काठमाडौं । पोखरामा मंसिर ९ गतेबाट दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौं, पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखराको सहआयोजनामा सो प्रतियोगिता हुने जानकारी दिइएको हो ।
नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाली १० टिम र चीनका १० टिम सहभागी हुनेछन् । एउटा टिममा तीनजनाका दरले प्रतियोगितामा ६० जना सहभागी हुनेछन् । यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड-१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्सको चार्टर्ड उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी १०४ जना चिनियाँ पोखरा आउँदैछन् । दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चीन सरकारकै सहयोगमा चार्टर्ड उडानमार्फत् पोखरा आउन लागेका हुन् ।
प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरु हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुनेछ ।
नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आमनागरिकका लागि पब्लिक इभेन्ट पाँच किलोमिटर र विद्यार्थीका लागि पाँच किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ । नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले तीन लाख ६० हजार रुपैयाँ, दोस्रोले दुई लाख ८८ हजार रुपैयाँ, तेस्रोले दुई लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौँ हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
व्यक्तिगत स्पर्धामा प्रथमले एक लाख ४४ हजार रुपैयाँ, दोस्रोले एक लाख आठ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । व्यक्तिगत स्पर्धामा चौथोदेखि १०औँ तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । कोभिड-१९ महामारीका कारण दौड प्रतियोगिता हुन सकेको थिएन ।
प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts