काठमाडौं । संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रगती महराको प्रमुख आतिथ्यता, वरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’लगायतले संयुक्त रूपमा गीत सार्वजनिक गर्नुभएको थियो ।
शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा संगीतकार स्वयं र अञ्जु पन्तको स्वर तथा प्रहृलाद शाहको शब्द छ । माधव शर्माले निर्देशन गरेको गीतको भिडियोमा लाइन र लालना चिमरियाको अभिनय, नवराज उप्रेतिको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी छ ।
कार्यक्रममा अतिथिहरूले संगीतकार एवं गायक थापालाई नयाँ गीतका लागि बधाई तथा शुभकामना दिएका थिए । थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समीक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताउनुभएको थियो ।
कार्यक्रमका सभापति राइट ट्युनका कार्यकारी निर्देशक शाहीले आफूलाई संगीतकार थापाको सिर्जना मन परेकैले आफ्नो कम्पनीले लगानी गरेको बताउनुभयो
कार्यक्रममा संगीत गुरु श्रीकेसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक सांस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एसोसिएसनका महासचिव निशुकान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटालगायतको उपस्थिति थियो ।






