भारत र पाकिस्तानसँग खेल्नुको अर्थ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 7 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीले मंगलबार एसिसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै एसिया कपमा स्थान बनायो । जहाँ पहिलोपल्ट नेपालले भारत र पाकिस्तानसँग क्रिकेट खेल्नेछ । सिनियर टोलीमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका शक्तिशाली देशसँग खेल्न लागेको नेपालले पहिलोपल्ट हो ।

त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको फाइनलमा युएईलाई सात विकेटले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो । उपाधि उचालेसँगै नेपाल एसिया कपको समूह ‘ए’ मा भारत र पाकिस्तानसँगै परेको छ । ओडिआई वरीयतामा भारत तेस्रो र पाकिस्तान पाँचौँ स्थानमा छ । नेपाल १४ औँ स्थानमा छ ।

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेपछि नेपाललाई विश्वले हेर्ने, चिन्ने र विदेशी फ्रेन्चाइज लिगमा खेलाडीलाई अवसरको बाटो खुल्ने बताउनुभयो ।

‘एसिया कपमा पुग्दा एकदमै खुसी लागेको छ । प्रतियोगिताअघि हामीले जे सोचेका थियौँ त्यसैअनुसार नतिजा पनि आयो । हाम्रो जुन प्रक्रिया थियो त्यसलाई पछ्याएर र विश्वास गरेर सबैजनाले काम गरेर खुसी लागेको छ,’ रोहितले खेलपछि प्रतिक्रिया दिनुभयो, ‘भारत र पाकिस्तानसँग खेल्नु भनेको हाम्रा लागि एकदमै ठूलो अवसर हो । त्यो ठाउँमा गएर भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नु एकदमै गर्वको कुरा हो । कप्तान र टिमको हिसाबले एकदमै खुसी लागेको छ ।’

प्रशिक्षक मोन्टी देसाईका कारण यो सम्भव भएको रोहित बताउनुहुन्छ । देसाई प्रशिक्षक भएर आएपछि नेपालले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । मोन्टी देसाई नेपालमा मुख्य प्रशिक्षक बनेर आएपछि नेपालले १७ मध्ये १६ खेल जितेको छ । रोहितले यो जितको श्रेय मोन्टी देसाईलाई जाने बताउनुभयो ।

‘हामीले धेरै जस्तो टु डे क्रिकेट खेलेका छैनौँ । यो टु डे शैली किसिमको थियो । मोन्टी सरले विचारलाई जति सक्यो कम गरेर अर्को खेलमा जाने बताउनुभएको थियो । धेरै सोच्न थाल्यो भने राती नै धेरै बिग्रिन सक्छ । सरले त्यो भनेपछि सबैजना आनन्दमा थिए,’ उहाँले भन्नुभयो, ‘यो एकदमै राम्रो अवसर हो । राम्रो टिमसँग खेल्यो भने सबैले हेर्छन् । भारत र पाकिस्तानसँग खेल खेलेपछि पूरै विश्वले हेर्छ । त्यहाँ गएर प्रदर्शन गर्‍यो भने सबैले चिन्छ । त्यहाँ गएर राम्रो खेलेपछि व्यक्तिगतरूपमा खेलाडीहरूले पनि फ्रेन्चाइज लिगहरूमा मौका पाउँछन् ।’

ADVERTISEMENT

भारत र पाकिस्तानसँग खेल्ने भएपछि अब विश्वको ध्यान पनि नेपाली क्रिकेटमा हुने रोहितले बताउनुभयो । नेपाली खेलाडीलाई विश्वका विभिन्न फ्रेन्चाइजी क्रिकेटमा बाटो खुल्ने उहाँको विश्वास छ ।

‘अब नेपाललाई सबैले चिन्छ । नेपालीले पनि क्रिकेट खेल्छन् । त्यो स्तरमा नखेलेको आठ वर्ष नै भएको थियो । यो भर्खर सुरुवात भएको छ । आगामी दिनमा अझै राम्रो हुन्छ,’ उहाँले भन्नुभयो, ‘२०१४ को विश्व कपबाट हामी सबै प्रभावित भएका थियौँ । अबको एसिया कपले पनि धेरैलाई प्रभावित पार्छ । अब त्यही हो अब त्यहाँ गएर राम्रो क्रिकेट खेल्यौँ भने धेरैले पछ्याउँछन् ।’

यस्तै, एसिसी प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउँदै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका सन्दीप लामिछानेले एसिया कपमा पुग्नु निकै ठूलो उपलब्धि भएको बताउनुभयो ।

‘एसिया कपमा पुगेपछि एकदमै राम्रो र सबैजना खुसी छौँ । अन्तिम चार-पाँच महिनाको मिहिनेत हो । तीन-चार महिनादेखि टिम प्रदर्शन पनि हो । यो मोमेन्टहरूमा फरक-फरक प्रदर्शन थियो । चाहे त्यो जिम्बाबेमा हुने विश्वकप छनोटमा होस् वा एसिया कपमा पुग्दा । यो टिम प्रयास हो,’ सन्दीपले भन्नुभयो, ‘एसिया कपले हाम्रा लागि धेरै महत्व राख्छ । किनभने हामीले अहिलेसम्म यी स्तरका शीर्ष टोलीसँग खेल्न पाएका छैनौँ । भारत र पाकिस्तान हाम्रो समूहमा छन् । हामी सबैजनाका लागि अवसर हो । एउटा स्तर पार गरेर अर्को स्तरमा पुगेका छौँ । जहाँ पुगेको हामी सधैँभरिलाई हेर्न चाहन्छौँ । शीर्ष टोलीसँग कसरी खेल्ने एउटा राम्रो सिकाइ हुनेछ ।’

सन्दीपले एसिया कपमा नेपालको सहभागितामात्रै नभएर नेपालले प्रतिस्पर्धात्मक खेल पस्किने विश्वास व्यक्त गर्नुभयो ।
‘हामी हाम्रो क्षमतामा खेल्यौँ भने एकदमै राम्रो क्रिकेट खेलेर अगाडि बढ्न सक्छौँ । जित वा हार हाम्रो हातमा हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामी हाम्रो प्रक्रिया र प्यासनमा काम गर्ने हो । जित वा हारभन्दा पनि एउटा ठूलो गौरवको कुरा हो । मैले जसरी बुझेको छु अरू खेलाडीहरूले पनि त्यसैअनुसार बुझ्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *