काठमाडौं । सांस्कृतिक संस्थानले साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ कार्यक्रम घोषणा गरेको छ । संघले संस्थानमा पत्रकार सम्मेलन गर्दै यस्तो कार्यक्रमको घोषणा गरेको हो । लोकसंस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रस्तुतिका क्षेत्रमा क्रियाशील सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकासमा टेवा पुर्याउन, नेपालको प्रस्तुतीजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउन तथा लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले सुरु हुन लागेको कार्यक्रम माटोका गीतबारे जानकारी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको उपस्थितिमा संस्थानमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
कार्यक्रममा मन्त्री किरातीले संस्कृति भनेको शक्तिशाली कूटनीति भएको बताउनुभयो । मन्त्री किरातीले भन्नुभयो, ‘भाषा र संस्कृतिलाई कुनै पनि मुलुकको सिमानाले रोक्न सक्दैन । संस्कृति भनेको शक्तिशाली कूटनीति हो ।’ मन्त्री किरातीले लोकसंस्कृति र रैथाने खानालाई उत्पादन र रोजगारीसँग जोड्न आवश्यक रहेको तर्क गर्दै त्यसका लागि यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रमबारे जानकारी दिँदै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले सरकारी र निजी क्षेत्रको सहकार्य र समन्वयमा हुने यस कार्यक्रमका प्रस्तुतिहरू मनोरञ्जनभन्दा बढी प्राज्ञिक, खोजमूलक र यथार्थपरक हुने, नेपालको मौलिक एवं रैथाने संस्कृति, सभ्यता, रहनसहन तथा जीवनशैली झल्कने प्रस्तुतिहरू समावेश गरिने जानकारी दिनुभयो ।
महाप्रबन्धक राईका अनुसार विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतीजन्य लोककलालाई प्रामाणिक, आधिकारिक र प्रभावकारी बनाउन सम्बन्धित विषय विज्ञहरूको परामर्श, मूल्यांकन तथा सुझाव लिन प्रस्तुति छनोट तथा परामर्श समिति गठन गरिएको र कार्यक्रममा समावेश गरिने सबै प्रस्तुतिलाई दस्ताबेजीकरण गर्दै भविष्यमा भव्य डिजिटल लाइब्रेरी तयार गर्ने योजनासमेत रहेको छ ।
समितिको सल्लाहकारमा डा.भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमषि, नारायणदेवी प्रधान हुनुहुन्छ भने प्राज्ञ अशोक राई संयोजक एवं मनोज जोशी, कृष्ण गुरुङ, खड्ग बुढामगर र सुदर्शन थापा सदस्य रहनुभएको छ ।
पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले यस कार्यक्रमलाई सफल बनाउन र निरन्तरता दिन बोर्डको सधैं साथ र सहयोग रहने बताउनुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कार्यक्रममा लोकसांस्कृतिक प्रस्तुतिसहित गौतम बुद्ध, अरनिको, भृकुटी (हरिततारा), सीतालगायत नेपालका विभूति एवं अग्रज साधकहरूलाई विश्वमाझ चिनाउन उहाँहरूको जीवनीलाई संक्षिप्त रूपमा नाटकीकरण गरी प्रस्तुत गरिनेछ ।
केही महिना साप्ताहिक रूपमा आयोजना हुने यो कार्यक्रमलाई नेपाली परिकारका साथ रात्रिभोजसहित दैनिक रूपमा प्रस्तुत गर्ने लक्ष्यका साथ तयारी भइरहेको छ । कार्यक्रममा समावेश गरिने प्रस्तुतिहरू समय, सन्दर्भ र ऋतुअनुसार परिवर्तन हुने जनाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts