विदेश छोडेर गाउँमै कागती खेती : वार्षिक लाखौँ आम्दानी

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । पछिल्लो समय दिनप्रति दिन युवा विदेशी थालेपछि गाउँ सुनसान बन्दै छन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा बनमारा पलाउन थालेका छन् । गाउँमा भएका बालबालका पढ्नका लागि बजार झरि रहेका छन् । अहिले धेरैको रोजाई विदेश र शहर बजार पर्न थालेको छ । तर बागलुङको निसीखोला गाउँपालिका-५ कारिगाउँका धर्मराज पोखरेल भने गाउँमा कृषि कर्मबाटै मनग्य आमदानी गर्न राख्नु भएको छ । पोखरेल पनि १२ वर्ष अगाडिसम्म विदेशमै हुनुहुन्थ्यो ।

२५ वर्ष भारत र दुई वर्ष कतारमा पसिना बगाउनु भएका पोखरेल अहिले विहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीमै काम गर्नुहुन्छ । उहाँको बारीमा लटरम्म फलेका कागती, सुन्तला, टिमुर देखिन्छन् । उहाँका बारीमा अहिले ३०० बोट कागती, झण्डै एक सय सुन्तला र २५ बोट टिमुर छन् । सबै फलेर लटरम्म परेका छन् । १० वर्षदेखि व्यवसायिक कृषि कर्ममा लाग्नु भएका पोखरेलको मुख्य उत्पादन कागती हो । बोटबाटै एक सय रुपैयाँमा विक्री हुने कागतीको माग बढि रहेको छ । माग बढे पनि पोखरेलले उत्पादन गरेका कागती स्थानीय बजारमा मात्रै नभएर बुटवलसम्म पुग्छन् ।

यस वर्ष पोखरेलले १३ लाख बढीको कागती, सुन्तला र टिमुर बेच्नु भयो । वर्षमा बारीमै काम गरेर लाखौँ आम्दानी गर्न सकिने हुँदा विदेश कोही पनि युवा विदेश जानु नपर्ने उहाँ बताउनुहुन्छ । उहाँले कागतीसँगै यसबाट बनेको काँचो तथा पकाएको चुकसमेत बजारमा पठाउने गरेको बताउनुभयो । कागती खेतीमा कृषकको राम्रो भविष्य रहेको उहाँ बताउँनुहुन्छ । कागती बहुउपयोगी हुने हुँदा धेरै ठाउँबाट माग आउने गरेको पोखरेलको भनाइ छ । अब गाउँमा भएका बाँझो जमिनमा कागती लगाउने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो - “हाम्रो ठाउँमा कागती राम्रो उत्पादन हुन्छ, मैले छोटो समयमै धेरै कागती उत्पादन गर्न सक्ने भए, अहिले बारी भरी कागती लगाएको छ, जाडो र गर्मी दुई याममा यसको प्रयोग गर्न सकिने हुँदा माग धेरै आयो, पहिले माग धेरै आएपछि उत्पादन बढाउन तर्फ लागे अहिले भने अनुसारको बजार पाउन सकेको छैन, मैले उत्पादन गरेको सबै कागतीले बजार पाउँने हो भने वर्षमा लाखौँ रुपैयाँ यहीँ कमाउन सकिन्छ ।”

पोखरेल जस्तै बागलुङमा थुप्रै कृषक कागती खेती तर्फ आकर्षित भएका छन् । एक दशक अगाडिसम्म बागलुङमा व्यावसायिक रुपमा कागती खेती गरेको पाइँदैनथ्यो तर अहिले धेरै ठाउँमा कागती खेतीमा कृषकको आकर्षण बढेको पाइन्छ । निसीखोला, बडिगाड, गलकोट, बरेङ, काठेखोलालगायत अधिकांश पालिकामा कागती खेती गर्नेको संख्या बढेको छ । पाँच वर्ष पहिले बागलुङका बजारमा भारतबाट आयातित कागती पाइन्थ्यो तर अहिले स्थानीय स्तरमै उत्पादन भएका कागती बजारमा आउने गरेको छ । ३/४ वर्षमै फल दिने कागती कृषकले लगाउन थालेपछि भारतबाट आउने कागतीको माग घटेको स्थानीय व्यापारी बताउँछन् ।

ADVERTISEMENT

निसीखोला-४ झिम्पाका रेमबहादुर क्षेत्रीले पनि १८ वर्ष कतारमा बिताउनु भयो । लामो समय विदेशमा बिताउँदा नपाएको खुसी अहिले आफ्नै बारीमा काम गरेर पाउनु भएको छ । क्षेत्रीले पनि कागती खेतीबाट मनग्य आम्दानी गर्न थाल्नु भएको छ । उहाँको बारीमा हाल ४०० सय बो कागती छन् । त्यस मध्ये २०० बोटले फल दिएका छन् । कागतीसँगै एबोकाडो, टिमुर पनि लगाउनु भएको छ । सात वर्षदेखि व्यवसायीक रुपमा कागती खेती थाल्नुभएका क्षेत्रीले यस वर्ष चार लाख रुपैयाँको कागती विक्री गरेको बताउनुहुन्छ ।

“विदेशमा धेरै दुःख गरियो, सुख मिलेन, अहिले परिवारसँगै विहान बेलुका आफ्नै बारीमा काम गर्छु, फलफूलसँगै रमाउछु, आम्दानी पनि राम्रो हुँदै गएको छ, पहिले बाध्यताले विदेश गएँ, पैसा आफ्नै बारीमा कमाउन सकिने रैछ” क्षेत्रीले भन्नुभयो - “अहिले राम्रो हुँदै गएको छ, सात वर्षदेखि लगानी गर्दै आएको छु, अहिले प्रतिफल पनि प्राप्त गर्न थालेको छु, परिवार राम्रोसँग चलेको छ, विदेशमा गर्ने दुःख आफ्नै बारीमा गर्ने हो भने धेरै कमाउन सकिन्छ ।

समुद्री सतहबाट एक हजार ५०० मिटरसम्म कागती खेतीको राम्रो सम्भावना देखिन्छ । कागती स्वास्थ्यका लागि समेत निकै लाभदायक मानिन्छ । यसबाट भिटामिन ‘सी’ प्राप्त हुन्छ । कागतीको चुक अमिलो उत्पादन, अमिलो अचारलगायत विभिन्न परिकार बनाउन पनि कागती उपयोग गर्ने गरिन्छ । बागलुङमा ४० हेक्टर क्षेत्रफलमा कागती खेती गरिदै आएको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ हेक्टरमा उत्पादन हुँदै आएको उहाँको भनाइ छ । जिल्लाभर ३०० मेट्रिकटन कागती उत्पादन हुने पुनले बताउनुभयो । पछिल्लो समय कागती खेतीको उत्पादन हुने क्षेत्रफल बढ्दो क्रममा रहेको उहाँ बताउनुहुन्छ । ज्ञान केन्द्रले पनि कृषकलाई विरुवा वितरण गर्ने, कागती खेती सम्बन्धी तालिम तथा परामर्शसमेत दिँदै आएको पुनको भनाइ छ ।

उहाँले भन्नुभयो - “बागलुङमा कागती खेतीको क्षेत्र विस्तार व्यापक रुपमा भइरहेको छ, उत्पादन पनि हरके वर्ष बढेको पाएका छौँ, बजारका लागि खास्सै गुनासो आएको छैन, कतिपय किसानले गाउँ नजिकैको बजारमा विक्री गर्नु हुन्छ भने कतिले ठूला-ठूला सहरसम्म पुर्‍याउने गर्नु भएको छ, कागती खेती गर्दा किसानलाई आइ परेका समस्या समाधानका लागि हामीहरु लागि रहेका छौँ, अहिले कागती खेतीमा कुनै पनि समस्या छैन, समस्या आउँदा बित्तिकै कृषकलाई खबर गर्न भनेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *