कास्की । गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सञ्चालन भएको नेपालकै सर्वाधिक पुरस्कार राशिको राष्ट्रिय खुला फुटसल प्रतियोगिताको उपाधि काठमाडौंको मेन्टेन एफसीले जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्शीय कभर्डहलमा यही असोज २७ देखि सञ्चालन भएको दोस्रो संस्करणको प्रतियोगिताको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३-० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्पियन बनेको हो । मेन्टेनको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान एक/एक गोल गर्नुभयो ।
उपाधि जितेको मेन्टेन एफसीले नगद पाँच लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता बनेको ढुकु फुटसल हबले नगद तीन लाखसहित शिल्ड, मेडलसहित प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले नगद ५० हजारसहित ट्रफी पाउनुभयो । उत्कृष्ट गोलरक्षकका रूपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रूपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर र उदीयमान खेलाडीका रूपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुँदै जनही नगद २५ हजार र ट्रफी पुरस्कार पाउनुभयो ।
प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवं प्रतिनिधिसभाका सांसद पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, गण्डकी प्रदेशसभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, संस्थाका संस्थापक राजन गुरुङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
गत वर्षको पहिलो संस्करणको प्रतियोगिता खेलेका चार खेलाडीले हाल नेपाली राष्ट्रिय फुटसलको टोलीमा स्थान बनाएका छन् । ‘स्थानीयस्तरमा आफ्नो खेल कौशल प्रदर्शन गर्दै आएका पोखरेली खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाउनु हाम्रा लागि धेरै खुसीको कुरा हो,’ गुरुङले भन्नुभयो, ‘प्रतियोगिता प्रतिभावान तथा उदीयमान खेलाडीलाई प्रेरणाको स्रोत हुने विश्वास लिएका छौँ ।’







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता