काठमाडौं । किंग्स कप पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र जिएम समाजले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले नेपाल गणतान्त्रिक महासंघलाई ३-० को सोझो सेटले पराजित गर्यो ।
पुलिसले महासंघलाई २५-१४, २५-१३ र २५-२० ले पराजित गरेको थियो । दोस्रो खेलमा खोटाङ नेशनल युवा संघलाई पराजित गरी जिएम समाजले सुखद सुरुवात गर्यो । जिएम समाजले २५-२०, २०–२५, २५-१८ र २५-२३ सेटमा जित हात पार्यो ।
यस्तै, अर्को खेलमा आयोजक किंग्स क्लब काठमाडौंलाई पराजित गरी गण्डकी प्रदेशले विजयी सुरुवात गर्यो । किंग्स क्लबलाई गण्डकीले ३-० को सोझो सेटमा पराजित गरेको थियो । गण्डकीले २५-१७, २५-१६ र २५-२३ को सेटमा जित हात पार्यो ।
प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई समूह ‘ए’ र ‘बी’ मा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक किंग्स क्लबसहित खोटाङ नेशनल युवा संघ, गण्डकी प्रदेश र जिएम समाज रहेका छन् । यस्तै, समूह ‘बी’ मा विभागीय टोलीहरू नेपाल पुलिस र नेपाल एपिएफ क्लब तथा कोशी प्रदेश र नेपाल गणतान्त्रिक महासंघ रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछन् ।
नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको अनुमानित बजेट १७ लाख रहेको छ । आयोजक क्लबका महासचिव लक्ष्मण काप्रीका अनुसार पुरस्कारतर्फ मात्र चार लाख रकम खर्च हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख दुई हजार नगद प्राप्त गर्दा दोस्रो हुनेले एक लाख एक हजार नगद प्राप्त गर्नेछ । तेस्रो हुनेले नगद ५० हजार पाँच सय र सान्त्वनाले २२ हजार दुई सय प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीले आठ हजार नगद पुरस्कार पाउनेछ । हरेक विधाका उत्कृष्ट खेलाडीले जनही तीन हजार नगद पुरस्कार पाउनेछन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता