एशियाली खेलकुद ‘भव्य र स्मरणीय’ बनाउने आयोजकको तयारी कस्तो छ ?

Read Time = 6 mins

काठमाडौं । हान्झाउ ओलिम्पिक स्पोर्ट्स सेन्टरमा शनिवार चिनियाँ राष्ट्रपति सी जिन्पिङले उद्घाटन गरेसँगै चीनको पूर्वी सहर हान्झाउमा एशियाली खेलकुदको १९ औँ संस्करणको विधिवत् आरम्भ भएको छ।

कोरोनाभाइरस महामारीका कारण एक वर्ष धकेलिएको एशियाली खेलकुद आयोजनाको लागि हान्झाउ झकिझकाउ बनेको छ। आजभन्दा १३ वर्ष अगाडि सुरु भएको एशियाड अभियान पूर्ण हुनु अगाडि कोरोना भाइरस महामारीका कारण हान्झाउले एक वर्ष समय कुर्नुपरेको थियो।

हान्झाउ एशियाडलाई अहिलेसम्मकै ‘भव्य र स्मरणीय’ बनाउने दाबी आयोजकको छ। हान्झाउ एशियाली खेलकुद उद्घाटन समारोहका प्रमुख निर्देशक शा चाउलनले भनेका छन्, ‘हामी आधुनिक प्रविधिको प्रयोग गरेर हान्झाउको पहाडी सुन्दरता र नदीहरूलाई सिधै मञ्चमा उतार्नेछौँ। यो एशियाली खेलकुद लामो समयसम्म सबैको लागि स्मरणीय हुनेछ।’

जजियाङ प्रान्तका ११ सहरहरूको सङ्गीत, कला, ओपेरा र प्रकाशको सङ्गम उद्घाटन समारोहमा झल्किने उनले बताए। आयोजकले उद्घाटन टर्च बालिने शैली गोप्य राखेका छन्, जुन अत्यन्त रोमाञ्चक हुने आयोजकको दाबी छ। त्यसलाई हेर्ने प्रतीक्षा हान्झाउबासीमा मात्र सीमित नभएर एशिया र विश्वलाई नै थियो

चिनियाँ अनुभव

यस अघि सन् १९९० मा बेइजिङ र २०१० मा ग्वान्झाउमा एशियाली खेलकुदको आयोजना गरिसकेको चीनले ती दुवै संस्करणलाई स्मरणीय बनाएको थियो।

उद्घाटन समारोहमा हुने प्रविधिको प्रयोगले नै विश्वको ध्यानाकर्षण गर्न आयोजक सफल हुँदै आएको देखिन्छ। हुन पनि हान्झाउ एशियाडले विगतका कैयौँ कीर्तिमानहरूलाई पछि पारिसकेको छ।

यो एशियाली खेलकुदमा ४५ राष्ट्रबाट १२ हजार खेलाडीको सहभागिता रहनेछ। जबकि अर्को वर्ष पेरिस ओलिम्पिकमा खेलाडी सङ्ख्या १० हजार ५०० को हाराहारीमा मात्र हुनेछ। केही खेलहरू एसियाडमा यस्ता छन्, जुन ओलिम्पिक्समा पनि छैनन्। क्रिकेट त्यसमध्येको एक हो।

ADVERTISEMENT

क्रिकेट सन् २०२८ को लस एन्जल्स ओलिम्पिकमा राखिने क्रममा छ भने २०३२ को ब्रिसबेनमा पनि क्रिकेट समावेश हुने सम्भावना छ। जम्मा ४० खेलको ४८२ इभेन्ट्सहरुमा पुराना खेलहरू त छन् नै, यो संस्करणमा चाइनिज चेसदेखि लिएर आधुनिक इस्पोर्ट्ससम्म सामेल गरिएको छ।

त्यसैले यो एशियाली खेलकुदमा विश्व स्तरका चर्चित एशियाली खेलाडीहरूको सहभागिता र केही विश्व कीर्तिमानहरू बन्न सक्ने अनुमान गरिएको छ। इन्डोनेसियामा भएको यसअघिको एशियाडमा आयोजक चीनले झन्डै ३०० पदक लिएर गएको थियो। आफ्नै देशमा हुँदा चीनका ८८६ खेलाडीको सहभागिता छ। शीर्ष स्थानको नजरसँगै चीनले विश्व खेलकुदमा आफ्नो शक्ति प्रदर्शनको अर्को नमुना पेस गर्ने रणनीति अख्तियार गरेको देखिन्छ।

नेपालको सहभागिता

एशियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि हान्झाउ पुगेका छन् । एशियाली खेलकुदमा नेपालबाट २५३ खेलाडीहरूले सहभागिता जनाएका छन्। सन् १९५१ को पहिलो एशियाली खेलकुदबाट सहभागिता जनाउन थालेको नेपालबाट यो अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता हो।

नेपालले सहभागिता जनाएका २९ खेलहरूमा ७ खेलमा नेपालले पहिलो पटक भाग लिँदैछ। जुन खेलहरू रग्बी, डान्स स्पोर्ट्स, इ स्पोर्ट्स, महिला फुटबल, महिला भलिबल, महिला ह्यान्डबल र महिला कबड्डी हो। एशियाडमा नेपाल कमजोर राष्ट्र मध्येमा चिनिन्छ। गत एशियाडमा नेपाल र सिरियाले एउटा मात्र पदक जितेका थिए। बाँकी नौ देश पदक विहीन भएका थिए। यति लामो सहभागितामा सन् १९८६ पछि पदक जित्न थालेको नेपालले ७२ वर्ष लामो इतिहासमा दुई रजत सहित जम्मा २४ पदक मात्र जित्न सकेको छ।

नेपालको पदक जित्न सक्ने नसक्ने ढुकढुकी यो संस्करणमा पनि विगतमा जस्तै कायम छ। एशियाली खेलकुदका लागि सरकारले कुल २१ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ। यो वर्ष खेलबाडीहरूले तयारीका लागि चार महिना बढीको समय पाएका थिए।

जसमध्ये, बक्सिङ, गल्फ, कराँते, कबड्डी, कुस्ती, रग्बी, टेनिस, पौडी, तेक्वान्दो, टेबल टेनिसका खेलाडीहरूले वैदेशिक प्रशिक्षण लिने मौका पनि पाएका थिए। जसमध्ये कुनै न कुनै खेलबाट पदक जित्ने आशा नेपालका खेल अधिकारीहरूले गरेका छन्।बीबीसी नेपालीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *