काठमाडौं । तारकेश्वर नगर प्याब्सनको आयोजनामा प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १२ गरी २८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक एवं आयोजकका उपाध्यक्ष गोपाल बुढाथोकीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
दुवै समूहमा सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । जुनियर ब्वाइजमा एन्जल्स हार्ट, गिनिज पब्लिक, हिमरश्मी, जीवन ज्योति, काठमाडौं लिङ्कन, लालीगुराँस विद्याकुञ्ज, लालीगुराँस नेसनल एकेडेमी, ल्याण्डमार्क एकेडेमी, नर्थ भ्याली, प्रारम्भ वल्र्ड, रोजमेरी आइडल, सेक्रेट हार्ट, सिद्धार्थ मोडल, स्प्रिङ भ्याली, सिर्जना ज्ञान सागर र एन्जल्स हार्ट नेसनल स्कुलले भाग लिनेछन् ।
सिनियर गल्र्समा एन्जल्स हार्ट, हिमरश्मी, काठमाडौं लिङ्कन, लालीगुराँस, ल्याण्डमार्क, न्यु एरा, नर्थ प्वाइन्ट, नर्थ भ्याली, पद्यचक्र, रोजमेरी, स्प्रिङ भ्याली र सिर्जना ज्ञान सागरले खेल्नेछन् । साताव्यापी प्रतियोगिता सञ्चालन गर्न करिब एक लाख ४५ हजार २ सय रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । खेलहरू मनमैजुस्थित लालीगुराँसको कोर्टमा खेलाइनेछ । उपाध्यक्ष बुढाथोकीले विद्यार्थीमा अन्तरनिहित क्षमताको पहिचान गर्न प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
आयोजकका अध्यक्ष धनबहादुर पुनले खेलकुद राष्ट्रलाई योगदान दिने महत्वपूर्ण माध्यम भएकाले हरेक विद्यालयले खेलकुदलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता