✍️ ज्ञानप्रसाद भट्टराई
माया र प्रेम फुलेको मनमा
संवेगहरू ऐँजेरु बनेर पलाएका छन्
हलक्क बढेको मनलाई
माटोमा मिलाई दिए
मेरो चिल्लो गालामा
कालो कोठी ऐँजेरु बनेर आयो
मेरो चाहानाविपरीत
तर भन्ने गर्छु, कति सुहाएको छ ।।
आज शीतलता दिइरहेको रुखमा
ऐँजेरु पलाएको छ, हाँगैभरि
काट्दै फालूँ, काण्ड मात्र रहने
शोभा कहाँ हुन्छ यसको ?
नफालूँ ऐँजेरुले रुखै सुकाएको छ
म बिहान सधैं रुखमा पानी चढाउने मान्छे
रुखको टुप्पामा नहेरी फेदमा पानी चढाउँछु ।।
आज प्रत्येकको विचारमा पनि
संशोधन र अधिनायक चरित्र ऐँजेरु बनेर पलाएको छ
राजनीतिमा हलक्क मौलाएको छ
उही ज्यामितीय गतिमा
निरीह जनता माझ ।।
आज समाजमा ऐँजेरु ऐँजेरु पलाएको छ ।
मास्न नसक्ने गरी,
समाज चाउरिएको छ, रक्तनली सुकेका छन्
भ्रष्टचारले जताततै, काण्डै काण्ड बनेर
रुख रहुन्जेल ऐँजेरुलाई के चिन्ता
रूखभरि, समाजभरि, देशभरि फैलिएको छ ।।
सूर्यविनायक नगरपालिका, भक्तपुर






