धानदिवसको शुभकामना !

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

आज धान दिवस । असारको पन्ध्र गतेलाई ‘असार पन्ध्र’ भनेर मनाउने चलन नेपालमा पुरानै हो । असार पन्ध्र धुमधामसँग मनाएर आफ्नो गच्छेअनुसार दही-चिउरा, आँप, केरा खाने गरिन्छ । नेपाल कृषिप्रधान देश भएका कारण कृषकले कृषि कर्मलाई बढावा दिन खेती-किसानी गर्ने समयको मध्यतिर असार पन्ध्र मनाउने गरेको पाइन्छ । अहिले पनि कहिल्यै रोपाइँ नदेखेका शहरी क्षेत्रका विद्यालयहरूले आफ्ना विद्यार्थीलाई यस दिन खेतमा लगेर रोपाइँ देखाउने गर्दछन् । राजनीतिक पार्टीहरूले पनि यस दिनको सम्झना यसैगरी गर्ने गरेका छन् । पछिल्लो पटक बहुदलीय प्रणाली स्थापित भएपछि कृषि कर्मको प्रबद्र्धन गर्ने उद्देश्यले असार पन्ध्रलाई ‘राष्ट्रिय धान दिवस’ का रूपमा मनाउने गरिएको छ । गाउँघरका किसानहरूको रातदिन हिलोमै चोपलिनुपर्ने बाध्यता छ ।

उनीहरूका लागि यस दिनको त्यति महत्व नरहला जति वर्षमा एकदिन पर्वका रूपमा खेतमा हिलामा खुट्टा चोपल्न जाने शहरी क्षेत्रका मानिसहरूका लागि त्यसको महत्व हुने गरेको छ । तर, अब शहरी क्षेत्रमा खेत पाउन मुस्किल छ । सबै जग्गाजमिनमा घर बनिसकेका छन् । धानबालीको प्रबद्र्धनका लागि राष्ट्रिय धान दिवस मनाउने गरेझैँ अरू बालीनालीको समेत प्रबद्र्धन गर्नु आवश्यक छ । संयुक्त राष्ट्र संघले यस वर्षलाई राष्ट्रिय कोदो वर्षका रूपमा मनाउने निर्णय गरेको छ । यसबाट नेपालजस्तो कोदाको खेती धेरै हुने पहाडी क्षेत्रलाई केही प्रोत्साहन प्राप्त होला भन्ने आशा गर्न सकिन्छ । आमनेपालीहरूले असार पन्ध्रलाई परम्पागत रूपमा एउटा पर्वकै रूपमा मनाउँदै आएका छन् ।

थोरै जग्गाजमिन हुनेहरूले असार पन्ध्रसम्ममा खेती लगाइसक्छन् र धेरै जग्गाजमिन हुनेहरूले पनि आधाभन्दा बढी रोपाइँ सकिरकेका हुन्छन् । यही सन्दर्भ पारेर यसरी असार पन्ध्र मनाउने गरेको हुनसक्छ । कृषिकर्ममा भिजेका नेपालीहरूले यस दिन दही-चिउरा खानेमात्र होइन खुशियालीमा ऋतु गीत, पर्वगीत र कर्मगीतहरू घन्काउँछन् । आधुनिकताले जति थिचे पनि यो चलन अझै बाँचेकै छ । काठमाडौं उपत्यका र यसका वरिपरिका ठाउँमा सदाबहार असारे भाकाका गीतहरू घन्किरहेका हुन्छन् । केही शब्द फेरिएर केही लयमा आधुनिकता मिसाएर भए पनि यो संस्कार अझैसम्म पनि बाँचिरहेको छ । तर, अहिले आएर हाम्रा कृषि कर्ममा आधुनिकताले गहिरो प्रभाव पारेको छ । पहिले किसानहरूले आफूलाई चाहिने र धेरै उत्पादन गर्न सके बिक्रीका लागिसमेत बिउको जोहो गर्थे ।

ADVERTISEMENT

राम्रा र पुष्ट दाना बिउका लागि छनौट गर्ने कार्यलाई बिउ बल्याउने भन्ने गरिन्थ्यो । घुनपुत्ली जस्ता कीरा लाग्न नपाउने गरी त्यस्तो बिउलाई जोगाएर राखिन्थ्यो र खेतीको समयमा त्यसलाई रोपिन्थ्यो । यसले गर्दा अरू कसैको भर पर्नुपर्दैनथ्यो तर हालका दिनहरूमा भने यो परम्परा लोप भइसको छ । रोप्ने समयमा किसानलाई सरकराले बिउ उपलब्ध गराउँछ । यसरी हाल किसानहरूलाई परमुखापेक्षी बनाइएको छ । बिउमा मात्र होइन मल, किटनासक विषादी तथा कृषिउपकरणमा समेत हालका किसान आत्मनिर्भर छैनन् । पहिले जसरी हलो कोदालो अहिले प्रयोग हुन छोडेका छन् र तिनको ठाउँ यान्त्रिक उपकरणले लिँदै आएका छन् । यसले गर्दा आपूmलाई चाहिने हाते औजार बनाउने सीपबाट समेत कृषकहरू विमुख बन्दै गइरहेका छन् ।

रासायनिक मलको व्यापक मात्रामा प्रयोग गरिन्छ, कम्पोष्ट मल (प्रांगारिक मल) को चलन हराउँदै गइरहेको छ । गाईभैंसी पाल्ने कार्यमा कमी आइरहेका बेलामा कम्पोष्ट मल किसानहरूका खेतमा पर्याप्त पुर्‍याउन सम्भव छैन । गाईभैंसीको गोबर, गउत, मानव मूत्र, पातपतिंगर र झारपातहरू कुहाएर बनाएको मल प्रयोग गर्ने चलनमा कमी आएको छ । रासायनिक मलको प्रयोगले उत्पादन त बढ्ला तर यो मानव स्थास्थ्यका लागि हानीकारक छ । आफ्नै जोहो गर्ने बानी हटेका कारण किसान खेती लगाउने बेलामा मलका लागि लडाइँ गरिरहेका हुन्छन् । सरकारले पनि किसानलाई सही समयमा आवश्यक परिमाणमा मल, बिउ र किटनासक विषादी उपलब्ध गराउन सकिरहेको हुँदैन ।

गोबर तथा गउत मलमात्र होइन आफैंमा किटनासक औषधि पनि हो । निमको झोल, टिम्मुर खरानी आदिको प्रयोगले बालीनालीमा लाग्ने कीराहरू मर्छन् । हालका दिनहरूमा जुन रूपले अर्गानिक उत्पादन घटिरहेको छ तर त्यही अनुपातमा त्यसको माग भने बढिरहेको छ । विषदीयुक्त तरकारी तथा अन्नको प्रयोगले मानिसहरूमा रोग बढिरहेको छ र नयाँनयाँ रोगहरू सिर्जना भइरहेका छन् । हामीले धान दिवस मनाइरहेको अवस्थामा हाम्रा रैथाने जातका अनेकौं जातका धान लोप भइसकेका छन् । हाम्रा स्थानीय खेतीबालीको संरक्षण र प्रवद्र्धनगरी तिलाई अरूसामु चिनाउनु हाम्रो दायित्व हो । राष्ट्रिय धान दिवसका सन्दर्भमा हामी सबैले यसतर्फ सोच्नु आवश्यक छ । सबै नेपालीमा राष्ट्रिय धानदिवसको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *