११औं संस्करणको नेपाल अफ्रिका फिल्म फेष्टिबल सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 8 mins

काठमाडौं । ११औं संस्करणको नेपाल अफ्रिका फिल्म फेष्टिबल सम्पन्न भएको छ । फेष्टिबलमा दिनेश राउतको चलचित्र प्रकाश उत्कृष्ट भएको छ । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्कृप्टको अवार्ड, प्रकाश चलचित्रकै मान्छे मान्छे गीतबाट एलिस कार्कीले उत्कृष्ट संगीतकारको अवार्ड हातपार्न सफल भएका छन् ।

काठमाडौंको नाचघरमा प्रदर्शन भएका चलचित्रबाट विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गरिएको हो । कार्यक्रममा सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र प्रेमगञ्जबाट तेज गिरीले र सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चलचित्र भाग्यबाट अभिनेत्री निता ढुंगानाले प्राप्त गर्नुभयो । गीति चलचित्र भाग्यले जुरी अवार्ड पायो भने भाग्यबाटै रोशनकुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड, भाग्यबाटै अभिनेता यसराज (सुरज) गराचले अभिनेता तर्फको जुरी अवार्ड र सुनिल कटुवालले सहअभिनेताको अवार्ड जित्न सफल हुनुभयोे । सर्वोत्कृष्ट सह अभिनेत्रीको अवार्ड चलचित्र परिवारबाट बसुन्धरा भुसालले हाँसिल गर्नुभयो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा अग्रज संगीतकार शम्भुजीत बाँस्कोटाको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा वेष्ट सिनेमाटोग्राफरको अवार्ड फिल्म हुक्काबाट कृष्णबहादुर थापाले, वेष्ट एडिटरको अवार्ड फिल्म परिवर्तन (द चेञ्ज) बाट वीरन्द्र भाट विपिनले हाँसिल गर्नुभयो ।

यस्तै वेष्ट सर्ट फिल्मको अवार्ड प्रद्युम्न मिश्र निर्देशित फिल्म दुविधाले र बेस्ट डक्युमेन्ट्रीको अवार्ड रोशनी केसी निर्देशित बृत्तचित्र डेडिकेसन (समर्पण)ले र वेष्ट स्टुडेन्ट फिल्मको अवार्ड नेपाल फिल्म क्याम्पसका सामलकुमार बज्राचार्यले फिल्म ‘हावाम्यान’बाट जित्नुभयो ।

राष्ट्रियतर्फको निर्णायकमा अग्रज चलचित्र निर्देशक सत्यराज चौलागाईं, गायकद्वय नमराज ढुंगाना, नारायण थापा, अग्रज एरेञ्जर अमोस तामाङ र ध्वानि सम्पादक मनोज परियार हुनुहुन्थ्यो ।

अन्तर्राष्ट्रियतर्फ घानाको सर्ट फिल्म ‘या’बाट निर्देशक इसी हृयामोहले जुरी अवार्ड जित्नुभयो । बेस्ट अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्वावेको डक्युमेन्ट्री ‘कलिङ द डेड’ले हाँसिल गर्दा केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म ‘वाटु वाटो’ले वेष्ट अफ्रिकन सर्ट फिल्मको अवार्ड हाँसिल गर्‍यो । लिसिनियो एजेभेदो निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ले सर्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड चुम्यो ।

नायक अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, कान्तिपुरका कपी एडिटर पारस प्रकाश नेपाल, गायिका तथा संगीतविज्ञ झुमा लिम्बू र अभिनेता/गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा अन्तर्राष्ट्रिय अफ्रिकन फिल्मको निर्णायकमा हुनुहुन्थ्यो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशु कान्त झा, अन्तर्राष्ट्रिय मेकअप आर्टिष्ट सुष्मा पौडेल (गीता) र संगीतकार सरोज कोइरालालाई सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशनको आयोजना तथा चलचित्र विकास बोर्ड र लिक्षण क्रियसन प्रालिको सहआयोजनामा सम्पन्न यो समारोहमा अन्तर्राष्ट्रिय तर्फ ११ का दशवटा अफ्रिकन फिल्म र राष्ट्रियतर्फ नेपालका १२ वटा गरी कुल २२ वटा फिल्म प्रदर्शन गरिएको थियो ।

महोत्सवमा वीरेन्द्र हमालले माईम एक्टसम्बन्धी एक दिवसीय अभिनय प्रशिक्षण विभिन्न १८ जनालाई दिनुभयो । यस्तै महोत्सवको दोस्रो दिन नेपाली सर्ट फिल्मको अन्तर्राष्ट्रिय बजार विषयमा भएको अन्तक्रियामा चलचित्र विकास बोर्ड सदस्य राजु केसी, यो महोत्सवका कोअर्डिनेटर चिरञ्जीवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुसान्त श्रेष्ठ वक्ता हुनुहुन्थ्यो । अन्तक्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गर्नुभएको थियो ।

समारोहमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा अग्रज संगीतकार शम्भुजित बाँस्कोटाले यस्तो अन्तर्राष्ट्रिय महोत्सवलाई सरकारले विशेष सहयोग गर्नुपर्ने बताउनुभयो ।

यस्तै नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले एउटा फरक अन्तर्राष्ट्रिय फिल्म महोत्सवका रूपमा नेपाल अफ्रिका फिल्म फेष्टिबल स्थापित भएको जिकिर गर्नुभयो ।

आयोजक संस्था कलेज अफ जर्नालिज्मकी प्रिन्सिपल एवं फेष्टिबल डिरेक्टर डा.मञ्जु मिश्रले अफ्रिकाले आफूहरूलाई वेवस्ता गर्दा पनि नेपालमा महोत्सव गर्दै आएको बताउनुभयाे । निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोशी प्रदेशकी सांसद मीना श्रेष्ठलगायतले नेपालमा बसेर सिने प्रेमीलाई अफ्रिकन फिल्मको स्वाद यो महोत्सवले दिँदै आएको बताउनुभयो ।

महोत्सवका म्यानेजर डब्बु क्षत्रीले आर्थिक अभावका कारण पनि आफूहरूले यो महोत्सवलाई आफ्नै खर्चमा यहाँसम्म ल्याउन सकेको बताउनुभयो । महोत्सवबाट अफ्रिका महाद्वीप र बारिहका सिनेकर्मीले अफ्रिकामाथि बनेका उत्कृष्ट फिल्मलाई देखाउने गरेको क्षत्रीले जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?