७२ वर्ष पछि अन्नपूर्ण हिमालबाट निकालियो तीन हजार ६०० किलो फोहोर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार ६०० किलोग्राम फोहोर संकलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहोर संकलन गरिएको हो।

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ। २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मंगलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सेनाका १० र पिक प्रमोसन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहोर संकलन गरेका थिए ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गर्नुभएको थियो । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहोर संकलन गरेको हो। एक हजार २०० किलोग्राम कुहिने र दुई हजार ४०० नकुहिने फोहोर संकलन गरिएको टोलीले जनाएको छ। कुहिने फोहोर आधार शिविरदेखि तीन घण्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ।

नकुहिने फोहोर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको छ । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहोर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताउनुभयो । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार ४०० किलोग्राम फोहोर काठमाडौं लगिएको हो ।

ADVERTISEMENT

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । ‘आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहोर बढ्दै गएको थियो’, उहाँले भन्नुभयो ‘सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो।’

हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई १५ लाख रुपैयाँ सहयोग गरेको छ। सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ। गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअघि नै सरसफाइ गरिएको थियो।

हिमालमा हुने फोहोरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश गएकाले सेनाले सफाइ अभियान चलाएको हो। सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंघा हिमालबाट कुहिने सात हजार १५७ किलो फोहोर संकलन गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?