नेपालीहरूको दशैँपछिको ठूलो चाड तिहार सुरु भइसकेको छ । आज तिहारको दोस्रो दिन अर्थात् कुकुर तिहार । तिहार पाँच दिन हुन्छ, त्यसैले पञ्चक पनि भन्ने गरिन्छ । नेपालमा मान्ने चाडहरू अरू धेरै छन् तर दशैँतिहार नै सबैभन्दा ठूला पर्वका रूपमा मानिँदै आएका छन् । यी दुई पर्वको स्वरूप स्वभाव र विशेषता भने एकदम भिन्न छन् । दशैँ तामसी प्रकृति र प्रवृतिको पर्व मानिन्छ तर तिहार भने शुद्ध शाकाहारी पर्वका रूपमा मनाउने गरिन्छ । तिहारमा दशैँमा जस्तो काटमार र हिंसा हुँदैन । मिठाई र रोटीका परिकारको प्रयोग गरिन्छ । तिहारलाई मनोरञ्जनको पर्वका रूपमा हेरिन्छ । फूल र बत्तीको झिलीमिलीले गर्दा सबैतिर रमणीय वातावरण सिर्जना हुन्छ ।
दशैँभन्दा अलिकपछि आउने भएकाले यस पर्वका बेला हिलोमैलो हराइसकको हुन्छ । मनोरञ्जन यसको एउटा पक्ष भयो भने संस्कृतिको पालन र संरक्षण अर्को पक्षका रूपमा छ । देउसी र भैलो खेल्ने परम्पराले गर्दा यो चाड बढी मनोरञ्जक हुनेगरेको छ । चाड मनाउने कारण हुन्छन्, ती पर्व सँगसँगै विभिन्न कथा र किंबदन्ती जोडिएर आएका हुन्छन् । दशैँ र तिहारसँग पनि यस्ता धेरै पुराकथा जोडिएका छन् । ती सबै पर्वमा सहमति र असहमति राख्न पाइन्छ, राख्ने गरिएको पनि छ । सनातन परम्पराको ठूलो विशेषता नै यही हो । आआफ्नो आस्था र विश्वास जोडिन्छ र जोड्न सकिन्छ तर आपूmले आफ्नो आस्थाको पालना गर्दा अर्काको आस्थामाथि चोट पु¥याउनु हुँदैन भन्ने मान्यता रहिआएको छ ।
चाड के कसरी मनाउन थालियो भन्ने बारे एउटै सर्वमान्य तथ्य पाउन सकिँदैन, किनभने यस्ता पर्व त पौराणिक कालदेखि चलिआएका हुन् । बीचमा अनेकौं सहायक कथाहरू जोडिएका हुन सक्छन् । त्यसो भन्दैमा अरूको परम्पराको आलोचना गरे पनि त्यसमाथि नकारात्मक भ्रम पैदा गर्नु नितान्त गलत कार्य हो । दशैँका बारेमा यस्ता केही अनर्गल कुरा हुने गरेको भए पनि तिहारमा त्यस्तो हुनेगरेको पाइएको छैन । भैलो र देउसीले यस पर्वको महिमा बढेको पाइन्छ । यही गरिमालाई साथ लिएर सबै जातजाति र भाषाभाषी एकै सूत्रमा बाँधिन आउने भएकाले सबै धर्माबलम्बी र जातजातिको साझा पर्वमा रूपमा मानिँदैआएको छ ।
मनोरञ्नपूर्ण कार्यमा नेपालका ब्रहृमण-क्षेत्रहरूभन्दा अन्य जातजातिका कलाकारहरूको बढी संलग्नता पाइने गर्छ । गायन, नृत्य, देउसी, भैलो सबैमा सबैको संलग्नता रसहभागिता रहन्छ, यो पर्व यस जातिको हो वा यो धर्माबलम्वीहरूको हो भनेर अर्को धर्मको र जातिको मानिस संलग्न नहुने भन्ने छैन । तिहार पर्व सबैलाई आकर्षित गर्ने स्वरूपको छ । बत्ती, फूल, मिठाई, मिष्ठान्न माइती चेलीहरूको मिलन पुनर्मिलनले सबैलाई प्रभावित पारिरहेका हुन्छन् । नेपालीमात्र होइन अन्य देशका मानिसले समेत यसलाई उत्सुकता, चासो र अनुसन्धानका गहन दृष्टिले हेर्ने गरेका छन् । यो पर्वमा विभिन्न कथा जोडिएर आउनेगरेका छन् ।
धर्मराज यमराजले पाँच दिन विश्राम लिएर आफ्नी बहिनी यमुनाको घरमा गएर पञ्चक मनाएको प्रसंग जोडिने गरेको छ । तिहारमा काग, कुकुर, गाई, लक्ष्मी, गोरु, हली र दाजुभाइको पूजा हुनेगर्छ । राजा बलिसँग पनि यसको सन्दर्भ जोडिने कथा छन् भने विष्णु भगवान्ले पाँचौं अवतारका रूपमा बामन अवतार लिनुभएको थियो । बलिको अतिदानशीलताकाले भगवान्ले बामन रूप धारण गरी तीन पाउ जमिन माग्नुभएको थियो । बलिले दिन्छु भनेपछि भगवान्ले स्वर्ग, मत्र्यमा दुई पाउ राख्नुभयो । एक पाउ राख्ने ठाउँ नपाएपछि बलिलाई उनकी पत्नीले अब शिर देऊ भनिन् । देउ शिरै भन्दाभन्दै कालान्तरमा देउसी रे भन्ने गरिएको हो भन्ने कथा यस पर्वसँग जोडिन्छ ।
यस्ता कथा अरू धेरै छन् । कसैकसैले त देउश्री राम भनेको भगवान् रामकै सन्दर्भ हो भन्ने गरेका छन् । जे जस्ता कथाप्रसंग जोडिन आए पनि कसैको आस्थामाथि तिहारले चोट पुर्याउने गरेको छैन । तिहार मान्यताले नेपालमा दशैँभन्दा दोस्रो चाड भन्ने गरिएको भए तापनि सहभागिता र उमंगका आधारमा भने प्रथम स्थानमा पर्नसक्ने पर्व हो । नेपालीहरूलाई एकताको सूत्रमा जोड्न यस पर्वको अहम् भूमिका रहँदैआएको छ । नेपाली राष्ट्रिय दैनिक हिमालय टाइम्स र इप्रेसन पब्लिकेसनका तर्फबाट आउँदै गरेको नेपाल संवत् छठ, म्हःपूजा, ल्होसार, माघी सम्पूर्ण पर्वको शुभकामना हामी हाम्रा सम्पूर्ण पाठक, विज्ञापनदाता, शुभचिन्तक, लेखक स्तम्भकार, पत्रकार, प्रशासन, लेखा, बजार व्यवस्थापन, प्रेस कर्मचारी, प्राविधिक, सुरक्षा गार्ड, कार्यालय सहयोगी सबैमा प्रदान गर्न चाहन्छौं, हार्दिक शुभकामना ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts