विश्वविद्यालय खेलकुद माघ दोस्रो सातापछि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम अन्तरविश्वविद्यालय खेलकुद प्रतियोगिता आगामी माघको दोस्रो सातापछि हुने भएको छ । प्रथम अन्तरविश्वविद्यालय खेलकुद प्रतियोगिता वैज्ञानिक र व्यवस्थितरूपमा सञ्चालन गर्न सरोकारवालसँग छलफल गर्न भक्तपुरको सानोठिमीस्थित विश्वविद्यालय अनुदान आयोगको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा विश्वविद्यालयको क्यालेण्डरसँग नजुध्ने गरी प्रतियोगिता माघ महिनामै सम्पन्न गर्ने गरी माघको दोस्रो सातापछि आयोजना गर्ने सहमति भएको हो ।

तत्कालका लागि प्रतियोगितामा एथलेटिक्स, भलिबल, बास्केटबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गर्ने, उक्त प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता तथा खेलाडीको प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद्ले देशभरमा रहेका आफ्नो पूर्वाधार सम्बन्धित विश्वविद्यालयलाई प्रयोग गर्न दिनेलगायतका विषयमा पनि सहमति भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको समन्वयमा राखेपले सरोकारवालासँग छलफल अघि बढाएर स्पष्ट खाका तयार गरी विश्वविद्यालय खेलकुदलाई स्थापित गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदसँग सरोकारवालाले खेलकुद वर्षको सुरुवात गर्नुपर्ने धारणा राख्दै खेलकुदलाई चलायमान बनाउन विश्वविद्यालय मुख्य शक्ति भएको बताउनुभयो । राखेप सदस्य-सचिव टंकलाल घिसिङले खेलकुदको वास्तविक विकासका लागि बृहत् राष्ट्रिय खेलकुदमा मात्र भर पर्न नहुने मान्यतालाई आत्मसात् गर्दै परिषद्ले विभिन्न स्तरका प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको बताउनुभयो ।

उहाँले खेलकुद अतिरिक्त क्रियाकलाप नभई अनिवार्य क्रियाकलाप हो भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको बताउँदै सरोकारवाला सबैको साथ र सहयोगले मात्र खेलकुदको विकास सम्भव हुने बताउनुभयो ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले अन्तरक्रियाबाट धेरै कुरा बुझ्ने अवसर पाएको बताउँदै खेलकुद र खेलाडीको महत्व ठूलो भएको बताउनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सह-सचिव इमनारायण श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला र प्रकाशकुमार कुसारी, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, विश्वविद्यालय खेलकुद संघ नेपालका अध्यक्ष प्रदीप जोशी, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, खुला विश्वविद्यालयका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *