सिड्नी । स्पेन पहिलोपल्ट फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ । उपाधि दाबेदार स्वीडेनलाई दुई-एकले पराजित गर्दै स्पेन उपाधि नजिक पुगेको हो ।
दुई सिजनअघि सातौँ संस्करणमा समूह चरणबाट बाहिरिएको स्पेन गत संस्करणमा प्रि-क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, यसपटक स्पेनले तेस्रो सहभागितामै फाइनलमा स्थान बनायो ।
स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गर्दा स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो । ८१औँ मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई एक-शून्यको अग्रता दिलाउनुभयो । जेनिफर हर्माेसोको प्रहारलाई नाभारो र एन्डरसनले ब्लक गरे पनि बाउन्स भएको बललाई साल्माले गोल पोस्टमा प्रवेश गराउनुभएको थियो ।
८८औँ मिनेटमा रेविकाले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याउनुभयो । उहाँले लिना हुर्टिगको पासमा गोल गर्नुभएको हो । त्यसको एक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दै स्पेनलाई दुई-एकको जित दिलाउनुभयो ।
अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्याण्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यी दुई टोलीबीचको सेमिफाइनल बुधबार हुनेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता