काठमाडौं । मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जित्न सफल हुनुभएकी विभा बस्नेत राजनीतिमा होमिनुभएको छ । गत महिनामात्र सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जित्नुभएकी उहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा प्रवेश गर्नुभएको हो ।
उहाँलाई आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममार्फत नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । विभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्दै उहाँले आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बिग फ्यान’ भएकाले राजनीतिमार्फत सामाजिक काम गर्न एमाले प्रवेश गरेको जिकिर गर्नुभयो ।
थाइल्याण्डमा सम्पन्न मिसेस हेरिटेज इन्टरनेशनलको प्रतियोगितामा नेपालको तर्फबाट भाग लिनुभएकी बस्नेत संसारभरका प्रतिस्पर्धीलाई उछिनेर उपाधि जित्न सफल हुनुभएको थियो । यो उपाधि जित्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । प्रतिस्पर्धामा विभाले ४७ देशका प्रतियोगीलाई उछिन्दै उपाधि चुम्नुभएको थियो । सातौं संस्करणको प्रतियोगितामा भारत, थाइल्याण्ड, बेलायत, भियतनाम, फिलिपिन्स, पेरु, सिंगापुर, न्युजिल्याण्ड, मेक्सिको, लाट्भिया, मलेसिया, सर्बियालगायत देशका सहभागी थिए ।
सौन्दर्य प्रतियोगिताका विजेताले राजनीतिमार्फत समाजसेवा रोज्ने गरेको पाइएको छ । यसअघि मिस नेपाल वल्र्ड २०२४ आश्माकुमारी केसीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले १ असोजमा केन्द्रीय सदस्यमा छनोट गरेको थियो ।






