✍️ पदम दाहाल
अहो ! प्रष्ट छन् पालिसे नायकी ती
बकून् कष्ट नेपाली आमा नढाँटी ।
खुराफात चल्छन् यहाँ ताँतताँती
खुनी भ्रष्ट पाखण्ड छन् भाँतभाँती ।१।
चुसाएर धारा बचायौ नि आमा !
दूधै दुष्ट तिम्रो सबै छन् सुदामा ।
दियौ जन्ममाता ! पखेटा लगायौ
सबै नित्य धोकाधडी गाल पायौ ।२।
यहाँ लेन्डुपे क्वै नहुन् पोलपोटे !
स्वअस्तित्व बाँचोस् अहम् प्रश्न एकै !
जहाँ घात आघात बन्दैछ पैरो
धरा-वेदना छट्पटी चोट गैरो ।३।
छ हालीमुहाली कतै भाँडभैलो
कहाली कुचक्री छ फोहोर मैलो ।
चढून् धर्म, संस्कार, भाषा तुलामा
नियाँन्याय पाऊन् फुलून् आँकुरामा ।४।
सबै होस् खोजौँ घटून् जोस बाँकी
सधैं बोक सद्भावना मेल गाँसी !
नपालेर इष्र्या बढारेर ढोँगी
महाबुद्घ बोलून् बनून् सिद्घयोगी ।५।
नमेटून् कसैले हिमाली प्रतिष्ठा
पिराहा जिराहा नहोऊन् अनिष्ट !
सुसन्तान हामी उठौँ आसमान
भए साँढ साँढे जुधे हुन्न मान ।६।
मादी न.पा.-६, संखुवासभा
हाल : लोकन्थली, भक्तपुर






