कतिपय मानिसहरू अपराधलाई नै पेशा बनाएर जीवन निर्वाह गरिरहेका हुन्छन् । अपराध गर्नेहरू जीविकाका लागि मात्र नभएर उच्च जीवनशैलीका लागि समेत अपराधमा संलग्न हुने गरेका अनेकौं घटना बेला-बेलामा पाइने गरेका छन् । यस्ता घटनाका अनेक स्वरूप हुन्छन् । अपराधलाई पेशा बनाएका यस्ता व्यक्तिले अपराध गरेर पैसा कमाउने अनेकौं नयाँ-नयाँ बाटा खोजिरहेका हुन्छन् । यस्तै पेसेबर अपराधीले मानिसलाई बन्धक बनाएर तिनका परिवारबाट फिरौती लिने र मुक्त गर्ने गरेको घटनामा संलग्न पक्राउ परेको पछिल्लो घटना सार्वजनिक भएको छ । यसबाट अपराधीले जस्तो अवस्थामा पनि अपराध गरिरहेकै हुन्छन् भन्ने देखिएको छ । अपराध कानुनविपरीतको कार्य हो । कानुनविपरीत गरिएको काम भएका कारणले त्यस्ता घटनालाई अपराध भनिएको हो ।
कानुनले गरेको अपराधको परिभाषा पनि त्यही हो । कानुनले नगर्नू भनेको काम गर्नू र गर्नू भनेको काम नगर्नु अपराध हो । अधिकांश अपराध कानुनले नगर्नू भनेका घटना सतहमा देखापर्ने गरेका छन् । कानुनले चोरी–डकैती नगर्नू, हत्या हिंसा नगर्र्नू कुटपिट लुटपाट नगर्नू भन्छ, ज्यान नमार्नू भन्छ । कानुनले दिएका त्यस्ता निर्देशन नमान्नु वा त्यसविपरीत काम गर्नु नै अपराध हो । कानुनले आपतविपत परेकालाई सहयोग गर्नू, हारगुहारको याचना गरिरहेकालाई बचाउनू भन्छ । अन्धअपांगबाहेक सोह्र वर्षमाथिका र साठी वर्षमुनिका मानिसहरूले यस्तो अवस्थामा सहयोग नगरेको घटना पनि अपराध मानिन्छ । त्यसकारण नागरिकले अपराधमा परिभाषित हुने अवस्थाबाट आपूmलाई सधैं जोगाउने गर्नुपर्छ ।
मानिसको अपहरण, जिउ बन्धक बनाउने, मानिसको बेचविखन गर्ने, मानिसका अंगको तस्करी गर्ने लगायत अनेकौं कार्य अपराध नै हुन् । समाज र राज्यविरुद्धका अनेकौं अपराध हुने गर्छन् । ठूला पाँच प्रकारका अपराधलाई प्राचीन समयमा पञ्चखत भन्ने गरिन्थ्यो । पञ्चखत माफी राजाले मात्र गर्नसक्ने व्यवस्था थियो । कठोर दण्ड नीति थियो तर त्यस्तो बेलामा पनि अपराध हुने गर्थे । यसको मतलब के हो भने अपराधीले अपराध गर्दा कानुनलाई सम्झेको हुँदैन । आफ्नो अपराध लुकाउन सक्छु भन्ने उसलाई लागेको हुन्छ । प्राचीन बेलायतमा कठोर दण्डनीति रहेका बेला सामान्य अपराध गर्नेलाई समेत मृत्युदण्ड दिने गरिन्थ्यो । पाकेटमारालाई समेत सार्वजनिक ठाउँमा लगेर झुण्ड्याइन्थ्यो । त्यहाँ त्यस्तो दण्ड दिएको हेर्नेहरूको भीड लागेको हुन्थ्यो तर त्यही भीडमा फेरि पाकेटमारीका घटना हुन्थे ।
यसबाट मानवीय प्रवृत्ति थाहा हुन्छ । अपराधीले अपराध लुकाउन सक्छु भनेर अपराध गर्छ तर अन्ततः त्यस्ता अपराध लुक्दैनन्, सार्वजनिक बन्छन्, अपराधी समातिन्छ । बंगलादेशी नागरिकहरूलाई बन्धक बनाएर फिरौती असुल्नेहरू पनि यही मनोभावनाले अपराध गरिरहेका व्यक्तिहरू हुन् । आफूले गरिरहेको त्यस्तो कार्य अपराध हो भन्ने कुरा उनीहरूलाई थाहा थिएन भन्ने होइन । आफूले अपराध गरिरहेको छु भन्ने थाहा भएर पनि छोटो समयमा धेरै कमाउने र रातारात धनी हुने मनोविज्ञानबाट ग्रसित मानसिकताले तिनीहरू यस्ता कार्यमा संलग्न भएका हुन् । उक्त कार्यमा संलग्न हुनेहरू एकथरी बंगलादेशीहरू छन् भने अर्को थरी नेपालीहरू छन् । स्त्री-पुरुष दुवैथरी मानिस त्यसमा संलग्न छन् भने नेपालीहरू र बंगलादेशीहरू फरक-फरक धर्मावलम्बी हुन् ।
उमेर समूह हेर्ने हो भने एक्काईस वर्षदेखि पचास वर्षसम्मका मानिस सो अपराधमा संलग्न छन् । यसबाट अपराधको कुनै सीमा हुँदैन, जात, धर्म र लिंग हुँदैन भन्ने देखिन आउँछ, अपराध कानुनविरुद्धको कार्य हो । यस्ता कार्य प्राचीनदेखि आधुनिक जुनसुकै समयमा पनि भएका र भइरहेका छन् । तिनलाई नियन्त्रण गर्ने राज्यले हो, कानुनले हो । अपराध नियन्त्रणका लागि राज्यको कानुन सबल हुनु त जरुरी छ, साथै कानुनको कडाइका साथ कार्यान्वयन गर्नु सबैभन्दा जरुरी हुन आउँछ । जस्तालाई तस्तै भनेर कठोर दण्डनीति अपनाएको प्राचीन कालमा समेत अपराध भइरहन्थे । हालको अवस्था त्यस्तै हो तर हाल अनुहार हेरेर सजाय गर्ने परिपाटीले गर्दा आपराधिक घटनाले प्रोत्साहन पाइरहेका छन् ।
त्यसो हुनु हुँदैन र कानुनले काखा र पाखा नगरी सजाय गर्नुपर्छ । यसतर्फ राज्य चनाखो हुनुपर्छ । त्यसो भएको खण्डमा मानिसको कानुनप्रति आस्था र भरोसा पनि रहन्छ । राज्यविरुद्धका संगठित अपराध कम हुन पनि सक्छन् । नेपालीहरूसँग मिलेर आफ्नै देशका नागरिकलाई बन्धक बनाएर फिरौती लिने बंगलादेशी र विदेशीसँग मिलेर आफ्नै देशमा बसेर अपराध गर्ने नेपाली तीनको जात, धर्म, आस्था, नागरिकता, लिंग फरक छ तर आपराधिक मानसिकतामा समानता छ, आपराधिक सोच वा विचार एउटै छ । त्यसैले तिललाई कानुनमा व्यवस्था भएबमोजिम कठोर सजाय दिनु आवश्यक छ । सजायबाट उन्मुक्ति दिनु हुँदैन र सजायका लागि विभेद गरिनु हुँदैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता