागत अनुमान गरिएको थियो । तर, ७३ लाख १८ हजार ३३७ रुपैयाँ ६६ पैसामा निर्माण सम्झौता भएको छ । खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, दुबो लगाउने र ल्याण्ड स्क्यापिङ गरी हरियाली गर्ने काम हुने जनाइएको छ ।
मैदान शिलान्यास गर्दै मुख्यमन्त्री शर्माले खेलकुद क्षेत्रबाट अब्बल कर्णाली प्रदेश बनाउने लक्ष्य रहेको बताउनुभयो । खेलकुदका लागि पूर्वाधार निर्माण गर्ने क्रममा क्रिकेट मैदानको शिलान्यास हुनु कर्णाली समृद्धिको अंगका रूपमा लिन सकिने उहाँ बताउनुहुन्छ ।
छिट्टै क्रिकेट मैदान निर्माण गरेर २०८१ साल वैशाखमा क्रिकेटको राष्ट्रिय प्रतियोगिता कर्णालीमा गराउनका लागि प्रदेश सरकारले तयारी गरेको उहाँको बताउनुभयो । प्रदेश सरकार यतिबेला प्रदेश गौरवको आयोजनाका रूपमा रहेको प्रादेशिक रंगशाला निर्माणमा केन्द्रित रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।
रंगशाला निर्माणको कामसँगसँगै कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रहरूमा समेत खेलकुद पूर्वाधार निर्माण गर्नतर्फ प्रदेश सरकारले जोड दिएको छ । यस्तै निर्माण कार्य शुभारम्भ भएको कालिञ्चोक क्रिकेट मैदानलाई तोकिएको समयभित्रै गुणस्तरीय निर्माण कार्य सम्पन्न हुने गरी काम गर्न निर्माण कम्पनीलाई सुझाव दिइएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य-सचिव विश्वामित्र संज्यालले कर्णाली प्रदेशको खेलकुद विकास गर्नका लागि पाँच ‘प’को नीति तथा कार्यक्रम कार्यान्वयन हुन आवश्यक रहेको भन्दै त्यसो हुन सकेमा अब आउने ९० को दशकमा नेपालका सबै खेलहरूमा कर्णालीको बर्चस्व रहने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा निर्माणाधीन बहुउद्देश्यीय रंगशालाको ७० प्रतिशत काम सम्पन्न भएको छ । यस्तै, वित्तीय प्रगति ६५ प्रतिशत हासिल भएको छ । हालसम्म ९२ करोड खर्च भइसकेको छ । रंगशाला निर्माण सम्पन्न गर्नका लागि एक अर्ब ४७ लाख ४७ हजार ६ सय रुपैयाँ लागत लाग्नेछ । प्रदेश रंगशाला २०८१ जेठ ११ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा