काठमाडौं । दोलखाको चरिकोटमा बुबा वीरबहादुर गुरुङ र आमा कृष्णकुमारी गुरुङकी सातौं सन्तानको रूपमा विसं २०१४ मंसिर ७ मा जन्मिनुभएकी अम्बिका गुरुङले पाँच वर्षकै उमेरबाट काठमाडौं आएर प्रारम्भिक शिक्षा शुभारम्भ गर्नुभएको थियो । सानै उमेरदेखि गायन र लेखनमा रुचि राख्ने अम्बिकाको परिवारमा सांगीतिक माहौल थियो । स्कुले जीवनमै फाट्टफुट्ट कविता लेख्न सुरु गर्नुभएकी उहाँको लेखाइ राम्रो लागेर साथीहरूले प्रेमपत्रसमेत लेख्न लगाउने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।
ऋषिराम बरालको सहयोगमा विसं २०३५ सालमा ‘बिडम्बना’ शीर्षकको रचना पहिलो पटक ‘चेतना’ पत्रिकामा प्रकाशन भएपछि गोरखापत्रमा समेत अम्बिकाका रचनाहरू प्रकाशन हुन थाले । क्याम्पस पढने बेला आफ्ना केही साथीहरू गोपाल योञ्जनसँग संगीत सिक्दै गरेको देख्दा अम्बिकालाई पनि संगीत पढ्ने रहर जागेको थियो । घरबाट अनुमति नपाएपछि उहाँको रहर रहरमै सीमित भयो । संगीत पढ्न नपाए पनि आफूले लेखेका कविता रेडियो नेपालको बाकसमा लगेर खसाल्ने गर्न थाल्नुभयो । रेडियो नेपालमा जाने आउने गर्दा उहाँले धेरै पटक गायक उदित नारायणलाई भेट्नुभएको थियो । एक दिन रेडियो नेपालमै कार्यरत द्वारिकालाल जोशीले तिम्रो स्वर राम्रो छ परीक्षा देऊ भनेपछि परीक्षा दिएर पास हुन नसकेको प्रसंग अम्बिका सुनाउनुहुन्छ ।
त्यसैताका उहाँका कविता सँगसँगै गीतिकथा पनि रेडियो नेपालमा प्रसारण हुन थाले । गीतिकथाबाट अलिअलि पैसा पनि आम्दानी हुने भएकाले उहाँको लेखनप्रतिको रुचि झनै बढेर गयो । एसएलसी पास गर्नासाथ परराष्ट्र मन्त्रालयको अतिथि सत्कार विभागमा खरिदारका रूपमा सरकारी जागिरमा प्रवेश गर्नुभएकी अम्बिकाको जागिरे जीवन, लेखनयात्रा र वैवाहिक जीवन सँगसँगै चल्दै थियो । त्यहाँ कार्यरत रहँदा दरबारमा हुने अतिथि सत्कारसम्बन्धी कार्यक्रममा अतिथि सत्कार विभागका कर्मचारी जानुपर्ने हुन्थ्यो ।
विशिष्ट अतिथिहरूलाई मनोरञ्जन प्रदान गर्न गायक-गायिका तथा कलाकार पनि बोलाइने गरिन्थ्यो । उदित नारायण, मीरा राणालगायत गायक गायिकाको प्रत्यक्ष प्रस्तुति हेर्दा उहाँमा गीतसंगीत प्रतिको लगाव झनै बढ्यो । २०३३ सालदेखि २०४६ सालसम्म सरकारी सेवामा कार्यरत अम्बिका त्यसपछि आफ्ना श्रीमान् बुद्धिबहादुर गुरुङको सल्लाह र योजनामा ‘अम्बिका ट्राभल’ नामक ट्राभल कम्पनी खोलेर व्यापारमा लाग्नुभयो । अम्बिका ट्राभल्सले त्यतिबेला देशका विभिन्न स्थानमा रात्रि बसहरू सञ्चालनमा ल्याएको थियो ।
भावसागर नाममा पाँचौं संस्करणसम्म गीति एल्बम बजारमा ल्याउनुभएकी अम्बिकाका लगभग सात सयको संख्यामा गीतका अडियो र सो मध्येकै दुई सय जति गीतका भिडियो बजारमा आइसकेका छन् । यो एक दशकभित्र संख्यात्मक हिसाबले सबैभन्दा धरै गीत रेकर्ड गराउने गीतकारमा उहाँ पर्नुहुन्छ ।
२०५० सालमा परिवारसहित अमेरिका पुग्नुभएकी अम्बिकाको लगभग १५ वर्ष जति लेखन कार्य ठप्प नै भयो । अक्कल झुक्कल लेखेका रचनाहरू कपीमै सीमित थिए । जब फेसबुकमा नयाँ–नयाँ कविका कविता देखिन थाले उहाँलाई आफ्ना रचनाहरू पोष्ट गर्ने लत बस्यो । उहाँले फेसबुकमा राखेका कवितालाई नाताले भदिनी पर्ने दिप्ती प्रतिभा गरुङ (जो जगदम्बा प्रेसमा काम गर्नुहुन्थ्यो)ले निकै चासोका साथ हेर्नेमात्र होइन कविता संकलन गरेर राखिदिने गर्न थाल्नुभयो । दिप्तीले नै सन् २०१५ मै अम्बिका नेपाल आएका बेला कविता संग्रह प्रकाशन गर्न सल्लाह दिनुभयो । लगभग दुई महिनासम्मको दुईजनाको कसरतमा ‘भावसागर’ कविता संग्रह प्रकाशन भयो । भावसागरको नाम जुराउने पण्डित पनि दिप्ती नै हुनुहुन्थ्यो । सन् २०१६ मा उहाँको भावसागर कविता संग्रह-२ पनि प्रकाशनमा आयो ।
दुईवटा कविता संग्र्रह प्रकाशन गर्ने बेलासम्म गीतीशैलीमा कविता लेख्ने अम्बिकालाई गीत यसरी नै लेख्नुपर्छ भन्ने पूर्ण ज्ञान भने थिएन । सानैदेखि गीत सुन्ने भएर होला उहाँले लेखेका कविता नै गीतजस्ता हुँदा रहेछन् । कविता संग्र्रह भनेर प्रकाशन गरिएको पुस्तकबाट संगीतकार प्रकाश लेप्चाले पाँचवटा रचना छान्नुभयो र गीतका रूपमा रेकर्डिङ गराउनुभयो । भावसागर भाग–१ नामाकरण दिइएको उक्त एल्बममा ‘थाहा त थियो, मैले फूल भनेर’सहित पाँचवटा गीत छन् । त्यसपछि उहाँले गीतका बारेमा चासोपूर्वक अध्ययन गर्न थाल्नुभयो र लगातार लेख्न थाल्नुभयो । भावसागरकै नाममा पाचौं संस्करणसम्म गीति एल्बम बजारमा ल्याउनुभएकी अम्बिकाका लगभग सात सयको संख्यामा गीतका अडियो र सो मध्येकै दुईसय जति गीतका भिडियो बजारमा आइसकेका छन् । यो एक दशकभित्र संख्यात्मक हिसाबले सबैभन्दा धरै गीत रेकर्ड गराउने गीतकारमा अम्बिका पर्नुहुन्छ । हालसम्म उहाँको गीतसंगीतमा मात्र लगभग सात करोड जति खर्च भइसकेको उहाँ बताउनुहुन्छ । उहाँले अमेरिकामै नेपाली गीतसंगीत र कलाको उत्थानका हेतु भावसागर इन्टरटेन्मेण्ट एल.एल.सी.नामको कम्पनी दर्ता गरेर सोहीमार्फत काम गर्दै आउनुभएको छ ।
अम्बिकाले पहिलो पटक संगीतकार प्रकाश लेप्चासँग सहकार्य गर्नुभएको थियो । उहाँले हालसम्म वसन्त सापकोटा, हरि लम्साल, अर्जुन पोख्रेल, दीपक शर्मा, न्हृयु बज्रचार्य, शंकर थापा ‘स्माइल’, सरोज पोखरेल, कल्याण सिंह, राजन खतिवडा, सुवास भुसाललगायतलाई आफ्ना गीतहरूमा संगीत भर्न दिनुभएको छ । यसरी नै अञ्जु पन्त, सत्यस्वरूप, रामकृष्ण ढकाल, राजेशपायल राई, दीपक लिम्बू, सुमन केसी, मिलन नेवार, मेलिना राई गायक किरण भुजेल, कृष्ण काफ्ले, निशान भट्टराई, वीरेन्द्र श्रेष्ठलगायत दर्जनौं गायक गायिकाले उहाँका गीतमा स्वर दिनुभएको छ । पछिल्लो समयमा गायक सुमन केसी र निर्देशक सम्पादक निशान बाबु घिमिरेको मार्ग निर्देशमा काम गर्दा आफ्ना काम व्यवस्थित भएको अनुभव अम्बिका सुनाउनुहुन्छ ।
अनिशा क्षेत्री (युएसए), सुरेश दर्पण पोखरेल (युएसए), निशान बाबु घिमिरे, सान थापा, अर्जुन अधिकारी, समन अधिकारीसहित दर्जन भन्दा बढि म्युजिक भिडियो निर्देशकसँग सहकार्य गर्नुभएकी अम्बिकाले नेपाली गीतसंगीत क्षेत्रको खर्चको ठूलो हिस्सालाई आफ्नो भागमा लिँदै आउनुभएको छ । ‘धेरै संगीतकर्मी, निर्देशक तथा प्राविधिकलाई काम र कामअनुसारको दाम दिन पाउँदा मलाई आत्मसन्तुष्टि मिल्छ’, उहाँ भन्नुहुनछ ।
पहिला रहरले धेरै घरानिया बर्गहरू गीतसंगीत क्षेत्रमा आएका भए तापनि लामो समयसम्म टिक्न नसकेको अवस्थामा लगातार आर्थिक प्रतिफलको आशा नराखी लगानी गरिरहने व्यक्ति हुनुहुन्छ अम्बिका गुरुङ । उहाँका ‘कति माया, हृयाप्पी बर्थ डे, जूनजस्तो शीतल, नजिक आए हुन्छ, मखमली चोलीमा रेशमी सारी’लगायत गीत चर्चामा छन् । धेरैजसो प्रेमील गीत लेख्ने अम्बिकाले राष्ट्रिय भाव र सन्देशमूलक गीत पनि लेख्नुभएको छ ।
उहाँ दुःखी गरिबहरूका नाममा दुई/चार हजार चन्दा दिएर समाजसेवी कहलिनुभन्दा काम गर्न सक्ने वातावरण दिलाउन सक्नुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ट्रष्टी मेम्बरसमेत रहनुभएकी उहाँ अमेरिका र नेपालका थुप्रै सामाजिक संघसंस्थामा संरक्षकका रूपमा रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts