मायमी । लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा इन्टर मायमीले एटलान्टा युनाइटेडलाई पराजित गर्दै लिग्स कप २०२३ को नकआउट चरणमा स्थान बनाएको छ । मायमीले एटलान्टालाई ४-० को जित हात पारेको हो । मायमीको जितमा पहिलोपटक सुरुवाती रोजाइमा खेलेका फरवार्ड मेस्सीले २ गोल र १ असिस्ट प्रदान गर्नुभयोे । उहाँले पहिलो हाफमै २ गोल गर्नुभयो ।
खेलको आठौँ मिनेटमा मेस्सीले गोल गर्दै मायमीलाई अग्रता दिलाउनुभएको थियो । सर्जियो बुस्केट्सको पासमा मेस्सीले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । लगत्तै रिबाउन्डमा मेस्सीले गोल गर्नुभएको थियो । त्यसपछि पनि मेस्सी रोकिनुभएन । २२औँ मिनेटमा मेस्सीले अग्रता दोब्बर पार्नुभयो । रोबर्ट टेलरको लो क्रसलाई मेस्सीले गोलमा परिणत गर्नुभयो ।
४४औँ मिनेटमा टेलरले मायमीको अग्रता ३-० ले अघि बढाउनुभयो । मेस्सीको पासमा टेलरले भलीमार्फत् गोल गर्नुभएको थियो । ५४औँ मिनेटमा मेस्सीको पासमा टेलरले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्नुभयो । ८४औँ मिनेटमा एटलान्टाका थियागो अल्माडाले पेनाल्टीमार्फत् गोल गर्न सक्नुभएन ।
यस जितसँगै मायमी समूह विजेताका रूपमा लिग्स कपको राउण्ड अफ ३२ मा प्रवेश गरेको छ । मायमीको २ खेलमा ६ अंक छ । अब समूहको अन्तिम खेलमा क्रुज अजुल र एटलान्टा युनाइटेडले उपविजेता बन्दै अर्को चरण पुग्न प्रयास गर्नेछन् । अमेरिकी र क्यानडाका टोलीले खेल्ने मेजर लिग सकर र मेक्सिकोको लिगा एमएक्सको ४७ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेका छन् । एक महिना चल्ने यस प्रतियोगिताको फाइनल अगस्ट १९ मा हुनेछ । एजेन्सी ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता