समाजवादी मोर्चा कति सार्थक कति निरर्थक ?

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

प्रतिगामीहरूलाई मूल वर्ग दुश्मनका रूपमा संकेत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादी समाज स्थापना गर्ने उद्देश्यगत भाष्यसहित समाजवादी मोर्चा गठन भएको छ । यो मोर्चाको सिद्धान्त र रणनीति १५ बुँदामा समेटिएको भए पनि संगठनको स्वरूप प्रकाशमा आएको छैन । सञ्चालनविधि पछि तय हुने होला । माक्र्सवादमा माओवादी दर्शनको घोल मिसाएर दश वर्षसम्म सशस्त्र हिंसामा तल्लीन नेपाल कम्युनिष्ट पार्टी माओवादी, त्यही पार्टीको अन्तिम क्रान्तिकारी अवशेष विप्लवको माओवादी पार्टी, कुनै जमानाका पुष्पलालवादी, वर्तमानमा मधेसी जनताका मसीहा उपेन्द्र यादवको जसपा र एमालेको केपी ओली प्रवृत्तिविरुद्ध रुष्ट माधवकुमार नेपालको नेकपा समाजवादीको समवेत तस्वीर नवगठित समाजवादी मोर्चा देखिएको छ । यो मोर्चाको आयुका विषयमा बहस गर्नु निरर्थक अभ्यास हुनेछ । मोर्चाको अर्थ नै स्थायित्वको द्योतक होइन । सिंगो पार्टीको अनुशासनमा अटाउन नसक्नेहरूको लुज फोरम मात्रै हो मोर्चा । सुन्दा निकै आकर्षक लाग्ने मोर्चा शब्द जुन उद्देश्यका लागि प्रयोग गरिएको भए पनि नवगठित मोर्चा कति सार्थक कति निरर्थक भन्ने प्रश्नमा भने पर्याप्त बहस हुनसक्छ ।

नेपालको वर्तमान राजनीतिक सांगठनिक अवस्था र वैचारिक समीकरणलाई हेर्दा दक्षिणपन्थी राजनीतिको स्पष्ट प्रतिनिधि राष्ट्रिय प्रजातन्त्र पार्टी नै हो अरू कुनै पनि स्पष्ट छैनन् । यसै धारमा केही साना दल छन् ती अस्पष्ट र प्रतिक्रियात्मक मात्र हुन् । नाटकीय रूपमा उदाएको र सहसा नागरिकमा छाप छाडिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट वैचारिक धार निर्माण गरेको छैन । संघीयतालाई अस्वीकार गरे झै गत निर्वाचनमा प्रदेश निर्वाचनमा सहभागी नरहेको यो पार्टीको उद्भव जसरी नाटकीय देखिन्छ त्यस्तै गन्तव्य पनि स्पष्ट छैन । अर्थात् यो दल संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर हो वा होइन ? भन्ने स्पष्ट नभएको अवस्थामा यसको मूल्यांकन हुने आधार छैन ।

नेपाली कांग्रेसभित्र वैचारिक स्पष्टता भए पनि रणनीतिक स्वीकार्यता अत्यन्त अस्पष्ट देखिन्छ । औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको नायकत्व र स्वामित्व लिने कांग्रेसभित्र अहिले पनि संघीयताविरुद्ध सशक्त आवाज छ, धर्मनिरपेक्षताविरुद्ध सर्वाधिक सशक्त जनमत छ, राजसंस्थाको पुनस्र्थापनाको मुद्दा पनि बहसमा नै छ । वैचारिक रूपले भने राष्ट्रियतालाई आदर्श, लोकतन्त्रलाई सिद्धान्त र समाजवादलाई आर्थिक सामाजिक रूपान्तरणको मूल ध्येयका रूपमा बीपीको भाष्यलाई यस पार्टीले शब्दमा भए पनि अनुशीलन गरिरहेको छ । यसरी हेर्दा यो पार्टी मध्यमार्गी नै हो । सहमति, सहकार्य र सहयात्राको अनेक नमुनाको प्रयोग कांग्रेस नेतृत्वले सजिलै गरेको हुनाले ऊ जता पनि साझेदार हुनसक्छ भन्ने देखाइ रहेको छ ।

ADVERTISEMENT

नेपालमा धूर साम्यवादी दल बाँकी छैनन् । समयले त्यो विचारलाई किनाराको फड्के साक्षीमा परिणत गरिदिएको छ । मोहन विक्रम सिंह र मोहन वैद्यहरूले माक्र्सवादी गुरुकुललाई यदाकदा अखवारका पृष्ठमा धानिरहेको देखिन्छ । अन्तर्राष्ट्रिय समीकरण परिवर्तन भएमा वा विपरीत ध्रुवीकरण निर्माण नभएसम्म नेपालको राजनीतिक क्षितिजमा माओवाद, नवजनवाद, वैज्ञानिक समाजवाद वा साम्यवाद जस्ता तिलस्मी शब्दहरू जनतालाई मूर्ख बनाउनमात्रै उपयोग हुनेछन् । यस सत्यलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले निकै पहिले अनुभव गरेको थियो । ०४७ पछि मदन भण्डारीले जनताको बहुदलीय जनवादको भाष्य गर्दै गर्दा यही सत्यलाई स्वीकार गर्नुभएको थियो । त्यसयता एमाले निरन्तर चुनावी राजनीतिमा, संसदीय राजनीतिमा र सरकारका अनेक विसंगत, संगत समीकरणको पक्ष भएर काम गरिरहेको छ । अहिले पनि नेकपा एमाले नेतृत्वले राष्ट्रको संस्कृति र जीवनमूल्यसँग आफूलाई सापेक्षित बनाइरहेको देखिन्छ ।

अरूका अनुभवहरूको आधारमा वर्तमानको वस्तुपरक सत्यलाई माओवादीका सुप्रिमो वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले राम्ररी बुझ्नु भएको जस्तो छ । प्रत्यक्षमा उहाँकै प्रयासमा गठित समाजवादी मोर्चाले यसलाई पुष्टि गर्दछ । जनतालाई जुन शब्दमा सपना देखाउँदा पनि हुन्छ । तर शब्दभन्दा चर्को ध्वनि कार्यले निकाल्छ भने जस्तै पुष्पकमल दाहालका दृश्य कर्महरूले अव माक्र्सवाद, माओवाद, नवजनवाद वा वैज्ञानिक समाजवादको परम्परागत अवधारणाको औचित्य समाप्त भएको उद्घोष गरिरहेका छन् । माक्र्सवादको औचित्य समाप्त भएको घोषणा गर्दै ०७२ सालमै माओवादीबाट अलग भएर यादव नेतृत्वको जसपामा सामेल डा.बाबुराम भट्टराई भने यो मोर्चामा जोडिनु भएको छैन । यो अर्को आश्चर्यको विषय हो । किनकि मोर्चा गठनको बहसमा उहाँका आवाजहरू निकै परसम्म सुनिने गरेका थिए । संभवतः उहाँको अस्थिर गति र मतिले भिन्न मार्ग खोज्दै गरेको हुनसक्छ ।

मोर्चा गठनको आसय के होला ? भोलिका दिनमा मोर्चाको भूमिका र प्रभाव नेपाली जनमतमा कस्तो हुने हो ? सत्तासमीकरणको खेलमा यसको अंक गणित कस्तो हुने हो ? यसो त कुनै मोर्चाको आवश्यकता थियो कि थिएन ? जस्ता अनगिन्ती प्रश्न सतहमा आउनसक्छन् । सतहमा हेर्दा जनाधार खस्कँदै गएकाहरूको मोर्चाजस्तो लाग्छ । ठूला दलहरूको अन्तरविरोधको परिणाम नै अहिले तेस्रो राजनीतिक दल माओवादीको नेतृत्वमा सरकार छ । यदि नेपाली कांग्रेस र नेकपा एमालेका बीच सत्तासाझेदारी हुने भएमा संसद्मा रहेका बाँकी सबै दलको भूमिका जनतामा पुगेर सरकारविरुद्ध उभिनु, मोर्चाबन्दी गर्नु र अर्को निर्वाचनलाई लक्ष्यमा राख्नुबाहेक अरू केही हुने छैन । सत्ता साझेदारीका सन्दर्भमा दाबी शक्ति बढाउने रणनीति पनि होला । जे भए पनि दलहरूको साझा थलो बन्नु नराम्रो होइन । लोकतान्त्रिक परिपाटीमा साझा थलो निर्माणदेखि सिंगो पार्टीको विभाजनसम्मलाई जायज मानिन्छ । नवगठित मोर्चाले स्थायित्व प्राप्त गरोस् र लोकतन्त्रका मूल्यहरूलाई सबल बनाउन सफलता पाओस् आजका दिनमा हाम्रो अपेक्षा यही नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?