बंगलादेशविरुद्धको सिरिज नेपाललाई

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपालले बंगलादेशविरुद्धको दुई खेलको अन्तर्राष्ट्रिय महिला फुटबल सिरिजको उपाधि जितेको छ । दोस्रो खेलमा आइतबार बंगलादेशलाई टाइब्रेकरमा हराउँदै नेपालले सिरिज जितेको हो ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रेकरमा नेपाल चार-दुईले विजयी भयो । यसअघि पहिलो खेल एक-एकको बराबरीमा सकिएको थियो ।

दोस्रो मैत्रीपूर्ण खेलको निर्धारित ९० मिनेट समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा नेपाली गोलरक्षक अञ्जना रानामगरले दुई पेनाल्टी प्रहार जोगाउनुभएपछि खेल नेपालको पक्षमा रहृयो ।

अञ्जना ९०औँ मिनेटमा नियमित गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बापो सुब्बाको स्थानमा वैकल्पिक गोलरक्षकका रूपमा मैदान प्रवेश गर्नुभएको थियो ।

टाइब्रेकरका सुरुवाती दुई प्रहारमा नेपालका लागि सावित्रा भण्डारी र हिरा भुजेलले गोल गर्नुभयो । बंगलादेशका सम्सुन्नाहारले पहिलो प्रहारलाई गोलमा परिणत गर्नुभयो । तर, नेपाली गोलरक्षक अञ्जना राना मगरले शेउली अजीमको दोस्रो प्रहारलाई विफल पार्नुभयो ।

नेपालका लागि अञ्जना राना मगरको तेस्रो प्रहार पोस्टमा लागेर गोल भएन । लगत्तै उहाँले मारिया मान्डाको प्रहारलाई विफल पार्नुभयो । दिपा शाहीले नेपालका लागि चौथो प्रहारमा गोल गर्दा बंगलादेशका लागि मोनिका चक्माले पनि चौथो प्रहारमा गोल गर्नुभयो । यस्तै, अनिता केसीले पाँचाँै प्रहारमा गोल गर्दै नेपालको जित पक्का गर्नुभएको हो ।

ADVERTISEMENT

नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा एक-एकको बराबरी गरेका थिए । गत भदौमा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग तीन-एकले पराजित भएको थियो ।

प्रशिक्षक अनन्तराज थापाले पछिल्लो खेलबाट तीन परिवर्तन गर्दै सुरुवाती ११ घोषणा गर्नुभएको थियो । पहिलो खेलमा सुरुवाती ११ मा स्थान बनाएका रेनुका नगरकोटे, प्रीति राई र अमिसा कार्कीलाई यस खेलमा विश्राम दिइएको थियो ।

उहाँहरूको स्थानमा फरवार्ड रश्मीकुमारी घिसिङ र अनिता बस्नेत तथा मिडफिल्डमा अनिता केसीले सुरुवाती रोजाइमा स्थान बनाउनुभएको थियो ।

नेपालले एसियाली खेलकुदको तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो । यसअघि भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशले एक-एकको बराबरी खेलेका थिए ।

मैत्रीपूर्ण खेल खेल्ने नेपाली महिला फुटबल टोलीको गोलकिपरमा एञ्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, डिफेण्डरमा अमृता जैसी, गीता राना, हिराकुमारी भुजेल, पुजना राना, विमला विके, निशा थोकर, समीक्षा घिमिरे, अञ्जली वाइवा हुनुहुन्थ्यो ।

यस्तै, मिडफिल्डरमा रेनुका नगरकोटे, सरु लिम्बू, विमला चौधरी, अनिता बस्नेत, प्रीति राई र दीपा शाही, फरवार्डमा सावित्रा भण्डारी, अनिता केसी, सविता राना मगर, रश्मीकुमारी घिसिङ, अमिषा कार्की, रेखा पौडेल हुनुहुन्छ । यस्तै, प्रशिक्षकमा अनन्तराज थापा (मुख्य प्रशिक्षक), पारस चौधरी (सहायक प्रशिक्षक), सुरजकुमार लामा (गोलकिपर प्रशिक्षक) हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?