स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण

गीता अधिकारी
गीता अधिकारी
Read Time = 10 mins

काठमाडौं । स्रष्टा खेमनाथ दाहालको उपन्यास कृति ‘अहोरात्र’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार एक विशेष समारोहबीच मिलाप पब्लिकेशनको आयोजनामा दाहालको पछिल्लो कृति अहोरात्र’ लोकार्पण गरिएको हो ।

समारोहका प्रमुख अतिथि लेखक, इतिहासकार एवं पूर्वराजदूत निरन्जनमान सिंह बस्न्यात, विशिष्ट अतिथि साहित्यकार प्राडा खेम कोइराला बन्धु, वरिष्ठ पत्रकार एवं साहित्यकार प्रा.पुरुषोत्तम दाहाल, साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अनेसासका पूर्वअध्यक्ष राधेश्याम लेकाली, साहित्यकार एवं स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, अहोरात्रका लेखक स्रष्टा खेमनाथ दाहाल, स्रष्टा दाहालकी धर्मपत्नी उषा दाहाल, कृतिका सम्पादक रमेश दाहाल, मिलापका प्रधान सम्पादक कृष्ण भुसाललगायतले कृतिको लोकार्पण गर्नुभएको थियो ।

नवराज सुवेदी मूनले सहजीकरण गर्नुभएको कार्यक्रममा सम्पादक रमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कृष्ण भुसालको सभापत्वि रहेको थियो । कार्यक्रममा संगीतकार एवं साहित्यकार सन्तोष श्रेष्ठले स्रष्टा दाहालको कृति अमेरिकी बसाईमा आएको यथार्थपरक उपन्यास रहेको बताउनुभयो । उहाँले यो कृतिले हिन्दू र मुस्लिम धर्मका बारेमा चर्चा गरेको बताउँदै बौद्ध धर्मका विषयमा पनि कृतिमा विशेष चर्चा गरिको जिकिर गर्नुभयो । समालोचक एवं साहित्यकार डा.शान्तिमाया गिरीले यस उपन्यासमार्फत पूर्वीय धर्म-दर्शनभित्रको ज्ञानलाई प्रवाहित गर्न स्रष्टा दाहाल सफल भएको धारणा राख्नुभयो ।

त्यस्तै, साहित्यक पत्रकार संघका अध्यक्ष लेकालीले दाहालको कृतिको चर्चा गर्दै उपन्यास अमेरिकी समाजको यर्थाथ परक दस्तावेज भएको टिप्पणी गर्नुभयो । उहाँले त्यहाँ रहेका नेपालीको जीवन चित्रलाई यस कृतिमार्फत दाहालले उजागर गरेको भनाइ राख्नुभयो ।

समारोहमा स्रष्टा समाजका अध्यक्ष श्रीओम रोदनले दाहालका यसअघिका कृति जस्तै यो उपन्यास पनि विशेष रहेको चर्चा गर्नुभयो । त्यस्तै, बालसाहित्य समाजका अध्यक्ष एवं वरिष्ठ समालोचक प्रमोद प्रधानले दाहालको यसअघिको महाकाव्य ‘स्वेतपत्र’का बारे र उहाँका अन्य कृतिका बारेमा चर्चा गर्दै उपन्यास ‘अहोरात्र’ पनि विशेष रहेको जिकिर गर्नुभयो ।

यस्तै, साहित्यकार डा.रामप्रसाद दाहालले उपन्यासले बौद्धिक खुराकले भरिपूर्ण रहेको बताउनुभयो । यसैगरी विशिष्ट कलकारका एवं साहित्यकार लय संग्रौलाले दाहालको उपन्यासले आफूलाई अमेरिकामा नेपालीको बसाईका बारेमा धेरै कुरा जानकारी गराएको बताउँदै कृति असाधारण रहेको दाबी गर्नुभयो ।

यसैगरी प्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले स्रष्टा दाहालको यसअघिको महाकाव्य ‘स्वेतपत्र’का बारेमा चर्चा गर्दै पाठकले दाहालको त्यही स्तरको कृति चाहेको बताउनुभयो । यस्तै, साहित्यकार, लेखक, चिकित्सक प्राडा अर्जुनदेव भट्टले स्रष्टा दाहालसँगको आफ्नो सम्बन्ध एक चिकित्सक र सेवाग्राहीको मात्र नभएर साहित्यिक आदान प्रदानका रूपमा पनि रहिरहेको बताउँदै नयाँ कृतिका लागि उहाँलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

ADVERTISEMENT

यसैगरी, साहित्यकार एवं समालोचक डा.यज्ञश्वर निरौलाले कृतिमा स्रष्टा दाहालले धर्म दर्शनका वारेमा विस्तृत कुरा समेटेको बताउँदै कृति पठनीय र संग्रहणीय रहेको बताउनुभयो । यस्तै, साहित्यकार एवं समालोचक ज्ञानु अधिकारीले स्रष्टा दाहालका यसअघिका कृति जस्तै उपन्यास ‘अहोरात्र’ बौद्धिक कृतिका रूपमा पाठकमाझ आएको चर्चा गर्नुभयो । त्यस्तै साहित्यकार एवं प्राडा शैलेन्द्रु प्रकाश नेपालले स्रष्टा दाहाललाई नयाँ कृतिका लागि बधाई तथा शुभकामना दिँदै उपन्यास ‘अहोरात्र’मा स्रष्टा दाहालले अमेरिकी नेपाली जनजीवन र धमदर्शनका कुरा समेटेको बताउनुभयो ।

त्यसैगरी साहित्यकार प्राध्यापक डा.खेम दाहालले कृतिको चर्चा गर्दै कृति पढ्दै गर्दा अमेरिकी बसाईमा भोगिएका दुःख पीडालाई स्रष्टा दाहालले कलात्मक र बौद्धिक रूपमा प्रस्तुत गर्नुका साथै धर्म दर्शनको चर्चा गरेको उल्लेख गर्नुभयो । यस्तै, वरिष्ठ पत्रकार एवं साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले स्रष्टा दाहालसँग आफ्नो सानैदेखिको सम्बन्धका बारेमा चर्चा गर्दै उपन्यास ‘अहोरात्र’ विशेष भएको धारणा राख्नुभयो । उहाँले अमेरिकी जीवनको चर्चा गर्दै त्यहाँ आफू जाँदाका अनुभव र अनुभूतिका बारेमा पनि जानकारी गराउनुभयो । स्रष्टा दाहालको कृति एउटा राम्रो बौद्धिक खुराक रहेको उहाँको टिप्पणी थियो ।

त्यस्तै साहित्यकार प्राडा खेम कोइराला बन्धुले स्रष्टा दाहालका यसअघिका कृतिको तारिफ गर्दै नयाँ उपन्यासका लागि उहाँलाई बधाई तथा शुभकामना दिनुभयो । प्राडा कोइरालाले कृतिको प्रस्तुतीकरणमा केही कमीकमजोरी रहेको जिकिर गर्दै सम्पादन पक्षलाई राम्रो बनाएको भए कृति अझ उत्कृष्ट हुने धारणा राख्नुभयो । उहाँले स्रष्टा दाहालका यसअघिका कृति जस्तै नयाँ कृतिमा पनि पाठकले त्यस्तै रस्वादनको अपेक्षा राख्ने बताउनुभयो ।

लेखकीय मन्तव्य राख्दै स्रष्टा दाहालले आफ्नो अमेरिकी बसाई विभिन्न परिवेस, अनुभूति र अनुभवलाई यस कृतिमार्फत पाठकमाझ पस्किएको बताउनुभयो । ‘अमेरिकाको एक कुनामा बसेर सामान्य छलफलको सिलसिलामा मेरो मनमस्तिष्कमा विजारोपण भएको सानो झिल्को पुञ्ज बनेर प्रकट भएको तानाको एक अंश अहोरात्र हो’, स्रष्टा दाहालले भन्नुभयो ।

यसैगरी प्रमुख अतिथि लेखक, इतिहासकार, पूर्वराजदूत निरञ्जनमानसिंह बस्न्यातले आफू पनि देश बाहिरका विभिन्न स्थानमा रहेदा गरेका अनुभूति यस कृति पढ्दा ताजा भएको स्मरण गर्नुभयो । उहाँले यस कृतिमार्फत स्रष्टा दाहालले हाम्रो धर्म संस्कृतिका साथै देश बाहिरको जनजीवन कलात्मक ढंगले प्रस्तुत गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा साहित्यकार हरिभक्त सिग्देल, साहित्यकार एवं पत्रकार विनोद दाहाल, राजेश खनाल, कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, वरिष्ठ कलाकार उत्तम केसी, साहित्यकार इञ्जिनियर लेखनाथ पोख्रेल, साहित्यकार गणेश सुवेदी, रम्भा गजुरेल, निरञ्जन वस्न्यात, कृष्ण बाउसे, जीवन पोख्रेललगायतका विशिष्ट व्यक्तित्वहरू एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । तस्वीर : सुरेन्द्र थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *