काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला टी-२० प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले तान्जानियासँग खेल्ने भएको छ । यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा नेपालले तान्जानियासँग यही कात्तिक २९ गते खेल्नेछ ।
प्रतियोगितामा हङकङसहित नेपाल, तान्जानिया र जापानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले आफ्नो दोस्रो खेल कात्तिक ३० गते हङकङसँग खेल्नेछ भने तेस्रो खेल मंसिर २ गते जापानसँग खेल्नेछ । त्यस्तै तेस्रो स्थान र फाइनल खेल मंसिर ३ गते हुनेछ ।
नेपाली टोलीको बन्द प्रशिक्षणमा कप्तान रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगीता राई, ज्योति पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अस्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी हुनुहुन्छ ।
नेपालले बागमती प्रदेशबाट घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेकी तीव्र गतिकी युवा बलर सोनी पाख्रिनलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपालका दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले त्यसअघि हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टी-२० सिरिज पनि खेल्नुहुनेछ । दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ ।
यस्तै नेपाली महिला क्रिकेट टोलीका दुई स्टार खेलाडी रुविना क्षेत्री बेलबासे र सीता रानामगर हङकङतर्फ प्रस्थान गर्नुभएको छ । हङकङ क्रिकेट बोर्डले आयोजना गर्ने डिएलए पिपेर वुमन्स अल स्टार्स टी-२० सिरिज खेल्न त्यसतर्फ जानुभएको हो ।
हङकङका स्टार खेलाडीले खेल्ने उक्त सिरिजमा रुविना र सीता दुई फरक टोलीबाट खेल्नुहुनेछ । रुविनाले बौहिनिया स्टार्स र सीताले जेड जेट्सबाट खेल्नुहुनेछ । यस सिरिजमा नेपालका दुई र जापानकी शिजुका मियाजी गरी तीन विदेशी खेलाडीमात्रै हुनुहुन्छ । अन्य सबै हङकङका खेलाडी रहनुभएको छ ।
दुई टोलीबीच तीन महिला टी-२० आई सिरिज हुनेछ । खेल शुक्रबारदेखि आइतबारसम्म हुनेछ । उक्त सिरिजपछि यी दुई खेलाडी हङकङमा नेपाली टोलीसँग जोडिनेछन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements