रारा साँच्चै स्वर्गकी अप्सरा रानी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 16 mins

✍️ सर्पलाल गिरी

स्वर्गकी अप्सरा होइकी, कठै राराताल ।
प्रकृतिको सुन्दर ठाउँ, कठै मुगामाल ।।
नछुटी नहुँन्या भयो, छुटटुट मायाँजाल ।
राज्यलाई चुनौती दिन्याँ, शान्त राराताल ।।
पटकपटक विभिन्न समयमा रारा ताल घुम्न आएगएको गिन्ती गर्ने हो भने झण्डै दशौं पटक भयो होला । पढ्ने विद्यार्थी उमेरमा धेरै पटक रारा गइयो । रारा तालासँग मेरो धैरै पटक नाता र सम्बन्ध जोडिएको छ । सानो उमेरमा मेरो भिनाजु दत्तनाथ योगी र दिदी पाटकला गिरी मुगुको गमगढी बस्नुहुन्थ्यो । भिना जिविसमा जागिर गर्नुहुँन्थ्यो ।

दिदीभिनाजु भेट्न धेरै पटक रारा हुँदै गमगढी गइयो । जाँदाआउँदा बाटामा रारा ताल पर्ने भएको हुँदा धेरै रमाइलो हुने त्यो रारा तालको सुन्दर प्रकृतिको दृश्य आँखामा मात्र सीमित हुन्थ्यो । त्यस समयमा न क्यामेरा थियो न त ती दृश्य कैद गर्ने मसँग कुनै स्रोतसाधन नै । पछिल्लो पटक रारा घुम्न जाने अवसर मेरो ससुरालीसँग जोडियो । मेरो ससुराली मुगु भएकाले ससुराली भेटघाट गर्न जानेक्रममा मेरो घनिष्ट, अमिट र गहिरो माया रारातालको मनमोहक दृश्य देखेर बस्यो । पहिलो रारासँग हेर्ने नजर र यसपटक रारालाई हेर्ने नजरमा फरक पाएँ ।

पहिला रारा घुम्दाको क्षण र रमाइलोमा मात्र सीमित थियो । यस पटकको रारा घुमघाम सवाल, कर्तव्य र चुनौतीसँग जोडिन पुग्यो । ससुराली भेटघाट गर्न जाने क्रममा यसै असार महिनाको ६ र ७ गते बाजुराको कोल्टीबाट रारा ताल जाने क्रममा दुई दिन रमाउने, रारातालको चारैतिर, वरपरका सबै सुन्दर दृश्य अवलोकन गर्ने, क्यामेरामा कैद गर्ने मौका मिल्यो ।

रारा पुग्दा यस पटक छुटिन मन लागेन : यस पटक रारा पुग्दा दुई दिन बस्ने समय जुट्यो । फर्किँदा मन खिन्न हुँन थाल्यो र राराबाट छुट्टिने मन नलाग्दा लाग्दै फर्किनुपर्ने भयो । भौगोलिक विकटताले नेपालको ठूलो ताल कसरी मुगु अटेको रहेछ भन्ने खुल्दुली धेरैको मनमा कल्पना उब्जिन सक्छ ! स्वाभाविक हो ! किनकि ठूलाठूला डाँडाकाँडा, अनकन्टार भीरपाखा, साँघुरा गल्छी भएको मध्यपहाडी जिल्लामा कसरी रारा अवस्थित छ ? जो कोहीलाई खुल्दुली लाग्नु जायज छ पनि ।

राराको पहिँचान : तालको नाम नै रारा ! रारा नाम नै विशिष्ट रहेछ भन्ने पुष्टि नेपालको सबैभन्दा ठूलो ताल राराले दिएको छ । रारातालको उपनाम ‘महेन्द्र ताल’ पनि हो । २०२० साल चैत महिनामा राजा महेन्द्रले रारा भ्रमण गर्दा राराको विषयमा कवितासमेत लेख्नुभएको थियो । राजा महेन्द्रले रारा भ्रमण गरिसकेपछि राराको उपनाम ‘महेन्द्र ताल’ भन्ने गरियो । रारा अटल छ । स्थिर छ । शान्त पनि छ । कोही कसैलाई असर राराले गरेको छैन । आफ्नो गर्विलो सान, तेजिलो महिमा र आकर्षक ओजले सबैलाई आकर्षित गरेको छ रारा तालले । रारा ताल हेर्ने, अध्ययन, अवलोकन गर्ने र घुमघाम गर्न आन्तरिक र बाहृय पर्यटक भ्रमणका लागि दिनहुँजसो आउने गरेका छन् ।

राजा महेन्द्रले रारा भ्रमण गरिसकेपछि राराको उपनाम ‘महेन्द्र ताल’ भन्ने गरियो । रारा अटल छ, स्थिर र शान्त पनि छ । कोही कसैलाई असर राराले गरेको छैन । आफ्नो गर्विलो सान, तेजिलो महिमा र आकर्षक ओजले सबैलाई आकर्षित गरेको छ रारा तालले ।

तालको चारैतिर हरियाली एकनासको जंगल चराचुरुंगीहरूको चिरबिर आवाज, माछा र हाँसको तालमा पौडाइ, डुंगा र र्‍याफ्टिङ बोर्डबाट ताल परिक्रमा, घोडचडी, रंगीविरंगी सयांै प्रकारका फूल अनि तालको छाल, तालको चारैतिर घुम्ने बाटो, आकाश र बादलुको तालमा पर्ने प्रतिबिम्ब यी सबै दृश्य साँच्चै लोभलाग्दा खालका, सबैलाई मन्त्रमुग्ध पार्ने प्रकृतिप्रदत्त उपहार रारा ताल स्वर्गकी अप्सरा रानीको रूपमा परिचित राराताल मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर-९ मा अवस्थित छ । यो ताल प्राकृतिक रूपमा निर्मित भएको प्रकृतिको अनुपम उपहार जस्तै छ ।

अटल, शान्त अवस्थामा विराजमान राराताल नेपालको सबैभन्दा ठूलो ताल हो । समुद्री सतहबाट २९९० मिटर उचाइमा रहेको छ । यो तालको लम्बाइ ५ किलोमिटर चौडाइ ३ किलो मिटर, वरिपरिको गोलाइ १६ किलो मिटर र गहिराइ १६७ मिटर रहेको छ । १०८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराताल वरिपरि घुम्न करिब ५ घण्टा समय लाग्ने गर्दछ । विश्वमै कहीँ कतै नभएको स्नो ट्राउट (असला) जातको माछा यसै रारातालमा पाइन्छन् । रारा ताल अद्भूत स्वरूपमा छ । छिनछिनमा रंग बदल्नु, वातावरण बदल्नु राराको विशेषता हो ।

ADVERTISEMENT

रारा ताल र राराताल वरिपरिका अन्य प्राकृतिक सम्पदाको संरक्षण गर्नका लागि २०३२ सालमा स्थापना भएको रारा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज हो । यस राष्ट्रिय निकुञ्जभित्र विभिन्न थरिका गुराँस तथा ऋतु अनुसार फुल्ने सयौं प्रजातिका रंगीविरंगी फूलहरू, वनस्पतिहरू रेडपाण्डा, काँडेभ्याकुर, हिमाली कालो भालु, घोरल, मृग, कस्तुरी, रतुवा, हिमचितुवा, डाँफे, कालिज, चिर, गृष्मयाममा साइबेरियाबाट आउने साइबेरियन चरा यहाँ पाइने गर्दछन् ।

बस्ने स्थान र खाने परिकार : रारातालबाट पैदल यात्रामा रारा सामुदायिक रिसोर्ट पुग्न १० मिनेट र मुर्मा गाउँमा स्थानीयद्वारा उत्पादित जौ, गहुँ, कोदो, आलु, फापर, सिमी, सिस्नु स्थानीय अर्गानिक चिया, लोकल चामल, लोकल कुखुरा, स्याउको रक्सी (मार्फा) स्याउको चाना, र महबाट बनेका विभिन्न परिकारको स्वाद लिन पाइन्छ । स्थानीय गाइडद्वारा आन्तरिक तथा बाहृय पर्यटकहरूका लागि रारातालमा घुम्नका लागि साइकल, डुंगा, ¥याफ्टिङ बोर्ड, घोडचडीको व्यवस्था रारा एडभेन्चर प्रालिले गर्दै आएको छ । स्थानीय होटलहरू पनि सञ्चालनमा छन् । स्थानीय होटेल व्यवसायीहरूले पनि रारा ताल घुम्ने आन्तरिक र बाहृय पर्यटकहरूलाई सेवा र सुविधा दिँदै आइरहेका छन् ।

रारामा पुग्नै पर्ने स्थान : रारा पुगेपछि पुग्नै पर्ने महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थानमा मुर्मा टप पनि एक हो । तालको पश्चिमतर्फ मुर्मा टप पुग्न मुर्मा गाउँ हुँदै तालाबाट करिब दुई घण्टाको पैदल यात्रा हिँड्नुपर्दछ । मुर्मा टप पुग्न मुगुको रैथाने परिवेश भएको एकमात्र गाउँ मुर्मा गाउँ भएर जानुपर्दछ । मुर्मा टप समुद्री सतहबाट ३७७० मिटर उचाइमा अवस्थित छ । यहाँबाट रारातालको पूरै मनमोहक दृश्यका साथै बाजुरा, हुम्ला, जुम्ला, मुगु र दार्चुलालगायत विभिन्न जिल्लाका दृश्य अवलोकन गर्न पाइन्छ ।

मुगुको पहिचान राराले बनाएको छ । मुगुका जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र अगुवाहरूले राराको पहिचान, शान र संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग नीतिगत सम्बोधनमा जोड दिन जरुरी छ ।

बाजुरा जिल्लामा अवस्थित बडिमालिका, बुढीनन्दा र खप्तडका केही क्षेत्रका साथै तिब्तको भूभागका दृश्य अवलोकन गर्न सकिन्छ । हुम्ला र बझाङ जिल्लाको बीचमा पर्ने साइपाल हिमाल, दार्चुलामा पर्ने अपी हिमाल, रुकुममा पर्ने सिस्ने हिमाल, जुम्लामा पर्ने कान्जिरोवा हिमाल, मुगु जिल्लामा पर्ने कोइकी हिमाल, चंखेली हिमाल, छायाँनाथ, खेस्मामालिका र ऋणमोक्ष दहका दृश्य देख्न सकिन्छ ।
पहाडको टाकुरामा, बसेकी छन् गंगा ।
रारा घुम्न गयापछि, मन होइजान्छ चंगा ।।
भूस्वर्गको सुन्दर टुक्रा, कठै रारा ताल ।
रारासँग नजर जुध्यो, कठै मायाजाल ।।
रारताल घुम्न सजिलो यात्रा : राराताल घुम्नका लागि सबैभन्दा नजिक हवाईजहाँजबाट आउने पर्यटकका लागि नेपालगञ्जबाट ताल्चा विमानस्थल नजिक पर्दछ । ताल्चाबाट रारा नजिक पर्दछ । दोस्रो नजिक पर्ने बाहृय पर्यटकका लागि बाजुरा हो । नेपालगञ्ज बाजुरा ३५ मिनेटमा हवाईयात्राबाट कोल्टी, धुलाचौर, खत्याड, निगाली, मसाड्ने, करिब पाँच घण्टामा गाडीको यात्रा र करिब २ घण्टाको पैदल दूरीपछि रारा पुग्न सकिन्छ । अन्य गाडीको यात्रा गर्नका लागि नेपालगञ्ज, सुर्खेत र दैलेख हुँदै कर्णाली करिडोरको सडकबाटो भएर जुम्ला, मुगु, कालिकोट र बाजुराको सडकबाट गाडीको यात्रा गर्दै पैदल यात्रामार्फत रारा पुग्न सकिन्छ ।

हिँडाइको थकान, उकालीओराली, उराठलाग्दा भीरपाखा गाडीको यात्राबाट जोखिम देखिने कर्णाली नदीसँगै कच्ची सडकबाटोको जोखिमयुक्त गाडीको यात्रा, अव्यवस्थित खानपान र यात्राका क्रममा भएका सबै असहजताहरू राराको पवित्र भूमिमा पुगेपछि हराउँदै विलिन हुन्छन् । र, कल्पना गर्न सकिन्छ कतै स्वर्ग यहीँ हो कि ? भूस्वर्गको प्रकृतिको अनुपम उपहार रारासँग परिकल्पनाका छालहरू रारातालको छालको तरंगसँगै बहकिन्छन् । पहिला बाजुरा सदरमुकामबाट ३ दिनको पैदल दुरीपछि कोल्टीबाट दुई दिनको पैदल दूरी लाग्थ्यो भने आजभोलि त एकै दिनमा रारा पुग्न सकिन्छ । साँच्चै राराले नेपालको पहिचान बनाएको छ । नेपालको सबैभन्दा ठूलो ताल हो रारा ।

संरक्षणको पर्खामा रारा : राराताल संरक्षणको पर्खाइमा छ । रारा आफूसँगै मुगाली जनताको समृद्धि र विकासका लागि पर्खिराखेको छ । त्यसैले त अटल शान्त छ । नेपालमा पर्यटन, प्रबद्र्धनसँगै आर्थिक समृद्धि गर्न रारालाई राज्यले संरक्षणको प्राथमिकता सूचीमा राख्नुपर्दछ । रारा तालको प्रकृति संरक्षण, चारैतिर फोहोर व्यवस्थापन, खानपान र बसोबासका लागि आन्तरिक तथा बाहृय पर्यटकका लागि थप सहज र सरल संस्तो र सुलभ व्यवस्थापनमा ध्यान दिन जरुरी छ । मुगुको पहिचान राराले बनाएको छ । मुगुका जनप्रतिनिधि, राजनीतिक दलका नेता, नागरिक समाज र अगुवाहरूले राराको पहिचान, शान र संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग नीतिगत सम्बोधनमा जोड दिन जरुरी छ ।

मानव विकास सूचकांंकमा पुछारमा रहेको मुगु जिल्ला रारातालसँगै समृद्धि र विकासका लागि सम्भावना र चुनौतीमा पर्खिएको छ । रारातालको संरक्षणसँग मुगाली जनता र मुगु जिल्लाको समृद्धि र विकास जोडिएको छ । यसमा रारातालको शान, पहिचान संरक्षण र समृद्धि विकासका लागि राज्यको ध्यान पुगोस् । जय रारा ताल । शुभरारा ताल ।। मुगु रारा ताल ।।। (लेखक गिरी नेपाल पत्रकार महासंघ बाजुरा शाखाको केन्द्रीय परिषद् सदस्य एवं रेडियो शिम्भुनाथ कोल्टी, बाजुराका सञ्चालक अध्यक्ष तथा बालअधिकारकर्मी हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?