किसानलाई ड्रागन फ्रुटको माग थेगी नसक्नु

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन शुरु भएपछि माग भने थेगि नसक्नु छ । बहुगुणी फलफूलको रुपमा रहेको ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको बागलुङ नगरपालिका-१ रामरेखाका विमलेश आचार्यले पहिलो चरणमा ड्रागन फ्रुट उत्पादन भइसकेको बताउनुहुन्छ । आचार्यको बगैचाबाट उत्पादन भएको १५० केजी ड्रागन फ्रुट विक्रीसमेत भइसकेको बताउनुभयो । रातो रङ्गको ड्रागन फ्रुटको व्यावसायिक खेती गर्नुभएको आचार्यले एक वर्षमै उत्पादन दिन थालेपछि आफु दंग परेको बताउनुहुन्छ ।

आचार्य जिल्लामै ठूलो क्षेत्रफलमा ड्रागन फ्रुटको खेति गर्ने पहिलो कृषक हुनुहुन्छ । “६ रोपनी जग्गामा गरेको ड्रागन फ्रुट खेतिबाट अहिले उत्पादन शुरु भइरहेको छ, पहिलो चरणमा १५० केजी ड्रागन फ्रुट विक्रि भइसकेको छ, दोस्रो चरणमा धेरै उत्पादन हुन्छ, माग अत्याधिक भएकाले फर्मबाटै ड्रागन फ्रुट विक्रि भइरहेको छ” आचार्यले भन्नुभयो “ पूर्वमन्त्री लोकेन्द्र विष्टलगायत सफल ड्रागन व्यवसायीको प्रेरणाबाट मैले ड्रागन फ्रुट खेती एक वर्ष अघि देखि थालेको थिए, आफ्नै ६ रोपनी जग्गामा ड्रागन फ्रुटका बिरुवा लगाएको थिए, दुई हजार १०० ड्रागन फ्रुटका बिरुवा लगाएकोमा सबै विरुवा राम्रो संग हुर्किएर फल लाग्न थालेपछि हर्षित भएको छु, सबै बिरुवा मोरङ जिल्लाबाट ल्याएको थिए ।”
आचार्यका अनुसार उहाँले उत्पादन थाल्नुभएको ड्रागन फ्रुट सि भेराइटी मध्येको रातो जातको रहेको हो । अहिले आचार्यले प्रति केजी रु. ५०० का दरले ड्रागन फ्रुट बिक्रि गरिरहेको बताउनुभयो । आचार्यले बागलुङ नगरपालिका-१ रामरेखा स्थित आचार्य टोलमा दुई रोपनी र रामरेखाकै माझी बस्तीमा चार रोपनी गरी दुई स्थानमा छ रोपनी जग्गामा ड्रागन फ्रुटखेती गर्दै आउनुभएको छ ।

पछिल्लो समय निकै राम्रो मूल्य र बजार माग भएको फलफूल ड्रागन फ्रुटको विस्तारै बागलुङमा व्यावसायिक उत्पादन गर्नका लागि खेती थालिएको हो । ड्रागन फ्रुटको महत्व थाहा पाएपछि पूर्वमन्त्री लोकेन्द्र विष्ट लगायतले गरेको खेती हेरेर आफूले बागलुङमा यसको सम्भावना देखेर ड्रागन फ्रुटको खेती विस्तार गरेको अचार्यले बताउनुभयो ।

उहाँले ड्रागन फ्रुटको खेतीका लागि कृषि ज्ञान केन्द्र बागलुङले प्राविधिक संगै मल्चिङ प्लाष्टिक र थोपा सिंचाईका लागि सहयोग भइरहेको बताउनुभयो । निर्माण व्यवसायी रहनुभएका आचार्यले ड्रागन फ्रुट खेती विस्तारका लागि रु. ५० लाख लगानी गर्नुभएको छ । उहाँले प्रति विरुवा रु.४०० मा खरिद गरेर लगाइएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

ड्रागन फ्रुट खेतीका लागि सिमेन्टको पोल र टायर समेत अनिवार्य हुन्छ । उहाँले ६०० सिमेन्टका पोल र टायरमा दुई हजार १०० विरुवा लगाउनुभएको थियो । जग्गा व्यवस्थापन, तारबार, टायर, बिरुवा र पोललगायत लागि रु. ५० लाखभन्दा बढी लगानी गरिसकेको र आगमी दिनमा लगानी बढाउने योजना रहेको उहाँको भनाई छ । आचार्यले १४ थरी फलबाट आउने पोषण तत्व ड्रागन फ्रुटबाट मात्रै पाइने भएकाले यसको बजारका लागि कुनै समस्या नदेखेपछि आफूले यसतर्फ लगानी बढाउदै लगिएको बताउनुभयो ।

ड्रागन फ्रुटको व्यावसायिक खेतीमा सुरुमा धेरै लगानी गरेपनि पछि राम्रो कमाइ हुने गरेको छ । आचार्यले ड्रागन फ्रुट रोपेको १८ महिना भित्रै ड्रागन फ्रुट उत्पादन भइसक्ने अनुमान गरेकोमा एक वर्ष भित्रै फल लागेपछि खुसी भएको बताउनुभयो । आचार्यले ड्रागन फ्रुटका लागि पोल र सुरक्षाका लागि गरिने तारबारका कारण सुरुआती लगानी नै धेरै भएपनि त्यसपछि खर्च घटेर आम्दानी बढ्दै जानेछ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बागलुङमा पहिलो पटक ड्रागन फल उत्पादन भएको बताउनुभयो ।

“उहाँले आफ्नै लगानीमा फर्म स्थापना गर्नुभएको हो, तर पछि हाम्रो प्राविधिक सहयोग संगै मल्चिङ प्लाष्टिक र सिचाईका लागि सहयोग गरिएको छ” भट्टराईले भन्नुभयो “उच्च व्यावसायिकता भएको ड्रागन फलको बजार निकै राम्रो छ ।”

दक्षिण पूर्वी एशियाका देश भियतनाम फिलिपिन्स थाइल्याडलगायतको देश हुँदै अहिले यो फल नेपालमा भित्रिएको छ । ड्रागन फल गर्मी र सुख्खा हावापानीमा हुने सिउडी प्रजातिको फलफूल हो । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइन्छ । यो फलमा क्यान्सर प्रतिरोधात्मक गुण रहेको छ । जस्तोसुकै माटोमा खेती गर्न सकिने यस फललार्ई गमला, छत तथा करेशामा पनि लगाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?