काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईको सभाध्यक्षता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परम्परागत तथा शास्त्रीय संगीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । महाँकालस्थित श्री जनकल्याण माध्यमिक विद्यालयमा भएको कार्यक्रमको सह-आयोजक नेपाल शास्त्रीय संगीत समाज रहेको थियो । संगीत प्रस्तुति कार्यक्रममा शास्त्रीय रागमा आधारित चारवटा सांगीतिक प्रस्तुति रहेको थियो ।
सुगमा गौतमको गायन शशांक सापकोटाको तबला वादन र यतिराज अधिकारीको भाइलिन वादनमा भिन्न षडज राग प्रस्तुत गरिएको थियो । नगेन्द्रविक्रम राईको बाँसुरी वादनमा मधुमद राग प्रस्तुत गरिएको थियो । जसमा नवराज गुरुङ तबलामा र गीता राई तानपुरामा हुनुहुन्थ्यो ।
यस्तै, सानु तामाङको समूहले मधुवन्ती रागको प्रस्तुति दिएको थियो । गायनमा सानु तामाङ, तबलामा पारसमणि सुवेदी, तानपुरामा गायत्री रानामगर र हार्माेनियममा नवराज सापकोटा हुनुहुन्थ्यो । त्यसैगरी सन्तोषभक्त श्रेष्ठ र समूहले शुद्घ सारंग रागको प्रस्तुति दिएको थियो । जसमा सन्तोषभक्त श्रेष्ठ ईशाराज वादन, विदुरराज कर्णीकार तबलामा र तानपुरामा सिर्जना दुलाल रहनुभएको थियो । कार्यक्रममा झरना श्रेष्ठले भरत नाट्यंम र कुमारी नृत्य प्रस्तुत गर्नुभएको थियो । र, अन्तिम प्रस्तुति स्वरूप जनकल्याण माविका विद्यार्थीहरूले रेशम फिरिरि बोलको गीतमा सांगीतिक प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले मानव सभ्यताको पुरानो कला संगीत भएको बताउँँदै शास्त्रीय संगीतमा समय सापेक्ष परिवर्तनको खाँचो रहेको र यसलाई शिक्षासँग जोड्न जरूरी रहेको बताउनुभयो । यस्तै, नेपाल शास्त्रीय संगीत समाजका अध्यक्ष धनबहादुर गोपालीले कार्यक्रम विद्यालयमा सञ्चालन गर्नुको उद्देश्य शास्त्रीय संगीतबारे युवा पिढीलाई जागृत गर्नु रहेको बताउनुभयो ।
शास्त्रीय संगीतकार विजयकुमार श्रेष्ठले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शास्त्रीय संगीतका वास्तविक साधकमा विशेष प्रकारको गुण हुने धारणा राख्नुभयो । परम्परागत तथा शास्त्रीय संगीत विभागद्वारा आयोजित शास्त्रीय संगीत प्रस्तुति कार्यक्रममा विभाग प्रमुख प्राज्ञ डक्टर राईले स्वागत मन्तव्य दिँदै परम्परागत तथा शास्त्रीय संगीतका प्रस्तुतिलाई गाउँगाउँमा लैजाने योजना सुनाउनुभयो ।







Breaking news with related posts