‘चुपचाप मन पराएँ’ लोकार्पण

गीतकार अन्यायमा पर्ने गरेका छन् : श्रेष्ठ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । गीतकार प्रमोद भट्टराई ‘प्रतीक’द्वारा रचना गरिएका आधुनिक गीतहरूको एल्वम ‘चुपचाप मन पराएँ’ लोकार्पण गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना एक विशेष समारोहबीच उक्त एल्बम लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा.नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी, गीतकार प्रतीकलगायतले संयुक्त रूपमा उक्त संग्रह लोकार्पण गर्नुभएको थियो ।

‘चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सातवटा गीतहरू समावेश गरिएको छ । एल्बममा समावेश गीतहरूमा राजेशपायल राई, प्रमोद खरेल, शिव परियार, प्रवीण बेडुवाल, निशान भट्टराई, मेलिना राई, रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाहरूको स्वर छ ।

यी गीतहरूमा संगीतकार कीर्ति न्यौपाने (दीवाकर शर्मा) द्वारा संगीतबद्ध छवटा गीतहरू समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको संगीत निर्देशन छ ।

एल्बममा समावेश गीतहरूलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा विनोद भुजेलको संगीत संयोजन छ । यी गीतहरू प्रज्ञा स्टुडियो (रेकर्डिष्ट शम्भु तण्डुकार) तथा फाइन ट्युन (रेकर्डिष्ट पुष्कर खत्री) मा रेकर्ड गरिएका हुन् ।

एल्बममा समावेश गीतका भिडियो पनि तयार पारिएका छन् । ती भिडियोलाई नवल नेपाल, कृष्णदेव रूपाखेती, हेमप्रभास अधिकारी, विनोद वम, ओमप्रकाश अवस्थीले निर्देशन गर्नुभएको छ । समारोहमा एल्बममा समावेश सातवटै गीतका भडियोका अंशहरू प्रदर्शन गरिएको थियो ।

एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको भिडियोमा मदनकृष्ण आफैंले अभिनय गर्नुभएको छ भने कृष्णदेव रूपाखेतीले यसलाई निर्देशन गर्नुभएको छ । यस्तै, संग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’ मा प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश अवस्थीले निर्देशन गर्नुभएको छ । रोहित बस्नेत र एञ्जेला बानियाँलाई यो गीतको भिडियोमा फिचरिङ गरिएको छ ।

ADVERTISEMENT

‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको संगीत छ । विनोद वमले यसको भिडियो निर्देशन गर्नुभएको छ । ‘समयले जुरायो’ गीतमा शिव परिवारको स्वर र सरोज कोइरालाको संगीत छ । यो गीतको भिडियोमा नवल नेपालको निर्देशन छ । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको संगीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।

विमोचन समारोहमा गीतकार प्रतीकलाई शुभकामना दिँदै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई पनि विगतमा गीत रचनामा निकै रहर लाग्ने गरेको सुनाउनुभयो । आफैंले रचना गरेर गाएको ‘अबौं मान्छेको भिडमा’ गीत श्रोताको मनमा बस्न अर्थात लोकप्रिय हुन ३२ वर्ष लागेको स्मरण गर्दै अहिले सांगीतिक क्षेत्रमा सबैभन्दा अन्यायमा पर्ने पक्ष नै गीतकार भएको बताउनुभयो ।

साहित्यकार डा.नवराज लम्सालले गीतकार प्रतीकद्वारा रचना गरिएका गीतहरूको प्रशंसा गर्दै यी गीतहरू कालजयी बन्न सम्भावना बोकेको धारणा व्यक्त गर्नुभयोे । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले नेपाली गीतका सबै गीतकार एकजुट भएर नेपाली सांगीतिक क्षेत्रलाई उचाइमा पुर्‍याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । गीतकार संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटाले गीतकारहरूलाई प्रोत्साहनको खाँचो रहेको औंल्याउनुभयो ।

निर्देशक कृष्णदेव रूपाखेतीले नेपाली सांगीतिक क्षेत्रमा गीतकार नै सबैभन्दा बढी मारमा परेकाले आफूलगायत सम्पूर्ण सर्जकले गीतकारलाई प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गीतकार प्रतीकले आफूले धेरै अघिदेखि नै डायरीमा मुक्तक, गीत, कविता रचना गर्दै थन्क्यार राखिरहेको भए पनि अब भने ती गीतहरू आम दर्शक तथा श्रोतामाझ आउन बाटो खुलेको जानकारी गराउनुभयो । उहाँले आफूले रचना गरेका गीतहरूको पहिलो संग्रह ‘चुपचाप मन पराएँ’ मा प्रेमका विभिन्न आयामका बारेमा वर्णन गरिएका गीतहरू समावेश गरिएको जिकिर गर्नुभयो ।

लोकार्पण समारोहको उत्तराद्र्धमा गीतकार प्रतीकलाई निर्देशक रूपाखेतीको केडि फिल्मस्ले सरप्राइज दिँदै जन्मदिनको केट काट्ने वातावरण तयार पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *