काठमाडौं । मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जित्नुभएको छ । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जित्नुभएको हो । सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाउनुभयो । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जित्नुभयो । महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जित्नुभयो ।
दश हजार मिटर दौडमा महिलातर्फ सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जित्नुभयो । उहाँले ४७.१ मिनेट समय निकाल्नुभयो ।दोलाखाकी सोनु घोतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गर्नुभयो । यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जित्नुभयो । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल हुनुभयो ।
महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जित्नुभयो । उहाँले एक मिनेट नौ सेकेन्डमा दूरी पूरा गर्नुभयो । ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जित्नुभयो । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गर्नुभयो ।
काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जित्नुभयो । चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो । पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते । पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जित्नुभयो । उहाँ १३.१९ मिटर उचाईमाथि उफ्रिनुभयो । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक प्राप्त गर्नुभयो ।
महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गर्नुभयो । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जित्नुभयो । जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जित्नुभयो । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल हुनुभयो । पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता प्राप्त गर्नुभयो । उहाँले ४९.४० मिटर पर फ्याक्नुभयो ।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जित्नुभयो ।
पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित हुनुभयो । सुजितले तीन स्वर्ण र एक रजत पदक जित्नुभयो । डिनाले दुई स्वर्ण र एक रजत जित्नुभयो । प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र नौ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते ।
ब्याडमिन्टन : सिंगल्समा राजु र रिहानालाई स्वर्ण
चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जित्नुभएको छ । हेटौंडा उपमहानगरपालिका-११ स्थित थाना भर्याङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जित्नुभएको हो । राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१-१० र २१-५ ले हराए । रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१-५ र २१-६ ले हराउनुभयो । मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जित्नुभयो । उहाँले धादिङकी बबिता पुरीलाई १९-२१, २१-१३ र २१-१६ ले हराउनुभयो ।
पुरुषतर्फ काभ्रेका आशिष तामाङले कांस्य पदकको प्रतिस्पर्धामा धादिङका अस्बिन थापामगरमाथि २१-५ र २१-६ को जित निकाल्नुभयो । महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जित्नुभयो । यो जोडीले फाइनलमा ललितपुरका श्रेया बज्रचार्य र राहिता शाक्यमाथि २१-१७ र २१-१६ को जित रचनुभयो । काठमाडौंकी मनीषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गर्नुभयो । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता प्राप्त गर्नुभयो । यो जोडीले फाइनलमा धादिङका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडीलाई २१-१२ र २१-१६ ले हराउनुभयो ।
यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जित्नुभयो । मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गर्नुभएको छ । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाल्नुभयो । धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जित्नुभयो । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।
फुटबल : सिन्धुली र काठमाडौं फाइनलमा
सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । गौरीटार रंगशालामा भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३–० गोलले पराजित गर्यो । सिन्धुलीका सचना लो, सेमिका परियार र बिटिशा बम्जनले १–१ गोल गर्नुभयो । अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । विजयी टिमका लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गर्नुभयो । फाइनल बिहीबार २ः०० बजे हुनेछ ।
पुरुष फुटबलमा भने सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल काठमाडौं र ललितपुर तथा मकवानपुर र काभ्रेबीच हुनेछ ।
भलिबल : धादिङ र चितवन उपाधिका लागि भिड्ने
धादिङ र चितवन दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष भलिबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।
महिलामा काठमाडौं र दोलखाले उपाधि भिडन्त पक्का गरे । काठमाडौंले चितवनलाई २५–८ र २५–११ तथा दोलखाले धादिङलाई २५–२०, १९–२५ र १५–१३ ले हराए । फाइनल बिहीबार बिहान ९ः०० बजे हुनेछ ।
जुडो स् सात स्वर्ण छिनोफानो
दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोको पहिलो दिन बुधबार सात स्वर्णको छिनोफानो भएको छ । पुरुषमा ३ र महिलामा चार स्वर्णको टुंगो लाग्यो । काठमाडौंको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि ललितपुरका ताराबहादुर भुजेलले ललितपुरकै सचिन वाइबा, ७३ केजीमुनि ललितपुरका राजु शर्मा बदाइले रसुवाका सुनिल नगरकोटी र काभ्रेका प्रवीणकुमार दियालीले नुवाकोटका प्रमोद तामाङलाई पराजित गरी स्वर्ण जित्नुभयो ।
महिला ४८ केजीमुनि ललितपुरकी निशा श्रेष्ठले काभ्रेकी सुस्मिता नेपाली, ५७ केजीमुनि नुवाकोटकी अन्जु पाण्डेले काठमाडौंकी विनु गुरुङ, ५२ केजीमुनि ललितपुरकी देवकीमाया श्रेष्ठले भक्तपुरकी सकुन सुनुवार र ६३ केजीमुनि सिन्धुपाल्चोककी सुनिता ढकालले ललितपुरकी रेखा श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पार्नुभयो ।
खड्काद्वय रेफ्री सेमिनारमा
नेपालका अशोक खड्का र कोसिस बहादुर खड्काले अजरवैजानमा भएको १३८ औँ क्योरुगी इन्टरनेसनल रेफ्री सेमिनारमा सहभािगता जनाउनुभएको छ । सो चार दिने सेमिनार गत आइतबार सुरु भएर बुधबार सम्पन्न भएको हो । विश्व तेक्वान्दोले अजरवैजान तेक्वान्दो महासंघसँगको संयोजनमा आयोजना गरेको सो सेमिनारअन्तर्गत रिफ्रेसर कोर्समा विश्व तेक्वान्दो रेफ्रीका अध्यक्ष एम्ले मोरस र पारा रेफ्रीका अध्यक्ष चारकोर चालभाटले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
नेपालको प्रतिनिधित्व गरेका रेफ्री अशोकले उहाँहरुले मुख्यत विश्व तेक्वान्दोका नयाँ नियमहरुबारे प्रशिक्षण दिएको जानकारी दिनुभयो । उहाँका अनुसार सो कार्यक्रममा विश्वक तेक्वान्दो च्याम्पियन्सीप अजरवैजानको बाकुकमा हुने तय पनि गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच