काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार एक विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष र एक अमिनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार उदयपुरको श्री आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष पूर्णबहादुर क्यापछाकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उदयपुरगढी गाउँपालिका-७ मा रहेको विद्यालयको रकम हिनामिना गरेको अभियोगमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
विद्यालयको आयस्रोत वृद्धिका लागि लगानी गर्ने भनी तत्कालीन प्रधानाध्यापकबाट भरपाईसमेत गरी रकम हिनामिना गरेको आयोगमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा उनले आफ्नै अध्यक्षतामा व्यवस्थापन समितिको बैठक राखी निर्णय गराएर विद्यालयको खातामा रहेको एक लाख ९० हजार रुपैयाँ लिएको खुलेको प्रवक्ता दाहाललले बताउनुभयो । हिनामिना भएको रकम असुलउपर र कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
नापी कार्यालय लहानमा कार्यरत अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
यस्तै अख्तियारले सिरहाको नापी कार्यालय, लहानमा कार्यरत अमिन दीपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत भदौ ६ गते १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका यादवविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
अख्तियारका अनुसार यादवले जग्गाधनी पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए । आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो ।
१० हजार रुपैयाँ बिगो कायम गरी सोही बराबरको जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता