काठमाडौं । अर्को हप्ता श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघले घोषणा गरेको टोलीमा अनुभवी खेलाडीद्वय ज्ञानेन्द्र मल्ल र करण केसीलाई विश्राम दिइएको छ भने लामो समयपछि युवा ब्याटर देव खनालले पुनरागमन गर्नुभएको छ ।
रोहित पौडेलको कप्तानीमा घोषणा भएको टोलीमा दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने पनि हुनुहुन्न । दुवैजना क्यानडा टी-२० लिगमा सहभागिता जनाउन जाने भएकाले टोलीमा नहुनुभएको हो । युवा ब्याटर देव खनालले नेपाली क्रिकेट टोलीमा १० महिनापछि टोलीमा पुनरागमन गर्नुभएको हो ।
देव पछिल्लोपटक नेपालको टोलीमा गत वर्ष भदौमा केन्या भ्रमणमा हुनुहुन्थ्यो । गत चैतमा एसिसी प्रिमियर कपका लागि २१ सदस्यीय टोली घोषणा गर्दा देव नेपालको बन्द प्रशिक्षणमा पर्नुभएको थियो । तर, अन्तिम टोलीमा भने स्थान बनाउन सक्नुभएन ।
उहाँको कप्तानीमा नेपालले यसै वर्ष आठ वर्षपछि यू-१९ विश्वकपमा स्थान बनाएको थियो । देवले नेपालबाट १० ओडिआई खेलमा दुई अर्धशतकसहित कुल २५३ रन बनाउनुभएको छ । उहाँले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलबाट सिनियर टोलीमा डेब्यु गर्नुभएको थियो । देवसँगै १६ सदस्यीय टोलीमा सूर्य तामाङ, सन्दीप जोरा र श्याम ढकालले पुनरागमन गर्नुभएको छ ।
नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जिसी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ हुनुहुन्छ ।
प्रतियोगिता १३ जुलाईदेखि २३ जुलाईसम्म श्रीलंकामा हुनेछ । नेपाल समूह ‘बी’मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ‘बी’ मा छन् । त्यस्तै समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । पाँच टेस्ट टोलीपछि भने यू–२३ को टोली आउनेछ । एसिएट टोलीले भने आफ्नो पहिलो रोजाइका खेलाडी पठाउनेछन् ।
नेपालले १४ जुलाईमा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल १७ जुलाईमा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ । यदि शीर्ष दुईमा रहन सके नेपालले २१ जुलाईमा सेमिफाइनल खेल्नेछ । फाइनल २२ जुलाईमा हुनेछ ।
एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै देश हुने भएको छ । इमर्जिङ टिम्स एसिया कपमा पाँच टेस्ट र तीन एसोसिएट टोलीको सहभागिता छ ।
टेस्ट टोलीले आफ्नो यू-२३ वर्षमुनिका खेलाडी पठाउने गर्दछन् । नेपालको समूहमा रहेको भारत र पाकिस्तानले पनि यू-२३ खेलाडी घोषणा गरेका छन् । एसोसिएट टोलीमा भने कुनै पनि खेलाडीले खेल्न पाउने गर्दछन् ।
युएई र ओमानले पनि आफ्नो प्रमुख टोली नपठाएपछि प्रतियोगिताका कुनै पनि खेल ओडिआई मान्यता प्राप्त हुनेछैन । यदि प्रमुख खेलाडी पठाएको भए नेपाल, ओमान र युएईबीचको खेलले ओडिआई मान्यता पाउन सक्ने सम्भावना रहन्थ्यो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts