पर्थ । महिला विश्वकपमा अमेरिका र इंग्ल्याण्डले विजयी सुरुवात गरेका छन् । तर, समूह ‘डी’को खेलमा इंग्ल्याण्डले हाइटीलाई एक-शून्यले हरायो । खेलको २९औँ मिनेटमा जर्जिया स्टानवेले पेनाल्टीमार्फत् निर्णायक गोल गर्नुभएको थियो । यो जितपछि इंग्ल्याण्डले आफ्नो समूहमा सुरुवाती अग्रता लिएको छ । इंग्ल्याण्डले समूह ‘डी’मा तीन अंक जोडेको छ ।
यस्तै, अमेरिकाका सोफिया स्मिथले दुई गोल गरेसँगै एक असिस्ट मद्दतमा भियतनाममाथि तीन-शून्यको जितसहित विजयी सुरुवात गर्यो । अमेरिका लागि लिन्डसे होरानले एक गोल थप्नुभयो ।
खेलको १४औँ मिनेटमा सोफियाको गोलबाट अमेरिकाले अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा सोफियाले दोस्रो गोल गर्नुभयो । ७७औँ मिनेटमा लिन्डसे होरानले गोल गर्दै अमेरिकालाई तीन-शून्यको जित दिलाउनुभयो । यस जितसँगै समूह ‘ई’ मा अमेरिकाले एक खेलबाट तीन अंक बटुलेको छ । पराजित भियतनाम अंकविहीन छ ।
एसियाली राष्ट्र जापानले जाम्बियामाथि पाँच-शून्यको सानदार जित हात पार्यो । जापानको फराकिलो जितमा हिनाता मियाजावाले दुई तथा मिना तानाका, जुन इन्डो र रिको युकीले समान एक गोल गर्नुभयो । यस जितले जापानले एक खेलबाट तीन अंक बटुल्दै शीर्षस्थानमा उक्लिएको छ । समान तीन अंक नै रहे पनि स्पेन गोल अन्तरमा पछि छ । जाम्बिया अंकविहीन हुँदै पुछारमा छ ।
अन्य खेलमा डेनमार्कले चीनलाई एक-शून्यले हरायो । एमिली भाङ्सगार्डले हेडबाट डेनमार्कका लागि निर्णायक गोल गर्नुभयो । यो जितपछि समूह ‘डी’ मा डेनमार्क इंग्ल्याण्डसँगै संयुक्त रूपमा शीर्षस्थानमा रहे । एजेन्सी ।






