पाल्पा । पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भिक्षुहरुलाई कठिन चीवर दान गरिएको छ । दाता ज्ञानमाला संघ आनन्द विहारले विहारमा वर्षाबासमा बसेका ३ जना भिक्षुसहित विभिन्न देशका ३२ जना भिक्षुहरुलाई कठिन दान गरेको हो ।
बौद्ध परम्पराअनुसार विहारले तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी दान दिइएको छ । भिक्षुहरुलाई चीवर दान, अष्टपरिकार दान, धर्म सँगदान गरिएको हो ।
महोत्सवमा प्रमुख भिक्षु अशोक महास्थवीरले धर्मदेशना, भिक्षु मेघनकर महास्थवीरले शील प्रार्थना, अन्तर्राष्ट्रिय परियत्ती उदय विहारका प्रमुख भिक्षु ज्ञानेन्द्र स्थवीरले बुद्धपूजा र अछाम विहारका प्रो. भन्ते पैयासारले पूण्य अनुमोदन गर्नुभएको थियो । धर्मदेशना गर्दै भिक्षु अशोक महास्थवीरले गौतम बुद्धको उपदेश र उहाँले अनुमति दिएको ‘कठिन चीवर दान’का विषयमा जानकारी गराउनुभएको थियो । उहाँले कठिन उत्सव धार्मिक उत्सव भएकाले यसमा सहभागी हुँदा भिक्षुमा शिल समाधि र प्रज्ञाको विकास हुने र नागरिकमा दान, शिल र भावनाको विकास हुने बताउनुभयो । महास्थवीरले एक वर्षमा एक दिन एकपटक मात्रै वर्षबासमा बसेका भिक्षुलाई लगाउने बस्त्रसहितका सामग्री दिन सकिने परम्परा भएकाले यसलाई कठिन दान भनिएको जानकारी गराउनुभयो ।
कार्यक्रमका संयोजक तथा आनन्द विहारका पूर्व अध्यक्ष सर्जुलाल बज्राचार्यले तीन महिना एकै ठाउँमा नियमपूर्वक वर्षाबास बसेका भिक्षुलाई बसमापनको अवसरमा ‘कठिन चीवर दान’ दिने बौद्ध परम्परा रहेकाले सोही अनुसार चीवर दान गरिएको बताउनुभयो ।
उहाँले विगतमा पनि आफुुहरुले यस्ता कार्यक्रम गर्ने गरेको बताउनुभयो । विहारका अध्यक्ष उत्पल कुमार बज्राचार्यले वर्षावास बस्नाले बौद्ध धर्मको मेरुदण्ड विनय कर्म पालन गर्दा नजानेर भए-गरेका त्रुटि कमजोरीबाट पाप नलागि क्षमादान पाउने हुँदा भिक्षु-भिक्षुणी वर्षाबास बस्ने गरेको बताउनुभयो । उहाँका अनुसार साउनको पूर्णिमादेखि कार्तिकको पूर्णिमासम्म ३ महिना भिक्षुहरु वर्षाबास बस्नुभएको हो ।
भिक्षु पैयासार स्थवीर, भिक्षु सरण र श्रामणेर महिन्द आनन्द विहारमा वर्षाबास बस्नुभएको थियो । उहाँहरुसहित विभिन्न देशका ३२ जना भिक्षुलाई दान गरिएको थियो । लुम्बिनी, बुटवल, पोखरा, धरान, थाइल्याण्ड, भारत, अछामबाट भिक्षुहरु तानसेन आएका थिए । महोत्सवमा भिक्षुले लगाउने पहेंलोवस्त्र (चिवर) र भिक्षा पात्र दान गरिएको थियो । कसैले अष्टपरिकार दान गरेका थिए । भिक्षुले लगाउने पहेंलो वस्त्र (चिवर) र भिक्षा पात्रलाई चिवर दान भनिन्छ । अष्टपरिकारमा भिक्षुका लागि आवश्यक कपाल र दारी खौरने समान, भित्री बाहिरी कपडा, सियो-धागोलगायत ८ सामग्री हुन्छ । चिवर दानपछि भन्तेलाई भोजन दान गरिएको थियो ।
वर्षावास बस्ने भिक्षुले पुण्य संचय गर्ने जनविश्वास छ । वर्षावासका बेला सॉझ-बिहान ध्यान बस्ने र परित्रान पाठ गर्ने गर्दछन् । त्यस बेला बुद्ध गुन, धर्म गुन, सँग गुन र धर्म देशना गर्दै पूजाआजा गरिन्छ । वर्षावासमा बिहान एक छाक खाना खाने गर्दछन् । सकेसम्म स्थानीय बासिन्दासँग भिक्षा मागेर खाने गर्दछन् । वर्षावास सकिएको एक महिना भित्र कठिन चिवर दान गर्ने प्रचलन रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts