कविता : दुखेकै छौं जता पनि

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

✍️ पदम दाहाल

निचोर्दैछ यहाँ कोही बिथोल्दैछ कतै यहाँ
नजानिँदो गरी भित्रै चिथोर्दैछ कि क्वै यहाँ ? ।१।

उचाल्दैछ कसैलाई थेचार्दै पनि गर्छ ऊ
भासैभास बनाएर भेट्ता खाडल भर्छ ऊ ।२।

बिसञ्चोपन ऐयामा खुसी भै ऊ खुसाउँछ
रमाएको बुझेदेखि रीसले मुर्मुराउँछ ।३।

दाह्रा किट्तछ हाँसे म रोए खुस्बु मनाउँछ
भीक्षा माग्न पुगेदेखिन् हाइसञ्चो जनाउँछ ।४।

उपाय जुक्ति ख्याएर छिर्के लाउन आउँछ
नपाए निहुँ नै केही तालाचाबी लगाउँछ ।५।

ADVERTISEMENT

हेपाहा मतिको जैल्यै पिराहा पिर दिन्छ ऊ
चुलीमै छु बसेको म खुट्टा तान्छ खनिन्छ ऊ ।६।

पिरोलो विषको भाँडो खै कस्लाई सुनाउनू ?
सहँदै वीरको छोरो कतिन्जेल निदाउनू ? ।७।

बाँकी छैन कतै राप मुर्दाशान्ति छ गाउँ यो
पसेको छ यहाँ खाप गर्मी जर्जर ठाउँ भो ।८।

उठेनन् किन मान्छेका जुनी दिन बिते पनि ?
फिरेनन् दिन शान्तिका दुखेकै छौं जता पनि ? ।९।

लोकन्थली, भक्तपुर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *