काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसमा कलाकर्मीको महत्व अत्यधिक रहेको बताउनुभएको छ । नेपाल सांस्कृतिक महासंघको १८औं स्थापना दिवस एवं राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशालाको उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो ।
कलाका विभिन्न क्षेत्रमा क्रियाशील कलाकर्मीको संस्था नेपाल सांस्कृतिक महासंघको नेपाली कांग्रेसभित्र अन्य भ्रातृ संघसंस्थाको भन्दा मूल्य र मान्यता ठूलो रहेको मन्त्री गुरुङको भनाइ थियो । उहाँले कांग्रेसका भ्रातृसंगठनहरूमध्ये पार्टीलाई ऊर्जाशील बनाउन सक्ने संस्था नै नेपाल सांस्कृतिक महासंघ भएको जिकिर गर्नुभयो ।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल सांस्कृतिक महासंघले युवामुखी कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । ‘नेपाल सांस्कृतिक महासंघले युवालाई आकर्षित गर्ने र उनीहरूको प्राथमिकतामा रहेको काम गर्नुपर्यो’, कोइरालाले भन्नुभयो । नेपाल सांस्कृतिक महासंघलाई नेपालमा गिरिजाप्रसाद कोइरालाबाहेक कसैले चिन्न नसकेको उहाँको भनाइ थियो ।
‘युवाले पार्टी र देशबाट के खोजिरहेको छ ? बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो संकेत होइन । युवालाई कांग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासंघले समेत भूमिका खेल्न जरुरी छ,’ उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र शहर केन्द्रित भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘समयानुकूल परिमार्जित गर्दै महासंघलाई अगाडि बढाउन जरुरी छ । यहाँ कांग्रेस नभए तापनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मिहिनेत गर्नुहोस् ।’ उहाँले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाटै एक्लै लड्नुपर्ने विचारसमेत राख्नुभयो ।
त्यस्तै, कांग्रेसका नेता तथा पूर्वमन्त्री रामहरि खतिवडा, नेपाली कांग्रेसका बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, ललितपुरका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ, सांसद विनोद बान्तवा, शोभाकर पराजुलीलगायतले कलाकर्मी र सांस्कृतिक महासंघको महत्व प्रकाश पार्नु भएको थियो । कांग्रेसका युवा नेता प्रमोदहरि गुरागाईं, केन्द्रीय सदस्य नैनसिंह महरले कार्यक्रममा सहभागी कलाकर्मीलाई प्रशिक्षण दिनुभएको थियो ।
कलाकार धनबहादुर याक्खाको नेतृत्वमा ४२ जना कलाकारले प्रत्यक्ष पेन्टिङ गरेर प्रस्तुत गरेको कार्यक्रम विभिन्न नृत्यलगायत सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको थियो । कार्यक्रममा २० कलाकर्मीलाई सम्मानसमेत गरिएको थियो । जसमा लोकगायक कस्तुप पन्त, कृष्ण रेउले, कलाकार सुनिल पुरी, राजु श्रेष्ठ, बुद्धिबहादुर राना, गोपाल गुरुङ, गोविन्द कोइराला, टंक विश्वकर्मा, कृष्णकुमार गुरुङ, गणेश सुवेदी, गंगाबहादुर पाण्डे, राधेश्याम राजभण्डारी, सुशील सेवा, वेदमणि अधिकारी, वीरेन्द्र यादव, मदन थापा, जालुमाया गुरुङ, सन्ध्या सानु, सचिन गिरीलगायत रहनुभएको थियो ।
सो अवसरमा महासंघका सभापति तीर्थ थापाले नेपाल सांस्कृतिक महासंघप्रति नेपाली कांग्रेसले हेर्ने दृष्टिकोण सम्मानजनक हुनुपर्ने धारणा राख्नुभयो । उहाँले कांग्रेसले सांस्कृतिककर्मीलाई प्राथमिकता राखेर प्रत्येक पाइलामा साथ लिएर हिँड्नुपर्ने भनाइ राख्नुभयो । ‘हामी सांस्कृतिककर्मीलाई पनि पार्टीले ठाउँ र अवसर दिनुपर्यो । हामी पनि केही गरेर देखाउन सक्छौ’, थापाले भन्नुभयो । कार्यक्रमको सञ्चालन महासंघका महामन्त्री शिवशंकर रिजाल ‘जोगिन्दर’ले गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts