पृथक शैली र भावका साहित्यकार नेपाल

विनोद दाहाल वत्स
विनोद दाहाल वत्स
Read Time = 30 mins

नारायण नेपालसँगको मेरो चिनारी पुरानै हो । बस्ने पाटो र हिँड्ने बाटो एकै भएका कारणले हामी लामो समयदेखि सँगसँगै छौं । शिक्षण, अध्यापन, लेखन अनि वाचनजस्ता हाम्रा कार्यहरूमा समेत सामाञ्जस्य रहिआएको छ । यस कारण हामी सँगसँगै छौं भनिएको हो । पृथक शैली र भावका नेपाल साहित्यिक कार्यक्रममा भेटिनुहुन्छ । उहाँको प्रस्तुति विषयसापेक्ष अनि रसयुक्त लाग्छ । साहचर्य बढ्दै गएपछि थाहा भयो उहाँका पुस्तकहरू निकै नै रहेछन् । बौद्धिक साहित्यकार मानिनुहुन्छ उहाँ ।

काठमाडौँको कपन फैका क्षेत्रमा मेरो बसोवास । उहाँ नजिकैको रामहिटी बौद्धमा । कहिलेकाहीँ उहाँ यही फैका क्षेत्रका वरपर आएर मलाई फोन गर्नुहुन्छ र कुनै चिया पसलमा बसेर हामी चिया पिउँँदै गफगाफ गर्नेगर्छौं । यसरी उहाँले बोलाएर त्यतातिर निस्कँदा उहाँसँग कोही नयाँ मानिस हुने गर्छन् र तिनै नयाँ मानिससँग हाम्रो भेटघाट र परिचय गर्ने अभिप्रायले नै उहाँले यसरी हामीलाई बोलाउने गर्नुहुन्छ । यसरी नै उहाँले केही नयाँ मानिससँग मेरो परिचय गराइदिनु भएको छ ।

नारायण नेपाल विसं २०२५ साल पुस १६ गते सुनसरी जिल्लाको चतरामा जन्मिनुभएको हो । उहाँको पुख्र्यौली थातथलो भने भोजपुर हो । विष्णुप्रसाद नेपाल पिता अनि बालकुमारी/भगवती नेपालका सन्तानहरूमा उहाँ दोस्रो सन्तान हुनुहुन्छ । मातृसेवाका द्योतक ज्योतिषसहिद (जनस्तरमा भनिएको) पण्डित पिताको साधापन सदैव स्मरण गर्ने उहाँका दाजु माधव र भाइहरू गणेश, केशव, नरहरि, गोविन्द र राम हुनुहुन्छ । रुकमिणी र अपरा उहाँका बहिनीहरू हुनुहुन्छ ।

शिक्षण र लेखनमा संलग्न नेपालको २०५८ सालमा मधुमारा, विराटनगर घर भई ललितपुर बस्ने योगेन्द्र तथा उमा त्रितालकी कनिष्ठपुत्री स्मितासँग विवाह भयो । उहाँहरूका दुई छोराछोरी अनुरञ्जन र अस्मिना हुनुहुन्छ । उहाँहरू दुवै विद्यार्थी हुनुहुन्छ । उहाँले आदर्श मावि-चतरा, महेन्द्र क्याम्पस-धरान, ठाकुरराम क्याम्पस-वीरगञ्ज र काठमाडौं शिक्षा क्याम्पस, त्रिभुवन विश्वविद्यालय-काठमाडौंलगायत शिक्षण संस्थामा अध्ययन गर्नुभयो । उहाँले कानुनमा स्नातक (निजी/त्रिवि) र अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुभएको छ । २०५५÷०५६ सालदेखि हालसम्म उहाँ पशुपति क्याम्पस चावहिल काठमाडौंमा अध्यापनरत हुनुहुन्छ ।

व्यक्तित्व बुझेर सकेको सिर्जना वा यथोचित सत्कर्ममा लाग्नुभन्दा ठूलो धर्म अरू छैन र मानवीय सेवा सर्वोपरी कामना हुनुपर्दछ । मान्छे भएर मान्छे बुझ्ने र बुझाउने अनि प्रकृतिसँगको अध्यात्म सम्पूर्ण प्रियमनको छनौट भइदिए जिन्दगी मखमली रहने उहाँको धारणा विचारणीय लाग्छ ।

नेपालका ४५ वटा जति जिल्लाको भ्रमण गर्नुभएका नेपाल कला, साहित्य, भ्रमण र राष्ट्रियताको भावाभिव्यक्तिमा रुचि राख्नुहुन्छ । उहाँ प्रसिद्ध साहित्यकार पूर्णप्रकाश नेपाल ‘यात्री’ का निकट रहनुभयो अनि कर्मयोगी शिक्षासेवी हजुरआमा हरिप्रियालगायतका व्यक्तित्वबाट सिर्जना क्षेत्रमा प्रेरित रही अघि बढ्नुभयो ।

आपूmलाई सामान्य पारिवारिक स्थितिबाट आएको सामान्य छविको बताउने उहाँ शिक्षाशिक्षण अनि साहित्यलगायतका विभिन्न सिर्जनशील गतिविधिमा संलग्न हुनुहुन्छ । हित भाव अथवा सहित भाव राख्ने लेखरचनाहरू सबै साहित्य हुन् । यसर्थ, कथा, कविता, नाटक आदि साहित्यका विधा हुन् भने यस्ता विधा-उपविधाको निश्चित मानक ख्याल गरिने पद्धति आत्मसात गरिनु राम्रो रहन्छ । नेपाल सन्तुलित र प्रतिनिधिमूलक साहित्यको वकालत गर्नुहुन्छ ।

भाषा साँधेर साहित्यको अचार बनाउन त्यति सजिलो नभए पनि सीप, समय, स्रोत र सहयोगले यो सजिलो हुने ठान्नुहुन्छ । यसैलाई पेशा बनाएर खाने बग्रेल्ती मान्छे भेट्ने गरेका साहित्यकार नेपाल आफ्नो नियमित शिक्षण भ्याएर विदाका दिनहरूमा कलमसँग विशेष घोत्लिने गरेको बताउनुहुन्छ । परिवारको सहयोग मनग्गे छ र केही गर्ने हुटहुटी पनि ।

आपसी सद्भावको विकल्प कतै नहुने बुझी आत्मगत चिन्तन र समूहगत वास्तविकतामा सन्तुलन भए र सिर्जनशील रहे समग्र समाजको विकासमा टेवा मिल्ने बताउनुहुन्छ । सेवाका लागि कतिपय कमजोर तर मनकारी जजमानका घर आफैं दालचामल लगिदिएर कार्य उतार्ने आफ्ना पिताको संस्कारमुखी व्यवहारबाट उहाँ प्रभावित हुनुहुन्छ । यस्तो भावना र व्यवहार सबै क्षेत्रमा अनुकरणीय हुनसके व्याप्त बेथिति स्वतः कम हुने र शान्ति र विकासमा मद्दत पुग्ने विचार उहाँ राख्नुहुन्छ ।

आफ्ना संस्कार, संस्कृति तथा परम्पराको निरन्तरता आदिका लागि कर्मकाण्ड र कर्मकाण्डीहरू नभई हुँदैन । यो ब्राहृमणहरूको अनिवार्य र आवश्यकीय कार्य हो । ब्राहृमणहरूको संस्कार हो । त्यसैले साहित्यकार नारायण नेपाल आफू कर्मकाण्डी पनि हुँ भन्नुहुन्छ । आफ्ना जातीय संस्कार सञ्चालनार्थ अंग्रेजीको अध्यापक भएका कारणले मात्र कुनै व्यवधान नआएको उहाँलाई लाग्छ । उहाँ साहित्यकार साहित्यकारको धर्म, मर्म र कर्म जे भने पनि साहित्य सिर्जना हो ठान्नुहुन्छ र भाषा एक माध्यममात्र रहेको मान्नुहुन्छ । कर्माअनुसार पहिचानको नामका रूपमै सही सकेको सिकाइपढाइ गरेर वाणी सिद्ध भई ज्ञानको ज्योति फैलाउने कार्यमा अग्रसर रहने प्रयास आफ्नो कर्तव्य ठान्ने उहाँ ज्ञान, सिप, शिक्षा, स्रोत, सन्दर्भ अनि साधनाको एकमुष्ट छविमा जीवन देख्नुहुन्छ ।

व्यक्तित्व बुझेर सकेको सिर्जना वा यथोचित सत्कर्ममा लाग्नुभन्दा ठूलो धर्म अरू छैन र मानवीय सेवा सर्वोपरी कामना हुनुपर्दछ । मान्छे भएर मान्छे बुझ्ने र बुझाउने अनि प्रकृतिसँगको अध्यात्म सम्पूर्ण प्रियमनको छनौट भइदिए जिन्दगी मखमली रहने उहाँको धारणा विचारणीय लाग्छ । नेपाल अध्यापन र लेखनमा समर्पित रहँदैआउनु भएको छ । उहाँले केही बालसाहित्य र केही प्रौढसाहित्यका पुस्तकहरू पनि रचना गर्नुभएको छ । नेपाली तथा अंग्रेजी दुवै भाषामा उहाँका सिर्जनाहरू रहेका छन् ।

अंग्रेजीमा उहाँका ‘द ग्रोइङ लभ, लविन टेरर, फेबल्स इन इंग्लिस, अल्टिमेट इंग्लिस ग्रामरलगायतका पुस्तकहरू प्रकाशित छन् भने नेपालीमा एक सबाई, क्या–क्या मुक्तक, दाजुबहिनीका कुरा, सुन्दरीको सबाई, अजलगजल, सबाईको सबाई, भुइँचालाको सबाई, मुक्तक मञ्जरी, ‘गजल मण्डी’लगायत दुई दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । गीत, गजल, कथा अनि लघुचलचित्रका कथा तथा सम्वादलेखनमा पनि उहाको कियाशीलता भेटिन्छ । केही वृत्तचित्रमा आवाज भर्नुभएको छ भने नेपाली/अंग्र्रेजी अनुवादमा पनि दख्खल राख्नुहुन्छ । एक दर्जन जति नवोदित अनि चर्चित स्वरमा विविध गीत तथा गजलहरू रेकर्ड गराएर तथा नेपाल नागरिक आवाज पत्रिकाका सम्पादकसमेत रहेर नेपालले आफ्नो बहुप्रतिभा अनि अर्थपूर्ण संग्लग्नताको छनक दिइरहनुभएको छ ।

नेपाली शिक्षा प्रणाली जहिल्यै पनि परीक्षणमुखी भयो भनेर सबैले आलोचना गर्दै आइरहेका छन् । कहिले बेलायतले परीक्षण गर्ने त कहिले अमेरिकारले परीक्षणको थलो बनाउने । बेलाबेलामा विभिन्न शिक्षा आयोगहरू बनाउने र तिनको सुझाब अनुसार प्रणाली फेरबदल गरिरहने । यसो गर्दा गर्दै सात दशकभन्दा बढी समय बितिसकेको छ तर अहिलेसम्म पनि शिक्षामा स्थायित्व आएको छैन । अनेकौं परीक्षणहरू भइरहेका छन् । नारायण नेपालले भने वर्तमान शिक्षा प्रणालीमा त्यति धेरै नकारात्मक कुराहरू खोज्नतिर भन्दा यहीभित्र राम्रा कुरा खोज्न चाहनुहुन्छ । उहाँ हालको शिक्षा प्रणालीलाई ‘सुषुप्त तर सुधारोन्मुख’ देख्नुहुन्छ ।

यसो भन्दैमा हाम्रो वर्तमान शिक्षा प्रणाली सोचेजस्तो र चाहेजस्तो राम्रो छ भन्ने चाहीँ उहाँलाई लाग्दैन । कतिपय विदेशीपरस्त मानसिकताका शैक्षिक नाइकेहरूले स्वदेश कम र विदेश बढी देख्नेगरेको हास्यास्पद तर भयावह छ । आफ्नो मौलिक सोच अनि अभ्यासलाई कुनै विदेशी काल्पनिक पात्रको नामसँग झुण्डाएर उद्धरण गर्ने संकुचित मानसिकता त्याग्नुपर्छ । विदेशी दाता खुशी पार्ने नाउँमा दुईचार पैसा हातलाउने क्रममा विदेशपलायन गराउने शिक्षा लाद्नु कुनै अर्थले सही छैन ।

आपसी सद्भाव र गौरवशाली सम्पदा बुझ्ने र जगेर्ना गर्ने ज्ञान उजागर गरिनुपर्छ । छिमेकी खुशी पार्न उसको बाख्रालाई आफ्नो बाली चराउन दिनु तर्कसंगत हुँदैन । माटोसुहाउँदो अनि स्ववातावरण मेल खाने व्यवहारिक शिक्षा अपरिहार्य छ र देश बुझ्ने हामी सबैको यही माग हुन जरुरी छ । त्यसैगरी, उहाँ सीपमूलक र रोजगारीमूलक स्वावलम्बी शिक्षा हुनुपर्छ भन्ने कुरामा जोड दिनुहुन्छ । उच्च शिक्षा दिने सरकारी महाविद्यालय र विश्वविद्यालयहरूमा अधिक राजनीति हुनेगरेको छ । क्याम्पसहरू भनेका राजनीतिक भर्तीकेन्द्र नै हुन् कि जस्तो देखिनु विडम्बनापूर्ण भन्नुहुन्छ ।

राजनीति र शिक्षाबारेको थप जिज्ञासामा उहाँ भन्नुहुन्छ, पञ्चायत कालभरि विपक्षी र विरोधी राजनीतिका लागि कार्यकर्ता उत्पादन गर्ने थलो बन्ने गरेका थिए क्याम्पस । क्याम्पसलाई राजनीतिको नर्सरी मान्ने गरिएको थियो । अहिलेको अवस्था ठ्याक्कै त्यस्तै त छैन तर पनि दलीय झोला बोकेको र धर्ना बसेकै भरमा टिचर बहाली गरिनु सकारात्मक नभएको बताउनुहुन्छ । विद्यार्थी संगठनको हालीमुहाली बेग्लै पाराले अस्तित्वमा हुनु पहुँचको स्थापना तथा आर्थिक लाभको गन्धबाहेक अरू नबुझिएको उदेकलाग्दो अवस्था छ । योग्यताको बलमा योग्य जनशक्ति उपार्जन गर्ने उद्देश्य तपाईं हामी सबैको साझा उद्देश्य बन्नसक्नुपर्छ ।

ADVERTISEMENT

यसरी राजनीतिले सरकारी क्याम्पसहरू आक्रान्त बनिरहेकै छन् र यस्ता राजनीतिक भर्तीकेन्द्रका रूपमा चल्ने विद्यालय र क्याम्पसहरू बन्द गरिनुपर्छ अथवा आमूल नियमन गरिनुपर्छ भन्नुहुन्छ । शैक्षिक संस्थाहरू तथा शिक्षा प्रणालीमा समयानुकूल सुधारको आवश्यकता उहाँले देख्नुभएको छ । नेपालमा राणाशासन रहँदासम्म भारतका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थासँग संबद्ध रहेर नेपालको शिक्षा प्रणाली सञ्चालन गरिएको थियो । राणाशासन हटेपछि २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना हुँदा कतिपय नेपाली र भारतीयलाई समेत आश्चर्य लागेको थियो ।

नेपालमा पनि विश्वविद्यालय ? भनेर छक्क परेका थिए अरे केही अन्य विदेशी पनि ! तर हालसम्म नेपालमा दर्जन जति विश्वविद्यालय स्थापना भइसकेका छन् । यति सानो देशमा यति धेरै विश्वविद्यालय आवश्यक छन् ? केही मलिन स्वरमा नेपाल भन्नुहुन्छ ः ‘भएका विश्वविद्यालयको उपादेयता झल्किए जति पनि विश्वविद्यालयहरू खेले हुन्छ’ नत्र त सम्बन्धितलाई अरू नै क्षेत्रमा जागिर मिलाए हुन्छ । कसैको व्यक्तिगत लाभ हेरेर समग्र समाजको भविष्य धरापमा राख्न उचित होइन ।

हाम्रो शिक्षा प्रणाली अरू क्षेत्रजस्तै परनिर्भर छ । विदेशीले गर्ने सहयोगबाट चलिरहेको छ । हामी सधैं परनिर्भिर भएरमात्र रहनुपर्ने हो त ? के हामी स्वनिर्भर रहेर आफ्नो देशको शिक्षा प्रणाली सञ्चालन गर्न सक्दैनौं ? उहाँ यसमा पनि सकारात्मक हुनुहुन्छ । ‘सकिन्छ, नीतिगत तहका घैंटामा घाम लाग्नुपर्छ, शिक्षा मात्रको नभै आवश्यक धेरै कुरामा स्वावलम्बी कदम चाल्न सकिन्छ । अशल नेतृत्व र दृढशक्तिको खाँचोमात्रै हो’ उहाँ भन्नुहुन्छ । उहाँ साहित्यकार, त्यसैले साहित्य रचना साहित्यकारको प्रमुख कार्य हुने नै भयो ।

उहाँ अब लेखपढ गर्ने, हासिल ज्ञान र सीपको संप्रसार गर्दै जाने, गीतसंगीतमा रमाउने कार्यलाई प्राथमिकता दिएको छु भन्नुहुन्छ । राजनीतिप्रति उहाँको धारणा अलिक भनेजस्तो छैन । विद्यमान सामाजिक बेथिति र यसको पृष्ठपोषण सोझो वा घुमाउरो गरी राजनीतिले गरिरहेको बुझ्नुभएका उहाँ यसप्रति संलग्नताको रुचि राख्नुहुन्न । राजनीति फोहोरी खेल हो भन्ने मान्यता निकै अगाडिदेखिकै हो र हाल पात्र दिनानुदिन फेरिने गरे पनि प्रवृत्ति हुनुपर्ने गरी फेरिएको अवस्था नहुनु दुःखदायी छ । अझ वर्तमानमा केही वर्षयता त नेपालको राजनीतिले पूरै फोहोरी खेलको पर्याय बनेर देखाइरहेको छ ।

यस्तो अवस्था रहुन्जेल आपूm चाहिँ राजनीतिमा संलग्न हुने उहाँको चाहना नरहेको बुझिन्छ । स्वतन्त्र रूपमा राष्ट्रसेवामा रहने उहाँको सोच छ । उहाँ विभिन्न शैक्षिक तथा साहित्यिक संघसंस्थाहरूमा संलग्न हुनुहुन्छ ।

नेपाल सेवा केन्द्र सम्मान, पशुपति सम्मान, प्रोग्रेसिभ शिक्षक सेवा जस्ता सम्मान पाउनुभएको छ उहाँले । साहित्यतर्फ हालका दिनहरूमा पुरस्कार र मानसम्मानको महत्व पनि घटिरहेको जस्तो देखिन्छ । यससम्बन्धी नेपालको धारणा जान्न चाहँदा उहाँ यस्तै धारणा राख्नुहुन्छ र भन्नुहुन्छ, ‘यसमा मिलेमतो र आपसी स्वार्थ रहेको हुँदा यस्तो भएको हो ।’ स्तरीय अनि उपयोगी कर्म गर्दै रहे पुरस्कार तथा सम्मानले पछ्याउने उहाँको धारणा छ । आपसी चलखेलको सीमा हुने र चाटुकारहरू सकिएका बेला योग्यता अँगाल्नुपर्ने अवस्था आउन्न भन्न नसकिने हुनाले सम्यक कार्यमा लागिरहनुको विकल्प हुँदैन । कतिपय निर्णय न्यायसंगत छ भनेर अर्धपुष्टि गर्न पनि कर्मजीवीहरूलाई पुरस्कार दिइने गरेको सत्य छ ।

सञ्चार पहुँचका नक्कली स्रष्टा खडा गरी जथाभावी प्रचारातंक उत्तिकै हावी छ र निश्छल मनका सर्जकहरू सावधान रहन जरुरी पनि । पुरस्कार व्यापारीका आफ्नै कथा–व्यथा होलान् भन्न सकिन्छ । जेजस्तो भए पनि पगरी गुथ्नेले पगरीको भार थाम्न सकोस् भन्ने नेपालको विचारले धेरै बेमेलका कुरा संकेत गर्छन् । तथापि, अरूका पछि बेबुझ लाग्नुको सट्टा आफू सकारात्मक र सिर्जनशील रही आफैंमा विश्वास राखेर भगीरथसरह कर्मलीन हुनुपर्छ । सुकर्म बढे कुकर्म ओझेल पर्दै जाने उहाँको तर्क छ ।

उहाँ पढ्ने र बुझ्ने भाषा नेपालीलाई ठान्नुहुन्छ र उहाँको पढाउने भाषा चाहिँ अंग्रेजी हो भने उहाँ आपूmले बुझ्न चाहेको भाषा चाहिँ संस्कृत भाषा हो भन्नुहुन्छ । वास्तवमा नेपाली भाषामा विज्ञता हासिल गर्ने हो भने त्यसको आधार भाषा वा माउ भाषा संस्कृतको पनि ज्ञान हासिल गर्नु आवश्यक र अपरिहार्य छ । कति मानिसहरूले नबुझेर संस्कृतप्रति बक्रधारणा बनाउँदा त्यस भाषाको ज्ञान हासिल गर्नबाट वञ्चित बन्नुपरेको र ढल्किँदो बयमा पुगेपछि पश्चाताप गर्नुपरेको बताउने गरेका छन् भन्ने नेपाललाई लाग्छ ।

नेपालको संस्कृत बुझ्न चाहेको भाषा हो भन्ने भनाइबाट उहाँ जिज्ञासु मानिस हुनुहुन्छ भन्ने बुझिन्छ । हाल पश्चिमाहरूले पनि आफ्ना कतिपय विश्वविद्यालयहरूमा संस्कृतको अध्ययनलाई अनिवार्य बनाएका छन् । यसबाट यस भाषाको महत्व बुझ्न सकिन्छ । संस्कृत अरू ज्ञानको सैद्धान्तिक रूपमा आधार ज्ञान हो । यही ज्ञानबाट अरू प्रायोगिक ज्ञानहरू निःसृत छन् । यही चेतनाबाट अभिप्रेरित भएर आफू अंग्रेजीको अध्यापक भएर पनि नेपाल संस्कृतको महत्व दर्शाउँदै रहनुहुन्छ ।

उहाँ पढ्ने र बुझ्ने भाषा नेपालीलाई ठान्नुहुन्छ र उहाँको पढाउने भाषा चाहिँ अंग्रेजी हो भने उहाँ आपूmले बुझ्न चाहेको भाषा चाहिँ संस्कृत हो भन्नुहुन्छ । वास्तवमा नेपाली भाषामा विज्ञता हासिल गर्ने हो भने त्यसको आधार भाषा संस्कृतको पनि ज्ञान हासिल गर्नु आवश्यक छ ।

वर्तमान दिनहरूमा सैद्धान्तिक शिक्षाको उपादेयता कम हुँदै गएको हो कि जस्तो देखिएको छ । प्रविधिक ज्ञानको माग र महत्व बढ्दै गइरहेको छ । उहाँ पनि यसको व्यापक आवश्यकता ठान्नुहुन्छ । सम्बन्धित पक्षले प्राविधिक शिक्षाको प्रवद्र्धनका लागि तत्काल ध्यान दिनुपर्न उहाँको सुझाब छ । सरकारले आवश्यकताबमोजिम प्राविधिक शिक्षाको व्यवस्था गर्न नसकिरहेको कारण चाहिँ उहाँ राजनीतिक स्वार्थ हो भन्नुहुन्छ । यसमा राजनीतिक स्वार्थ र परनिर्भरता दोषी छन् भन्ने उहाँलाई लाग्छ । वर्तमान समयमा प्रविधिमुखी दुनियाँको कारण र रोजगारीको खाँचो टार्ने स्वरूपको शिक्षा भएकाले यस प्रकारको शिक्षातर्फ आकर्षण बढ्दै गएको उहाँ ठान्नुहुन्छ ।

वर्तमान शिक्षा प्रणाली विकासे प्रणाली हो । यो अनुदानमुखी र निर्देशनात्मक पनि छ । उचित व्यवस्थापन जरुरी छ । हाम्रो पौर्वत्य गुरुकुलीय शिक्षा प्रणाली आफ्नै मौलिक खालको थियो । ज्ञान पक्षको सबलता यसमै थियो । यसमा व्यावसायिकता पनि थिएन तर जब पाश्चात्य शिक्षा प्रणालीबाट हामी अनुबन्धित भयौं अनि हाम्रो मौलिकता घट्दै गयो । यसक्रममा, हाम्रो परम्परागत शिक्षा प्रणालीमै स्तरीयता थियो भन्ने उहाँलाई लागेको छ । समयानुसार परिमार्जन र सही अवलम्बनमा हाम्रो दृढता आवश्यक भने रहेको उहाँको धारणा छ ।
मानिस हो जो अनुभवले खारिँदै जान्छ । त्यसमा पनि जीवनको लामो यात्रा गरिसकेपछि केही न केही अविष्मरणीय घटना सँगालिन पुग्छन् । उहाँमा पनि त्यस्ता केही क्षण छन् कि ? कैयौं छन् भन्नुहुन्छ उहाँ । तीमध्ये चकलेट पाउने आसमा भोट हालेको सम्झिनुहुन्छ र अहिले त्यो खिस्रिक्क लाग्छ रे उहाँलाई । पछाडि फर्किएर हेर्दा उहाँ निकै अगाडि आइपुगेको र धेरै केही नगरेको भए पनि जे गरियो त्यही निकै गरियो अनि यसैगरी जे छ चलिरहेको छ अझै जीवनमा आशावादी छु, त्यसैले बाँकी ठीकै चल्नेछ भन्नुहुन्छ ।

उहाँ संस्कृतको अध्येता, यो प्रसंगमाथि आइसकेको छ । उहाँले अंग्रेजी पढ्नका लागि संस्कृतको पढाइ बीचैमा छोड्नुभयो । यस सन्दर्भलाई उहाँ पश्चाताप गर्नुपर्ने एउटा स्मृतिका रूपमा हेर्नुहुन्छ । नत्र यसबाहेक उहाँका जीवनमा पश्चाताप गर्नुपर्ने कुनै सन्दर्भ छैनन् । वर्तमान पुस्ता अलिक उद्दण्ड बन्दै गएको छ । एकातिर विद्यालयहरूमा शारीरिक दण्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय कारणले नै निषेधित बन्दै गएको छ भने अर्कातिर अध्यापन त गर्नै परेको छ ।

यसलाई हेर्ने दृष्टिकोणमा पनि आमधारणाभन्दा अलिक पृथक धारणा छ उहाँको । उहाँ भन्नुहुन्छ, ‘एक दुईवटा केही सन्दर्भ वा घटना कहीँ कतै भए होलान् त्यही कारणले मात्र सबैलाई मुछ्नुहुन्न । फूल-काँडा, दिन-रात, घाम-छायाँ यस्तै हो, समस्याको सम्भवप्राय सम्बोधन गर्दै जानुपर्छ ।’ जथाभावी विकसित प्रविधिले प्रायशः मानिसलाई यन्त्रमुखी बनाएको, परनिर्भरता थपेको, सिर्जनशीलता घटाएको कारणले मानवीय सम्वेदना ओझेल पर्दै गएको छ । विकासको नाममा मुलुक कता गैरहेको छ वा कता लगिँदैछ भन्ने वास्तविकता मनन् गर्न ढिला गर्नुहुन्न ।

पश्चिमी शिक्षाबाट हामी प्रभावित भयौं । सभ्यताका संरक्षण र विनासको कारण वा माध्यम शिक्षा नै बन्ने गरेको छ । कुनै देशको मौलिकता समाप्त पार्नुछ भने शिक्षालाई ध्वस्त पारिदिनुपर्छ भन्ने त भनाइ नै छ । हाम्रो शिक्षामा हाम्रो मौलिकता बाँकी नरहेपछि हाम्रा संस्कार, संस्कृति, भेषभूषा, धर्म, परम्परा, भाषा सबै क्षेत्र तहसनहस बन्नपुगेका छन् । यसप्रति उहाँको प्रतिक्रिया के छ त ? ‘जबरजस्ती गर्नेहरूसँग के लाग्छ र ? तैपनि हामी अघि बढ्नुको विकल्प छैन’, उहाँ भन्नुहुन्छ । आवश्यक चनाखो रहन जरुरी छ ।

हाम्रो अन्तरंगको मैजारोमा वर्तमान साहित्यप्रति प्रतिक्रिया दिँदै उहाँ भन्नुहुन्छ, ‘नेपाली साहित्यमा स्तरीयता कायम राख्न जरुरी छ । मुस्कान, खल्ती र प्रभावको साहित्यले सामाजिक सञ्जाल ओगट्ने काम मात्रै गर्ने हो । ‘साइबर डम्पिङको खासै काम हुँदैन क्यार !’ साहित्यले ज्ञान, सिप, प्रेरणा, चेतना र मानवता बोक्दै रहनुपर्छ र प्रकृतिपोषक हुनुपर्छ । अग्रजहरूमा श्रद्धार्पण गर्दै र समकक्षीमा जीवनऊर्जाको सदुपयोग होस् भन्दै आफ्ना अनुज पुस्तालाई उहाँ जता जे गरियोस् देशहित र संस्कारगत असलपन नबिर्सियोस् भन्ने सल्लाह दिनुहुन्छ । साहित्यकार नारायण नेपालका जीवनका सिर्जनात्मकता तथा बुझाइ अनि गराइका बाटाहरू अझै फराकिला बन्दै जाऊन्, हार्दिक शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *